काठमाडौं : नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठक चन्द्रागिरि काठमाडौँमा सम्पन्न भएको छ। दुई देशबीचको आर्थिक र व्यावसायिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले भएको बैठकमा नेपाल र भारतका प्रतिनिधिहरू सहभागी थिए।
बैठकमा नेपाल–भारतबीच जलविद्युत र नवीकरणीय ऊर्जा, सौर्य, वायु लगायतका परियोजनामा सहकार्य गर्ने सहमति भएको छ। स्वच्छ ऊर्जा प्रवर्धन, पर्यटन र कनेक्टिभिटी, सडक, रेल र हवाई सम्पर्क सुदृढ गर्दै सीमापार व्यापार सहज बनाउने सहमति दुईदेशबीच भएको छ।
व्यापार र सीमापार लगानी, कृषि र औषधीय वनस्पति, कृषि उत्पादनको कोटा हटाई उच्चबीउ तथा प्रविधि उपलब्ध गराउने सहमति पनि भएको छ। औषधीय वनस्पतिहरूमा अनुसन्धान र व्यावसायिकरणको सहकार्य, डिजिटल प्रविधि र स्टार्टअप सहयोग लगायतका विषयहरूमा आवश्यक सहजीकरण गर्ने सहमति दुई देशबीच भएको हो।
नेपाल भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठकमा दुवै देशले व्यापारमा देखिएका समस्या समाधान गर्न सहकार्य गर्ने प्रतिबद्धता समेत जनाएका छन्। बैठकमा भएका सहमतिका विषयलाई शनिवार नै नेपाल र भारतका वाणिज्य सचिवलाई हस्तान्तरण गरिएको छ।
मञ्चको बैठकपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले भारत नेपालको सबैभन्दा ठुलो व्यापार साझेदार रहेको उल्लेख गर्दै बैठकमा भएका सहमतिलाई दुवै पक्षले कार्यान्वयनमा लैजानु पर्ने बताए।
भारतका वाणिज्य सचिव सुनिल बर्थवालले बैठकमा उठेका एजेन्डा कार्यान्वयनका लागि आफ्नो पक्षबाट पहल गर्ने प्रतिबद्धता जनाए। मञ्चको अर्को बैठक भारतको नयाँदिल्लीमा आयोजना गरिने सहमति भएको छ।
मञ्चको बैठकमा सहभागीहरूलाई स्वागत गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल र भारत बीच आर्थिक क्षेत्रमा अथाह सम्भावना रहेको उल्लेख गरे। दुवै क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीतिगत सुधार तथा व्यवहारिक समाधान खोजेर अघि बढ्नु पर्ने उनले बताए।
गैर भन्सार अवरोध हटाउने, नेपाली वस्तु निर्यातमा ब्युरो अफ इन्डियन स्ट्यान्डड्र्स (बिआइएस)को प्रमाणीकरण प्रक्रियाले गर्दा देखिएको समस्या समाधानको लागि सहजीकरण गर्ने, भैरहवा र पोखरा विमानस्थलसँग भारतका शहर जोडने र नेपालका जलविद्युत तथा अन्य निमार्णजन्य विकासको लागि आवश्यक विस्फोटक पदार्थहरू सहज आपूर्ति आवश्यक भएको अध्यक्ष ढकालले बताए।
उनले मुन्द्रा (गुजरात), धामरा (ओडिशा) र जवाहरलाल नेहरु (मुम्बई) लगायतका भारतीय बन्दरगाहहरूमा नेपालको पहुँच विस्तारको विषयहरू उठान गरेका थिए।
जेबिएफ बैठकमा नेपाल र भारतका प्रतिनिधिहरूले व्यापार, लगानी, ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि र पूर्वाधार विकास लगायतका विषयहरूमा छलफल गरेका नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ।
महासङ्घका अध्यक्ष ढकालले जेबिएफ बैठकमा भएका सहमति कार्यान्वयनको लागि दुवै पक्षले पहल गर्नु पर्ने बताए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.