एजेन्सी : इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच युद्धविराम भएको छ। बन्धक रिहाइ गर्ने सहमति भएको छ।
सहमति अनुसार विगत १५ महिना देखि गाजामा जारी युद्ध तत्कालका लागि अन्त्य भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ।
अमेरिकाको बहिर्गमन जो बाइडेन प्रशासन, कतार र इजिप्टको मध्यस्थतामा कतारको दोहामा भएको युद्धविराम वार्तामा दुवै पक्षले सहमति जनाएपछि युद्ध विराम भएको हो।
अमेरिकी राष्ट्रपति जो बाइडनले सम्झौताको पुष्टि गर्दै त्यसमा पूरा र सम्पूर्ण युद्धविराम, गाजाबाट इजरेली फौज फिर्ता र हमाससँग भएका सबै बन्धकहरूको रिहा समेटिएको जनाएका छन्। दुवै पक्षले युद्धविराम प्रस्तावमा हस्ताक्षर गर्दै गाजा युद्धविराम र बन्धक रिहाइ सहमति भएको बताएको छ।
कतारको दोहामा भएको वार्तामा दुवै पक्षका अधिकारीहरूबीच एउटै भवनमा अप्रत्यक्ष वार्ता गर्दै निष्कर्षमा पुगेको हुन्। युद्धविराममा सहमति भएको ४८ देखि ७२ घण्टा भित्र लागु हुने भनिएको छ।
सम्झौता भए अनुसार हमासले पहिलो चरणमा ३४ जना इजरायली बन्धक रिहा गर्नेछ। हमाससँग अझै ९४ जना बन्धकहरू छन्। तीमध्ये ३४ जनाको मृत्यु भइसकेको हुनसक्ने ठानिएको छ।
युद्धविरामको १६ औँ दिनमा सम्झौताको दोस्रो र तेस्रो चरणको लागि वार्ता सुरु हुनेछ।
सन् २०२३ अक्टोबरमा हमासले इजरायलमा आक्रमण गरेर ११९५ नागरिकको हत्या र २५१ जनालाई अपहरण गरेर गाजा लगेपछि पछिल्लो युद्ध सुरु भएको थियो।
सम्झौताको खबर फैलिएसँगै गाजाभर हर्षोल्लास छाएको छ। बीबीसीका अनुसार मानिसहरू खुसीसाथ प्यालेस्टिनी झन्डा बोकेर नाराबाजी गरिरहेका छन्।
अन्यत्र इजरेली हमला भएका विवरण समेत छन्। हमासद्वारा सञ्चालित नागरिक प्रतिरक्षा निकायका अनुसार बुधवार मात्र इजरेली हवाई हमलाका कारण २० जना मानिसहरू मारिएका छन्।
इजरेली बन्धकहरूका परिवारहरू हर्ष र राहत महसुस गरेका छन्। उनीहरूले सम्झौता पूर्ण रूपमा कार्यान्वयन नहुने पो हो कि भन्ने चिन्ता समेत देखिन्छ।
इजरेली राष्ट्रपति आइज्याक हर्गजले सम्झौताका केही पक्ष निकै पीडादायी भए पनि यो सही कदम भएको बताएका छन्। हमासका मुख्य वार्ताकार खलिल अल-हयाले गाजामा थोपरिएको पीडाका लागि क्षमता नदिने बताएका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.