युरोप पुगे भुटानी प्रधानमन्त्री, युरोपमा रहेका भुटानी शरणार्थीले गरे भेट्न अनुरोध

युरोप पुगे भुटानी प्रधानमन्त्री, युरोपमा रहेका भुटानी शरणार्थीले गरे भेट्न अनुरोध

720
SHARES

काठमाडौं : भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे युरोप भ्रमणमा निस्किएका छन्। उनी औपचारिक रूपमा फेब्रुअरी १ तारिखसम्म युरोपको भ्रमणमा रहनेछन्।

स्विट्जरल्याण्डको डाभोसमा हुने ‘विश्व आर्थिक मञ्चको ५५ औँ वार्षिक बैठक’मा सहभागी हुन उनी युरोप भ्रमणमा निस्किएको भुटानको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

पाँच दिने बैठकका विभिन्न सत्रहरूमा उनले सम्बोधन गर्नेछन्। भुटानी राजाले नेपाली भाषी नागरिकलाई लखेटेर खाली गराएको गेलेफुमा निर्माण गर्न लागेको मेगासिटी परियोजनाका लागि सहायता जुटाउन प्रधानमन्त्री तोब्गेले विभिन्न देशका सरकार प्रमुख र उद्योगीहरूसँग भेट गर्ने कार्यक्रम राखेका छन्।

वर्ल्ड इकोनोमी फोरममा भुटानको तर्फबाट सहभागी हुने तोब्गे पहिलो व्यक्ति समेत हुन्। प्रधानमन्त्री तोब्गेले बेल्जियम र लग्जेम्बर्गको पनि भ्रमण गरी युरोपेली सङ्घका नयाँ नेतृत्व र वरिष्ठ अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम छ।

भुटानी प्रधानमन्त्रीको युरोप भ्रमणको तालिकामा देश निकाला गरिएका आफ्ना नागरिकलाई भेट्ने कार्यक्रम भने राखिएको छैन। युरोपमा रहेका भुटानी शरणार्थीहरुले प्रधानमन्त्री तोब्गेलाई आफूहरुसँग भेट्न आग्रह गरेका छन्।

नेदरल्याण्ड्सको हेगमा रहेका भुटानी राजनीतिक बन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियानका संयोजक राम कार्कीले प्रधानमन्त्री तोब्गेलाई युरोपमा स्वागत गर्दै आफूहरूसँग भेट्नका लागि अनुरोध गरेका छन्।

भुटानमा लामो समयदेखि चलिरहेको समस्याहरूलाई सम्बोधन गर्न वर्ल्ड इकोनोमी फोरम प्रत्यक्ष कुराकानी गर्न महत्त्वपूर्ण हुने कार्कीले उल्लेख गरेका छन्।

भुटानले देश निकाला गरेका १ लाख भन्दा बढी नेपाली भाषी नागरिक नेपाल सहित विभिन्न देशमा शरणार्थी जीवन बिताउँदै आएका छन्।

भुटानी शरणार्थी समस्या नेपालका लागि सधैँको टाउको दुखाइको विषय बनिरहेको छ। तर, भुटान सरकार भने समस्या नै नभएको जस्तो गरेर बसेको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.