नेपाली वाङ्मयको आयाम विस्तारका लागि अथक साधना गर्नुहुने साहित्यकार प्राडा गोविन्दराज भट्टराईको साहित्यिक योगदानसँग नेपाली विद्वत् समाज सुपरिचित छ। बिक्रमाब्दको एक्काइसौँ शताब्दीको तेस्रो दशकदेखि यथार्थवादी उपन्यास मुगलान बाट घनिभूत रूपमा साहित्यिक क्षितिजमा उदाउनु भएका भट्टराईका मणिपुरको चिठी, सुकरातका पाइला, सुकरातको डायरी लगायत कविता, निबन्ध, यात्रा, समालोचनाका कृति प्रकाशित छन्। उपन्यासकार, कवि, निबन्धकार, समालोचक एवं प्राध्यापकका रूपमा आफ्नो विशिष्ट परिचय बनाउनुभएका स्रष्टा भट्टराईले आफ्ना जेठा दाजु डा. तुलसी भट्टराई एवं भाउजू सुधा भट्टराईलाई सम्बोधन गरी लेख्नुभएका चिठी–पत्रहरू ‘गोविन्दराज भट्टराईका चिठी–पत्र’ (२०८१) शीर्षकमा सङग्रहीत छन्।
नेपाली समाजमा सदियौँदेखि प्रवाहित विद्वत् परम्परालाई अक्षुण राख्दै विद्यार्जनका निमित्त गृहत्यागी बन्ने भट्टराई परिवारका अग्रज तुलसी भट्टराई बि.सं. २०२३ देखि विद्याको केन्द्रका रूपमा परिचित ‘काशी’ (बनारस)मा रहेका बखत उहाँलाई नै सम्बोधन गरी लेखिएका एवं प्रेषित गरिएका यी चिठीपत्रले सम्वत २०३० को दशकतिर पूर्वी नेपालमा अध्ययन कति चुनौतीपूर्ण थियो भन्ने कुरा प्रस्ट पार्दछन्। पत्रले तत्कालीन नेपाली समाजको शैक्षिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक परिवेशको सजीव चित्र प्रस्तुत गरेका छन्। त्यसभन्दा पर र माथिको विषय चाहिँ भ्रातृत्व–प्रेम हो, बन्धुत्व भाव हो, मातापिताप्रतिको सेवा हो अनि विद्यार्जनको तपस्या हो। सङ्ग्रहको आत्मा यिनै विषयमा अडिएको छ।
कुल १०८ वटा चिठीपत्र सङ्ग्रहीत यस सङ्कलनका विविध आयाम छन्। तिनको व्याख्या गर्नुपूर्व सङ्ग्रहको पहिलो पत्रका केही अंश यहाँ साभार गर्न वाञ्छनीय भएकोले यहाँ तिनको उल्लेख गरिएको छ—
२०३१ असार २५
श्रीमान् आदरणीय अग्रजकै सेवामा। १५ असारको पत्र आजै पाएँ रजिष्ट्रि खामभित्र। पढ्न पाएको थिएन, खोलेर हेर्दैमात्र असीम आनन्दको अनुभव गरेँ तस्बिर देखेर। मुहारमा केही परिवर्तन आएछ अनि, परिपक्वता जनाइरहेथ्यो। भाउज्यूको पनि त्यस्तै लाग्यो। सरसरती एकपल्ट पत्र पढेँ, बाहिरी बोक्रोमात्र बुझेँ। दोस्रो तेस्रोपल्ट पढी चौथोपालि लेख्न बसेको हुँ। काहीँ त पढ्दै हाँस्तै गरेँ तर, हाँस्नु थिएन। धेरै गम्भीर भएर प्रत्येक शब्द केलाएर पढी अत्यन्तै राम्रो मानेको छु। मैले एकपल्टलाई यस्तै पत्र चाहेको थिएँ ….
