बर्दिया : झिसमिसे बिहान नहुँदै अन्टिअन्टि भनेको आवाज घरको आँगनबाट सुनियो। बाबाममीसँगै सुतेकी मधुको कानमा रेखाको त्यो आवाज कानमा पर्यो। झ्यालपट्टि सुतेकी मधुले हत्तपत्त ढोका खोलिन। बाबाआमा र कक्षा ९ मा पढ्ने भाइलाई समेत पत्तो नदिई बाहिर निस्किइन।
आफन्त सहित पुगेकी रेखाले मधुलाई उज्यालो नहुँदै घरबाट भगाइन। रेखाले मधुलाई यसरी भगाएको यो पहिलो पटक भने थिएन। पछिल्लो पटकसम्म गरी उनीहरू पाँच ६ पटक ज्यान जोगाउनकै लागि भागे। ‘यो पहिलो पटक होइन,यसअघि पनि पटकपटक भागेका हौँ,’मधुले पहिचानसँग भनिन्,’हामी छुट्टिन चाहँदैनौ,घरपरिवार सँगै बस्न दिँदैनन्।’
बर्दिया बासगढी वडा नं ४ की मधु सुनार र बर्दियाकै औरही बारबर्दिया वडा नं ८ भगतपुरकी रेखा विश्वकर्माबीच भारतको बैंगलोरमा भेट भयो। बैंगलोरमै दुवैले विवाह गरेर सँगै बस्ने निधो गरे।
गत दसैँमा घर आएका उनीहरूको विवाह गर्ने चाहनामा बाधक बन्यो परिवार। भन्यो,’छोरीछोरीको पनि कहीँ विवाह हुन्छ?’ यस्तो सोच आउनुलाई रोग मान्यो र छुटाउन झारफुकसम्म गराए।
मधुका जेठाबा सुनिल वि.क.ले पनि झारफुक गराएको पुष्टि गरे। ‘बिरामी भएर यस्तो भएको होला भनेर धामी लगायौँ,झारफुक गर्यो,’उनले भने,’केही लागेन,उनीहरूको चाहना नै त्यही रहेछ,जे होस् होस्।’
बिरामी हुनु भएको थियो र? भन्ने पहिचानको प्रश्नमा मधुले भनिन्,बैंगलोरको भूत लाग्यो, मसान लाग्यो। भूतले बिगारेर यस्तो भएको सम्म भने। दुवै लेस्बियन (समलिङ्गी महिला) हुन्।
छोरीछोरीको पनि विवाह हुन्छ र? सुनिलले प्रश्न गरे। नेपालमा पहिलो पटक समलिङ्गी, तेस्रोलिंगीको विवाह दर्ता भएको सुनेका उनले प्रोत्साहन हुने काम नगर्न सुझाए। ‘मधुलाई मैले नै १२ कक्षासम्म पढाएको हुँ,अब आफूजस्तैसँग विवाह गर्छु पो भन्छे,’मधुका ठुलो बाबा सुनिलले पहिचानसँग भने,’दुई-चार थप्पा पनि लगायौँ, केही सिप लागेन।’
मधुले कक्षा १२ पास गरेकी छिन भने रेखाले कक्षा १०। मधुका बाबाआमा र दुई भाइ छन्। १८ वर्षको भाइ भारतमा काम गर्छन्। आमा सिलाई बुनाई गर्छिन्। बाबा किसानी गर्छन्। घर खर्चको जोहो गर्न भारत जान्छन्। मधुले पार्लर सिकेकी छन्।
रेखाका बाबा छैनन्। घरकी कान्छी छोरी हुन उनी। रेखाकी दिदीको भारत चण्डीगढमा विवाह भइसकेको छ। घरपरिवारले जसरी पनि छुटाउने प्रयास गरेपछि भागेर दिदीकोमा जानेसम्म सोच बनाए उनीहरूले।
झारफुक गरेर पनि निको नभएको भन्दै रेखालाई परिवारले स्वीकार गरेका छन्। तर पनि बेलाबेला छुटाउने प्रयास भने गरिरहन्छन्। तर, मधुका परिवारले भने काट्छु,मार्छु भन्नेसम्मका धम्की दिँदै आएका छन्। पछिल्लो पटक घरबाट भागेपछि भने जेठाबाकी बुहारी भाउजूले फोन गरेर ‘अब हामी छुटाउँदैनौ’ भनेकी छन्।
छुटाउन खोजेका होइनौ, घर आउनु भनेर बोलाएको यो पहिलो पटक भने होइन। पटकपटक सँगै बस्न दिन्छौँ भनेर बोलाउने र थुनेर राख्ने गर्दा मधु र रेखालाई यो पटक पनि विश्वास भने लागेको छैन। ‘यो पटक पनि आफैँ कमाऊ आफैँ खाऊ भन्नु भएको छ,’मधु र रेखाले भने,’हामी छुटिन चाहँदैनौ,उहाँहरू छुटाउन लागिरहनुहुन्छ।’
घरपरिवारको कुटपिटमा समेत परे उनीहरू। उनीहरूलाई एकै ठाउँमा बस्न नदिने पटकपटकको प्रयास असफल भएको छ। उनीहरूले भने,’हामी सँगै बस्छौ, घर धानेर बस्ने गरी कमाउँछौ। छुटाउने प्रयास नगर्नुहोस्।’
उनीहरूले घरपरिवारबाट ज्यानै मार्नेसम्मको धम्की आएपछि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको वकालत गर्दै आएको मायाको पहिचान नेपालमा सम्पर्क गरे। ‘उनीहरूको चाहना नै विवाह गरेर सँगै बस्ने छ भने छुटाउने काम नगर्न परिवारलाई आग्रह गर्यौ। मानवअधिकार हननको काम नगर्न सुझाव दियौ,’सचिव सुरेन्द्र पाण्डेले भने,’समलिङ्गी हुनु कुनै रोग होइन,उपचार गरेर निको हुने पनि होइन भनेर बुझाएका छौँ।’
रेखा दुलाहा र मधु दुलही हुन्। जन्मँदा दुवै छोरी हुन्। मधुको परिवारले उनीहरूलाई घरबाटै तानेर लैजाने, कुटपिट गर्ने, थुनेर राख्ने गरेको गुनासो आएपछि परिवारसँग कुरा गरेको सचिव पाण्डेले बताए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.