रुपन्देही : रुपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारीको रकम अपचलनको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको शुक्रवार पनि थुनछेक बहस सकिएन। बुधवार आफैँ बयान दिन अदालतमा उपस्थित लामिछानेको थुनछेक बहस आइतबार पनि जारी रहने रुपन्देही अदालत प्रशासनले जनाएको छ।
न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले लामिछानेलाई तेस्रो पनि परिवारको जिम्मा लगाउने आदेश दिएको छ। उनलाई आइतबार उपस्थित हुने सर्तमा परिवारको जिम्मा लगाउने आदेश योगीको इजलासले दिएको छ।
शुक्रवार ५ जना कानुन व्यवसायीले बहस गरे। आइतबार थप कानुन व्यवसायीले बहस गर्नेछन्। शुक्रवार लामिछानेको पक्षबाट ३ र जाहेरीवालाको तर्फबाट २ जनाले बहस गरे। वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र आरसी गौतमले लामिछानेको खातामा सहकारीको २ करोड रुपैयाँ गएको र उनी आफैँले चेक काटेर ४० लाख ९२ हजार सहकारीको किस्ताबापत भुक्तानी गरेकाले सहकारी ठगीमा संलग्नताको पुष्टि भएको जिकिर गरे।
लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले हदम्याद नघाएर मुद्दा ल्याइएको जिकिर गरे। सहकारी ऐनमा टेकेर मुद्दा नल्याइएको उनले बताए। बदनियत राखेर ल्याइएको मुद्दाको कानुनी आधार नभएको जिकिर पन्तले गरे।
बहस नसकिएकाले मुछा हेर्दाहेर्दैमा राखिएको छ। अब आइतबार फेरि बहस हुनेछ। लामिछानेका तर्फबाट आइतबार वकालतनामा लेखाएका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित ८ वकिलले बहस गर्ने छन्।
लामिछानेलाई काठमाडौँ जिल्ला अदालतमा जस्तो छिटो बहस सकाउनु पर्ने हतार देखिएको छैन। काठमाडौँमा बहस लम्बिँदा लामिछानेको हिरासत बसाई लम्बिन्थ्यो भने रुपन्देहीमा त्यो अवस्था छैन। उनलाई अदालत उपस्थित भएकै दिनदेखि परिवारको जिम्मामा छाडिएको छ।
आइतबार जाहेरीवाला सहकारी पीडित र प्रतिवादी लामिछानेको पक्षबाट सवाल–जवाफ भएपछि आदेश आउने अदालत प्रशासनले जनाएको छ। लामिछानेले अदालतमा बयान दिँदै गर्दा समर्थकहरूको भिड लाग्ने गरेको छ। परिवारको जिम्मामा अदालतबाट बाहिरिँदै गर्दा रवि दाइ हाइहाइको नारा लागिरहेको थियो। उनी चढेको गाडी रोकेरै समर्थकहरूले नाराबाजी गर्दै केहीले हात समेत मिलाए।
रविले अदालतमा हल्ला गर्न नमिल्ने बताए। ‘यो अदालत हो हल्ला गर्न पाइँदैन हजुर’ भन्दै उनी हात हल्लाउँदै बाहिरिए। सुप्रिम सहकारीको बचत रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोपमा पूर्वगृहमन्त्री समेत रहेका लामिछाने, पूर्वडीआइजी छविलाल जोशी, सहकारीका संरक्षक जीवी राईसहितका २२ जनाविरुद्ध सहकारी ठगी र सङ्गठित अपराध कसुरमा माघ ६ गते पूरक मुद्दा दर्ता भएको थियो।
लामिछाने बुधवार हाजिर भए पनि छविलाल बयानका लागि अदालतमा उपस्थित भएका छैनन्। जीवी राई भने अझै फरार छन्। लामिछाने कास्की जिल्ला अदालतमा ६५ लाख र काठमाडौँ जिल्ला अदालतमा ६० लाख रुपैयाँ धरौटी बापत बैङ्क ग्यारेन्टी गरेर रिहा भएका थिए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.