अर्थतन्त्रमा सुधारको सङ्केत, निर्माण क्षेत्र भने ऋणात्मक

अर्थतन्त्रमा सुधारको सङ्केत, निर्माण क्षेत्र भने ऋणात्मक

काठमाडौं : चालू आर्थिक वर्षको प्रथम त्रैमासमा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.४ प्रतिशतले बढ्ने प्रारम्भिक अनुमान गरिएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले मङ्गलवार पहिलो त्रैमासिक विवरण सार्वजनिक गर्दै अर्थतन्त्रको आकार ३.४ प्रतिशतले विस्तार हुने अनुमान गरेको हो।

यो त्रैमासिकमा अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा कृषि उत्पादनमा भएको वृद्धि, विद्युत् उत्पादन तथा वितरणमा भएको वृद्धि, पर्यटन आगमनमा भएको वृद्धिसँगै होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिमा भएको वृद्धि प्रमुख कारक रहेको तथ्याङ्क कार्यालयले जनाएको छ।

यसका अतिरिक्त यातायात क्षेत्रमा भएको वृद्धि, स्वास्थ्य सेवामा भएको वृद्धि, सार्वजनिक प्रशासनका क्षेत्रमा भएको वृद्धिले समग्र अर्थतन्त्र सकारात्मक वृद्धि तर्फ उन्मुख रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक गणेश प्रसाद आचार्यले जानकारी दिए।

बाढी तथा पहिरोको नकारात्मक प्रभाव र निर्माण क्षेत्रको वृद्धि धनात्मक हुन नसकेका कारणले अर्थतन्त्रको वृद्धि सामान्य रहन गएको अनुमान गरिएको छ।

२०८०/८१ को चौथो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा ०.२ प्रतिशतले मात्र वृद्धि हुने प्रारम्भिक अनुमान छ। कुल १८ ओटा औद्योगिक क्षेत्रमध्ये छ ओटाको वृद्धिदर ऋणात्मक छ। सबैभन्दा धेरै ऋणात्मक निर्माण क्षेत्र रहेको निर्देशक आचार्यले जानकारी दिए।

प्रथम त्रैमासिक अवधिबीच क्षेत्रगत तुलना गर्दा अर्थतन्त्रका प्रस्तुत गरिएका कुल १८ ओटा औद्योगिक वर्गीकरणमध्ये १७ ओटा औद्योगिक क्षेत्रहरूको कुल मूल्य अभिवृद्धिवृद्धिदर धनात्मक रहेको छ।

जसमध्ये विद्युत् तथा ग्याँससँग सम्बन्धित क्रियाकलापको सबैभन्दा धेरै वृद्धिदर २१.४ प्रतिशत रहेको छ भने यातायात तथा गोदाम क्षेत्र ६.७ प्रतिशत वृद्धिदर सहित दोस्रो धेरै वृद्धि हुने औद्योगिक क्षेत्र रहेको छ। यी औद्योगिक क्षेत्रलाई पछ्याउँदै आवास तथा भोजन सेवा क्षेत्रले ६.३ प्रतिशत वृद्धिदर कायम गरेको छ।

त्यसैगरी,निक्षेप तथा कर्जामा भएको वृद्धिसँगै वित्तीय तथा बिमा क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर ५.७ प्रतिशत हुने अनुमान गरिएको छ।प्रशासनिक सहयोगी सेवा क्षेत्रको वृद्धिदर ५.४ प्रतिशत र पेसागत वैज्ञानिक तथा प्राविधिक सेवाको वृद्धिदर ५.१ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ।

अर्कोतर्फ,चालु आ.व. २०८१/८२ को प्रथम त्रैमासिकमा निर्माणजन्य वस्तुको आयातमा आएको गिरावटका कारण निर्माण क्षेत्र झिनो अङ्कले सङ्कुचनमा रहेको प्रारम्भिक अनुमान गरिएको छ।

अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा ओगटेको कृषि, वन तथा मत्स्य क्षेत्रको मुल्य अभिवृद्धि वृद्धिदर तीन प्रतिशत हुने प्रारम्भिक अनुमान छ। धान लगायतका वर्षे बालीको उत्पादनमा वृद्धि हुनुका साथै तरकारी तथा नगदे बालीहरू र पशुपक्षीजन्य उत्पादनमा भएको वृद्धिले यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव परेको तथ्याङ्क कार्यालयले जनाएको छ।

समयमा मलको उपलब्धता, उन्नत बीउको प्रयोग, तथा यथेष्ट मनसुनी वर्षा भएका कारण कृषिजन्य उत्पादनमा वृद्धि भएको हो। यद्यपि, वर्षायामको बाढी र पहिरोले पुर्‍याएको क्षतिका कारणले कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धिमा उल्लेख्य वृद्धि हुन सकेन।

अर्थतन्त्रको दोस्रो ठुलो क्षेत्र थोक तथा खुद्रा व्यापार क्षेत्रको चालु आ.व.२०८१/८२को प्रथम त्रैमासिकमा ०.५ प्रतिशतले मात्र वृद्धि हुने प्रारम्भिक अनुमान छ।

कृषि तथा व्यापारजन्य वस्तुहरूको स्वदेशी उत्पादनमा भएको सामान्य वृद्धि तथा प्रमुख व्यापारजन्य वस्तुको आयातमा भएको सामान्य वृद्धिका कारणले गर्दा व्यापार क्षेत्रको वृद्धि धनात्मक दिशा उन्मुख भएको हो। त्यसैगरी, यो त्रैमासिकमा औद्योगिक वस्तु उत्पादन क्षेत्रको मूल्य अभिवृद्धिवृद्धिदर २.३ प्रतिशतले धनात्मक रहन गएको छ।

गत आ.व.को प्रथम त्रैमासिकको तुलनामा चालु आ.व.को प्रथम त्रैमासिकमा औद्योगिक वस्तुको उत्पादनमा क्रमिक सुधार आएका कारण यो क्षेत्रको वृद्धि सुधारोन्मुख रहन गएको प्रारम्भिक अनुमान छ। यस त्रैमासिकमा शिक्षा ०.४, स्वास्थ्य ४.१, घरजग्गा कारोबार ३.१ प्रतिशत लगायतका सेवा क्षेत्रका अन्य क्रियाकलापको वृद्धिदर सामान्य रहेको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.