निजामती कर्मचारीको अवकाश उमेर ६५ वर्ष राख्न प्रस्ताव

निजामती कर्मचारीको अवकाश उमेर ६५ वर्ष राख्न प्रस्ताव

काठमाडौँ : निजामती सेवामा अवकाशको उमेर ६५ वर्ष राख्न प्रस्ताव गरिएको छ। राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार बसेको बैठकमा जनसंख्याविद्हरुले अवकाशको उमेर ६५ वर्ष राख्न प्रस्ताव गरेका हुन्। उनीहरूले निजामती सेवा प्रवेशको उमेर ३५ देखि ४० र अवकाशको उमेर ६३ देखि ६५ वर्ष राख्न प्रस्ताव गरे।

राष्ट्रिय योजना आयोगका सदस्य डा.आरपी बिच्छाले विश्वव्यापी मान्यता अनुसार कम लगानीका लागि पनि अवकाशको उमेर ६५ वर्ष राख्नु पर्ने बताए। सेवा प्रवेशको उमेर भने विधा अनुसार राख्नु पर्ने बताए।

जनसङ्ख्याविद् प्रा. डा. योगेन्द्र बहादुर गुरुङले निजामती सेवालाई विशेषज्ञ सेवाको रूपमा विकास गर्ने भए प्राविधिकलाई अवसर दिनु पर्ने बताए। ‘प्रशासनले देश चलाउने होइन। प्राविधिक चाहिन्छ,’उनले भने,’देश चलाउने प्राविधिकले हो। जनसङ्ख्यासँग सम्बन्धित एक जना पनि छैनन्।’

उनले जनसङ्ख्या नघटेको बताए। वृद्धिदर मात्र कम भएको उनले सुनाए। उनले कर्मचारी बढुवाको जिम्मा लोकसेवा आयोगलाई दिनु पर्ने बताए। नेपालीको औसत आयु हाल ७१.३ वर्ष पुगेको छ। उनले शाखा अधिकृत भन्दा माथि बढुवा खुला गर्न नहुने पनि बताए।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. महेन्द्र प्रसाद शर्माले सेवा प्रवेश र निस्कने उमेर परिवर्तन गर्नु पर्ने बताए। ‘एक्टिभ लाइफ, हेल्थी लाइफ ग्लोवल्ली ट्रेन्ड नै छ,’उनले भने,’अवकाशको उमेर ६५ वर्ष सम्म जानुपर्छ। काम गर्न सक्ने क्षमता भएसम्म अवसर पाउनुपर्छ। सधैँ सक्रिय जीवनमा राख्दा आयु बढ्ने अध्ययनहरूले पनि देखाएका छन्।’

उनले ७५३ स्थानीय निकायमा जनसङ्ख्या हेर्ने गरी अफिसर लेबलको कर्मचारीलाई अनिवार्य रूपमा राख्नुपर्ने बताए। ‘एक-एक महिनामा केन्द्रले डाटा प्राप्त गर्न सक्ने हुनुपर्छ। जनशक्ति प्रयोग गर्न चुकेका छौँ,’उनले भने,’प्राविधिक जनशक्तिमा फोकस हुनुपर्छ।’

राष्ट्रिय तथ्याङ्क कार्यालयका पूर्वउपमहानिर्देशक रुद्र सुवालले निजामती सेवा विधेयकमा राजनीतिक रूपले तटस्थ हुनुपर्छ भन्ने राख्दा खुसी लागेको बताए। पदपूर्ति सम्बन्धी विशेष व्यवस्थामा गरिब परिचयपत्र प्राप्त खस आर्य भनिएको छ। यो परिवर्तन भइरहने बताउँदै उनले आर्थिक हैसियत परिवर्तन भइरहने उल्लेख गरे। यसलाई आधार बनाउन नहुने उनको सङ्केत थियो।

आरक्षणमा पर्नेहरूले पास मार्क पनि ल्याउन नसकेको र आवेदन दिने पनि नभएको अवस्था देखिएको उनले उल्लेख गरे। ‘कतिपय अवस्थामा पास नम्बर ल्याउन नसक्ने देखिएको छ,’उनले भने,’अल्पसङ्ख्यक, पछाडि पारिएका समूहलाई कसरी ल्याउने भन्नेमा ख्याल गर्नुपर्ला।’

