वैज्ञानिक सहकार्यका लागि छलफल

वैज्ञानिक सहकार्यका लागि छलफल

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का बीचमा देशको औद्योगिक विकासका लागि वैज्ञानिक सहकार्यका लागि छलफल भएको छ।

नास्टका तर्फबाट महासङ्घसँग सहकार्यको निमित्त विभिन्न अनुसन्धान तथा विकास, प्रविधि नवप्रवर्तनका निम्ति सञ्चालित विद्यावारिधि शोधवृत्ति र छात्रवृत्ति, अनुसन्धान अनुदानमा सहकार्य गर्ने लगायतका विषयमा महासङ्घ सचिवालयमा छलफल भएको हो।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकुलपति प्राध्यापक डा. दिलीप सुब्बा नेतृत्वको टोलीले नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई ) का अध्यक्ष चन्द्र प्रसाद ढकालसँग छलफल गरेको थियो।

सो अवसरमा नवप्रवर्तन वृत्ति, युवा वैज्ञानिकहरूलाई अनुसन्धान सहयोग, ब्रेन पुलिङ्ग, स्नातकोत्तर शोध अनुदान, वैज्ञानिक सङ्घ संस्था आर्थिक सहयोग, वैज्ञानिक यात्रा अनुदान, विद्धतवृत्ति जस्ता कार्यक्रमहरूको सञ्चालनमा औद्योगिक क्षेत्रले आर्थिक योगदान मार्फत साझेदारको भूमिका गर्न सक्ने विषयमा छलफल भएको एफएनसीसीआईले जनाएको छ।

यस्तै उद्योगको प्रायोजनमा उद्योगले इच्छा गरेको क्षेत्रमा नास्टबाट अनुसन्धान तथा विकास परियोजना सञ्चालन गर्न सकिने, अनुसन्धान तथा विकास इकोसिस्टम तथा इनोभेसन इकोसिस्टम सेन्टरको स्थापना र सञ्चालनमा साझेदारी तथा नवप्रवर्तनमा सहकार्य गर्न सकिने नास्टको टोलीको धारणा छ।

सो अवसरमा महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले नास्टले महासङ्घसँग गर्न खोजेको सहकार्य स्वागतयोग्य भएको बताउँदै यस सम्बन्धमा थप अध्ययन गरेर सहकार्य गर्न सकिने धारणा राखे। ‘निश्चय नै अनुसन्धान तथा विकास इकोसिस्टम तथा इनोभेसन इकोसिस्टम सेन्टरको स्थापना देशको समग्र विकासका लागि आवश्यक कुराहरू हुन्। यसमा सहकार्य गर्न महासङ्घ सकारात्मक नै छ। यसमा थप अध्ययन गरेर ठोस काम गर्न सकिन्छ,’उनले भने।

यस्तै (नास्ट) का उपकुलपति प्रा.डा.दिलीप सुब्बाले नास्टले दुई संस्थाबीच अनुसन्धान र विकासका क्षेत्रमा सहकार्य गर्न सके देशको औद्योगिक विकासमा सकारात्मक योगदान गर्न सकिने उल्लेख गरे।’हामीसँग वैज्ञानिकहरूको टिम छ। देश विदेशमा रहेका अन्य वैज्ञानिकहरू पनि सम्पर्कमा हुनुहुन्छ। उहाँहरू सबैको ज्ञानलाई अनुसन्धान तथा विकासमा लगाउन सकिन्छ। र यसको लागि महासङ्घ नै उपयुक्त संस्था हो भन्ने हामीलाई लागेको छ,’उनले भने।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.