काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार, होटल तथा रिसोर्टमा लगानी बढाएका छन्।
अध्यक्ष ढकालको लगानी रहेको आईएमई समूह सात वटै प्रदेशमा केबलकारसहितको होटल तथा रिसोर्ट निर्माणमा लागेको छ। काठमाडौँको चन्द्रागिरि र पूर्वी नवलपरासीको गैँडाकोटमा मौलाकाली केबलकार, होटल तथा रिसोर्ट र अन्य मनोरञ्जनात्मक पूर्वाधारसहितको गन्तव्य सञ्चालनमा ल्याइसकेका छ।
रुपन्देहीको बुटवलमा केबलकार सञ्चालनमा आइसकेको छ भने पाँचतारे होटलसहित अन्य पूर्वाधार निर्माणको क्रममा रहेको अध्यक्ष ढकालले जानकारी दिए।
उनका अनुसार ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार निर्माणको अघि बढेको छ। सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशको संगमस्थल कर्णाली चिसापानीमा जालपादेवी केबलकार निर्माणको शिलान्यास भएको छ। आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा उल्लेखनीय योगदान पुर्याउने मात्र नभई समग्र पर्यटन प्रवर्धन, आर्थिक विकास र सम्मृद्धिमा कोशेढुङ्गा साबित हुने विश्वास आईएमई समूहले गरेको छ।
चन्द्रागिरिमा बनेको पूर्वाधारले ५ सय जनालाई प्रत्यक्ष रोजगारी दिलाएको छ। दैनिक औसत ३ हजार हाराहारीमा मानिसको आवतजावत हुँदा आर्थिक क्रियाकलाप बढेको छ। स्थानीयको व्यवसायमा उल्लेखनीय वृद्धि भएको छ। उनीहरूको जीवनस्तरमा सुधार आएको दाबी पनि आईएमई समूहले गरेको छ।
चन्द्रागिरि स्वदेशी तथा विदेशी पर्यटककै एउटा नवीन र आकर्षक गन्तव्य बनेको छ। नेपाल भ्रमणमा आउने उच्च विदेशी पाहुनाका लागि थप एक दिन बिताउने गन्तव्य बनेको छ। बालबच्चादेखि ज्येष्ठ नागरिकसम्मलाई एकपटक पुग्नै पर्ने पर्यटकीय गन्तव्यको रूपमा चन्द्रागिरि रहेको छ।
आईएमई समूहले कास्की जिल्लाको म्याग्दी गाउँपालिका १ स्थित सिक्लेसमा नयाँ केबलकार निर्माणको चरणमा रहेको जनाएको छ। केबलकार निर्माणसँगै त्यस क्षेत्रको पर्यटनमा नयाँ आयाम थपिने अध्यक्ष ढकालले बताए। “सिक्लेस एउटा आकर्षक पर्यटकीय गन्तव्यका रूपमा देश तथा विदेशमा प्रख्यात नै छ। केबलकार निर्माणले सिक्लेसमा नयाँ पर्यटकीय पूर्वाधार थपिनेछ,उनले भने,केबलकारले यस क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा उल्लेखनीय योगदान पुर्याउने मात्र नभई समग्र क्षेत्रको पर्यटन प्रवर्धन, आर्थिक विकास र समृद्धिका लागि सहयोगी बन्ने छ।”
सिक्लेस देखि कोरीसम्म बन्ने नयाँ केबुलकारको लागि प्रक्रियागत कामहरू सकिइसकेको जानकारी उनले दिए। उनले केबलकार निर्माणले सो क्षेत्रको सामाजिक तथा आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने बताए। पर्यटनको लागि स्थानीय कला, संस्कृतिको संरक्षण आवश्यक रहेको बताउँदै उनले कला र संस्कृति संरक्षणका लागि स्थानीय युवा क्लबले निर्वाह गरेको भूमिकाको सराहना गरे।
अध्यक्ष ढकाल “ग्रामीण पर्यटन प्रवर्द्धनका लागि सिक्लेस महोत्सव”को नारा सहित कास्की जिल्लाको म्याग्दी गाउँपालिका १ स्थित सिक्लेस गाउँमा आयोजित माघे सङ्क्रान्ति मेला–२०८१ तथा सिक्लेस युवा क्लबको ३० औँ वार्षिकोत्सव समारोहमा बोल्दै थिए।
नेपाल पर्यटनको अथाह सम्भावना रहेको देश हो। गुरुङ जातीको बाहुल्यता रहेको सिक्लेस गाउँ कास्कीको मादी गाउँपालिका–१ मा पर्दछ। पर्यटकीय गाउँ सिक्लेसबाट नजिकै अन्नपूर्ण र लमजुङ हिमशृङ्खला देख्न सकिन्छ। कास्की जिल्लाको उत्तरपूर्वी भागमा रहेको सिक्लेस पोखराबाट करिब ४० कि.मि.को दूरीमा पर्दछ।
नेपाल आउने पर्यटकको बसाई कम्तीमा ७ दिन लम्ब्याउने उद्देश्य सहित केबलकार निर्माणमा लगानी गरेको आईएमई समूहले बताएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.