पूर्वप्रधानन्यायाधीश श्रेष्ठको चिन्ता,’प्रजातन्त्रको नाममा व्यापार भयो, देशले नयाँ निकास खोज्यो’

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको चिन्ता,’प्रजातन्त्रको नाममा व्यापार भयो, देशले नयाँ निकास खोज्यो’

रेडियो दिदीबहिनीलाई गोविन्द वियोगी पत्रकारिता पुरस्कार र युवराज घिमिरे सम्पादक समाज नेपालबाट सम्मानित

नुवाकोट : सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले प्रजातन्त्रका नाममा व्यापार मौलाएको बताएका छन्। प्रजातान्त्रीकरण र सञ्चारमाध्यमको पनि व्यापारीकरण भइरहेको उनले बताए।

सम्पादक समाज नेपालले नुवाकोटको सुईरेचौरमा गरेको गोविन्द वियोगी पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान कार्यक्रममा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले निजीकरण मौलाएको सुनाए। यसले अहिलेको प्रणालीलाई गला घोट्ने अवस्था आउने चिन्ता गरे।

राजनीतिक दलहरूले आफू अनुकूल देशलाई खोक्रो बनाएको प्रति पूर्वप्रधानन्यायाधीश श्रेष्ठको सङ्केत थियो। देशले नयाँ निकास मागिरहेको उल्लेख गर्दै उनले नकारात्मक बढ्दै गएमा आत्मघाती हुने बताए।

पत्रकारितामा पनि व्यापार मौलाएको उनले टिप्पणी गरे। विचारको व्यापार र सत्यको सम्मान नभए धर्म निभाएको मान्न नसकिने पूर्वप्रधानन्यायाधीश श्रेष्ठको भनाई छ। जबाफदेहिता, पारदर्शिताको समस्या देश र जनताले झेलिरहनु गम्भीर चुनौतीको विषय भएको उनले बताए।

देशमा भ्रमको उत्पादन भइरहेको छ। चेतनाको सञ्चार निरन्तर भइरहेकै कारण देशमा प्रजातन्त्र आए पनि परिवर्तनहरू व्यवस्थित हुन नसकेको उनले उल्लेख गरे।

पत्रकारिताको क्षेत्र पनि झाँगिएर गएको छ। सामाजिक सञ्जाल विकल्पको रूपमा आएको छ। पत्रकारितालाई पनि सम्मानित ढङ्गले जोगाइराख्ने चुनौती छ।

पत्रकारितामा अन्तस्करण हराएको छ। यसले जनतामा पनि असत्य सहने बानी परेको पूर्वप्रधानन्यायाधीश श्रेष्ठले उल्लेख गरे। असत्य सहने बानी परे पछि सत्य हराउने बताउँदै उनले सत्य कायल हुने र असत्य सत्य झैँ प्रतीत हुन थाल्यो भने जोखिमपूर्ण हुने सुनाए।

भिडियो हेर्न र सुन्न क्लिक गर्नुहोला

रेडियो दिदीबहिनीलाई पुरस्कृत

सम्पादक समाज नेपालले यो वर्षको गोविन्द वियोगी पत्रकारिता पुरस्कार पहिलो जिल्लामा कार्यक्षेत्र गरिरहेका पत्रकारलाई प्रदान गरेको छ। पहिलो पटक नै समाजले संस्थागत रूपमा पनि पुरस्कृत गरेको छ।

गोविन्द वियोगी पत्रकारिता पुरस्कार पहिलो पटक पर्वतमा महिलाहरुद्धारा सञ्चालित रेडियो दिदीबहिनीले पाएको छ। वियोगीको १९ औँ स्मृति दिवसका अवसरमा पर्वतको रेडियो दिदीबहिनीकी संस्थापक अध्यक्ष कल्पना चापागाईँलाई २५ हजार राशिको पुरस्कार पूर्वप्रधानन्यायाधीश श्रेष्ठले प्रदान गरे।

१५ हजार राशिको गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार यो वर्ष राजधानी दैनिकका बझाङ सम्वाददाता डि.बी विष्ट र नुवाकोटमा रहेर यो समय अनलाइनको सम्पादन गरिरहेका पत्रकार ध्रुव रावललाई प्रदान गरिएको छ।

यो वर्ष सम्पादक समाज नेपालबाट वरिष्ठ पत्रकार युवराज घिमिरे सम्मानित भए।

कार्यक्रममा गोविन्द वियोगीकी धर्मपत्नी कृष्ण वदन वैद्यलाई ९० वर्ष प्रवेश गरेको अवसरमा अभिनन्दन गरिएको छ।

कार्यक्रममा नेकपा एमालेका नेता अमृतकुमार बोहरा, नेकपा माओवादी केन्द्रका खिमलाल देवकोटा, बागमती प्रदेशसभाका पूर्वसदस्य नरोत्तम वैद्यले पत्रकारिता क्षेत्रमा गोविन्द वियोगीको लगावबारे चर्चा गरे।

सम्पादक समाज नेपालका अध्यक्ष पुरु रिसाल, संरक्षक किरण वैद्य, उपाध्यक्ष नारायण उपाध्याय र महासचिव श्यामकाजी डोटेलले पत्रकारिता क्षेत्रमा देखिएका चुनौती समाधानका लागि पत्रकारहरूको वृहत् भेला आयोजना गर्ने तयारीबारे जानकारी गराए।

शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले स्थानीय सरकार सधैँ पत्रकारहरूको साथमा रहेको बताए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.