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक पदमप्रसाद खतिवडाले हिमालको जनसङ्ख्या ३५ बाट घटेर ६ प्रतिशत र पहाडको ४२ बाट ४१ प्रतिशतमा आएको बताए। काठमाडौँ हटाउने हो भने पहाडमा २९ प्रतिशत हुन आउने उनले उल्लेख गरे। तराईमा भने २३ प्रतिशतबाट ५४ प्रतिशत पुगिसकेको उनले तथ्याङ्क प्रस्तुत गरे।

अवकाशको उमेर बढाउने हो भने पेन्सनको उमेर पनि बढाउनु पर्ने बताए। हाल २० वर्ष सेवा अवधि पछि पेन्सन पाउने व्यवस्था छ। त्यसलाई बढाएर २५ वर्ष पुर्‍याउन सकिने तर्क पनि विज्ञहरूले गरेका छन्।

जनसङ्ख्याविद् दामोदर ज्ञवालीले निजामती सेवा प्रवेशका लागि न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर नै हुनुपर्ने बताए। निजामती सेवामा प्रवेश गरेपछि अतिरिक्त समय दिनु नपर्ने व्यवस्था गर्नुपर्ने उनले बताए। ‘उपसचिवमा बढुवा हुन परीक्षा दिनु नपरोस्,’उनले भने। शाखा अधिकृतपछि उपसचिव र सहसचिवमा अनुमान योग्य बढुवा हुनुपर्ने उनले बताए।

निजामती सेवामा सबै भन्दा धेरै फुल पार्ने चरो कुन हो? तित्रो उत्तर दिएर प्रवेश गर्ने अभ्यास अब हटाउनु पर्ने उनले बताए। युएन सिस्टममा ५५ वर्षको उमेरमा पनि प्रवेश गर्न पाइने रहेको उनले सुनाए। उनले सेवा प्रवेशमा उमेरलाई आधार मान्न नहुने बताउँदै भने,’आधारभूत मानवअधिकारबाट वञ्चित गर्नु भएन।’

उनले निजामती सेवामा रहेका कर्मचारीलाई बेतलबी खाइपाइ आएको पारिश्रमिकमा ५० प्रतिशत राज्यको खातामा आउने व्यवस्था गर्दा पनि हुने तर्क प्रस्तुत गरे। ‘४८ हजार पारिश्रमिक लिने कर्मचारीले १० लाखको अवसर पाउँदा जान दिनुपर्छ,’उनले भने,’बरु खाइपाइ आएको तलबको ५० प्रतिशत राज्यलाई योगदान गर्नु भन्न सकिन्छ।’

केन्द्रीय तथ्याङ्क विभागका अन्तिम महानिर्देशक नविनलाल श्रेष्ठले जनसङ्ख्या वृद्धिदर १.६ प्रतिशतबाट ०.९२ प्रतिशतमा झरेको जानकारी दिए। ‘१० जनाले ५६ जना बच्चा जन्माउने गरेकोमा अहिले दुई जना बच्चा जन्माउने गरिएको छ। १० जनाले २१ जना बच्चा जन्माए पनि जनसङ्ख्या घट्दैन,’उनले भने।

अहिलेको निजामती समावेशी बनाउँदै उमेर हद बढाउनुपर्ने बताए। अनुभवी दक्ष कर्मचारी गुमाउने अवस्था आउन दिन नहुने उनले बताए। उनले सेवा प्रवेशमा दिइने आरक्षण कोटा प्रमोसनमा दिन नहुने बताए। ‘आरक्षणमा कोटाको प्रतिशत राम्रो हो। समानता चाहन्छौँ,’उनले भने,’पटकपटक आरक्षण सिटमा बढुवा हुने सिस्टम बन्द गरौँ। सङ्ख्यामा होइन गुणस्तर पनि बढाउनुपर्छ।’

जनसङ्ख्या अध्येता चेतन अधिकारीले सेवा प्रवेशको उमेरलाई चलाउन नपर्ने बताए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.