निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

सरकारलाई ‘सीआइपी’ घोषणा गर्न महासङ्घले गर्‍यो आग्रह

सरकारलाई ‘सीआइपी’ घोषणा गर्न महासङ्घले गर्‍यो आग्रह

118
SHARES

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकासको लागि सरकारले आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनका लागि ठोस कदम चाल्नुपर्ने बताएका छन्।

नेपाल निर्यात परिषद्को २७ औँ वार्षिक साधारण सभा तथा नवौँ निर्यात दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले देशको आर्थिक विकासका लागि यी दुई विषयमा गम्भीर भएर लाग्नु पर्ने धारणा राखे।

“सरकारले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने नीति अनुरूप काम गर्नु पर्छ। आयात प्रतिस्थापनका लागि घरेलु उद्योग प्रतिष्ठानलाई कसरी बलियो बनाउन सकिन्छ त्यसतर्फ ध्यान दिनु पर्‍यो। निर्यातका लागि पनि सोही अनुरूप नीति बनाउन र कार्यान्वयन गर्नु पर्छ। यसो गर्न सकेमा सरकार र निजी क्षेत्र दुवैले चाहेको उद्देश्य पूर्ति हुन्छ,” उनले भने।

अध्यक्ष ढकालले निजी क्षेत्रका व्यवसायीलाई प्रोत्साहन गर्न सरकारले प्रतिबद्धता व्यक्त गरे अनुसार समयमा निर्यातमा अनुदान दिन पनि आग्रह गरे।

उनले व्यवसायीलाई प्रदान गरिने सम्मानबाट समेत प्रोत्साहन गर्न सकिने धारणा राखे। यसका लागि सरकारले सीआइपी दिने घोषणा गर्न र व्यवसायीलाई दिने मर्यादामा ध्यान दिन समेत उनले अनुरोध गरे।

यस्तै अध्यक्ष ढकालले निर्यात प्रवर्द्धन र विदेशी लगानीका लागि विदेश स्थित नेपाली नियोगहरूलाई पनि नेपालको निर्यात व्यापारको लागि देश अनुरूप तार्गेट दिन र सो अनुरूपको मूल्याङ्कन गर्न आग्रह गरे।

अध्यक्ष ढकालले नेपाल सन् २०२६ मा अल्पविकसित मुलुकको अवस्थाबाट विकासोन्मुखमा स्तरोन्नति हुने हुँदा या त नेपाल त्यसको लागि तयार रहनु पर्ने या निश्चित समय थप गर्नका लागि सरकारले पहल गर्नु पर्ने धारणा राखे।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निजी क्षेत्रले उठाएको चासो प्रति सरकार गम्भीर रहेको उल्लेख गरे। उनले निजी क्षेत्रलाई समेत आफ्नो प्रतिस्पर्धात्मक क्षमता बढाउन आग्रह गरे।

समाचार शेयर गर्नुहोस्
118
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.