मैले तपाईँलाई मुख्य गरी के पर्खेको थिएँ भने मेरो साहित्यिक प्रयत्नको तपाईँले कस्तो कमेन्ट गर्नुहोला भन्ने थियो– त्यसको जवाफ कल्पनासँगै मिल्ने दिनुभएछ। मैले त्यो किताब ‘विवशता’ नामक खण्ड काव्यको एकप्रति साफी गरी सक्दा (११ आषाढमै) सारै कुतकुती लागेर आयो। कसलाई सुनाऊँ र कसो गरौँ जस्तो भयो र, भोलिपल्टै कवि माधवप्रसाद घिमिरेज्यूसँग त्यो लगेर देखाएँ। उहाँसँग पहिलो परिचय गरेँ। साह्रै मृदुभाषी सरल स्वभावको कवि हृदयी माधवजीले मलाई ७ दिनपछि आउने कुरा गर्नु भयो र, कविलाई छोडी आएँ। अस्तिको दिन गएथेँ। उहाँ ज्यादै खुसी हुनुभयो। पढ्दा राम्रो लाग्यो रे। मलाई भन्नुभयो, “तपाईँको यो उमेरमै साहित्यप्रति यति गहिरो अनुराग उत्पन्न गराउनु भएछ। यो तपाईँको काव्य (लघु) पढेँ, कस्तो होला भनेको एकदमै राम्रो अन्त्य भयो। यसमा तपाईँले काठमाडौँको एउटा अँध्यारो ठाउँलाई प्रकाशमा ल्याउनुभएछ। एउटा पिछडिएको वर्ग जसको विवरण राम्रो दिनुभएछ।”
Short-hand र Russian भाषा पनि सिक्दैछु। पिताजीले घरबाट २०० पठाइदिनु भएछ, नत्र त म पनि पल्लो फाल हुन आँटेको थिएँ। निरन्तर प्रयासले आँखाको बिमार बल्झी उपचार र सीसा भर्नुपर्दा १०० चिलिम भैगयो। अरूले १५ दिन गुजारा चल्ला।
म हिजोआज यस्तो जगतमा पुगेको छु कि चौबिसै घण्टा कसो गरे आफू, के गरे आफूदेखि पर्यन्त केही सम्झन्न। घर वरपर पैसा खर्च सम्पूर्ण भुलिसकेँ। काठमाडौँ र दमक कहाँ छु भन्ने पनि जान्न छाडेँ। ६ घण्टा सुत्नु सिवाय समय ज्यादै छिटो घुमेजस्तो लाग्छ, आफैँ डरलाग्दा अनि प्रयास गरिरहन्छ लेख्न र पढ्न। म २/४ कविता र कथाहरू समेत तपाईँलाई अर्को पालि पठाउनेछु। म आजकल हीनताबोधबाट सयौँ कोश टाढा छु, आत्मबल बढाइरहेछु…तसर्थ आजको छोटो र हतारलाई बिदा दिँदै कलम बन्द गर्न आज्ञा चाहन्छु।
भवदीय
आज्ञाकारी भाइ गोविन्दराज
काठमाडौँ
पहिलो चिठीको यो आंशिक दृष्टान्त÷नमुना पश्चात् यस पत्र सङ्ग्रहका विविध आयाम यस प्रकारका रहेका छन्—
१. दाजु डा.तुलसी भट्टराईको विराट व्यक्तित्व प्रकाश
पिता पण्डित टेकेनाथ भट्टराईका ज्येष्ठ सुपुत्र अध्ययनका सिलसिलामा भारतको बनारसमा रहेर पनि आफ्नो भविष्यका परिवारको उज्ज्वल भविष्यका निम्ति साधना गर्दै विद्यार्जन गर्दै आफ्ना भाइ बैनीका पथप्रदर्शक बनेर आफ्नो उत्तरदायित्व अटूटरुपले वहन गर्नुभएको देखिन्छ। अध्ययनका साथै साहित्य सेवालाई अगाडी बढाउनुहुने एवं सतत: परिवारकै चिन्तनमा र उत्न्नतिमा विर्निमेष दत्तचित्त रहनुहुने डा. तुलसी भट्टराई सम्पूर्ण नेपाली समाजका जिम्मेवार, शिक्षित एवं सचेत अग्रज प्रतिनिधि पात्र हुनुहुन्छ। आफू ३५ वर्षका हुँदै खेरि भाषाविज्ञानमा विद्यावारिधि गरेका डा. तुलसी भट्टराईका रित्तो घर (२०३४), ऊ पनि मान्छे हो (२०३५) र कोशीको लहर (पत्रिका) बनारसमा रहँदै प्रकाशित भएको देखिन्छ। प्रजातन्त्रप्रतिको अटूट आस्था भएका बौद्धिक एवम् एवं प्राज्ञिक व्यक्तित्व यी पत्रमा उल्लेखित छन्। आफ्नो आफ्नो परिवारको र आफ्ना भाइबन्धुको छुट्टै पहिचान बनाउन सक्ने उहाँको सपना साकार भएको पाइन्छ।
२. भ्रातृत्व–प्रेम
मर्यादापुरुषोत्तम श्रीरामचन्द्र र भाइ भरत–लक्ष्मण–शत्रुघ्नबीचको भ्रातृत्व प्रेमको अटूट धारामा सतत: प्रज्ज्वलित मर्म भावना र आदर्शलाई आत्मसात् अङ्गीकार गर्दै आउनुभएका दाजु तुलसी भट्टराई र भाइ गोविन्दराज भट्टराईबीचको उच्च श्रद्धा एवं अनन्य प्रेम र अगाध मायाप्रेम बन्दनीय छ। दाजुभाइ बीचको निश्छल एवम् जिम्मेवारीपूर्ण ममताको यो दृष्टान्तले नेपाली समाजमा प्रायजसो देखिने बन्धुकलह, परस्परको रिस, राग, पारिवारिक बेमेल, डाह ईर्ष्या तथा यावत् सङ्कीर्ण सोचलाई पूर्णतया अस्वीकृत गरेको छ। सहोदर दाजुभाइलाई एक अर्काको वैरी देख्न सिकाउने नेपाली उखान– “बाघको मुख हेर्नुपरे बिरालाको मुख हेर्नू, शत्रुको मुख हेर्नु परे भाइको मुख हेर्नू”– र यस्तो उखान बनाउने हाम्रो समाजको दुरूह, सङ्कीर्ण र बन्धुघाती कुसंस्कारलाई समूल नष्ट गर्ने सञ्जीवनी बुटी यी चिठी पत्रमा प्रस्टसँग उल्लेख गरिएका छन्।
गणितशास्त्रमा १ मा १ जोड्दा २ हुन्छ, १ लाई १ को साथमा राख्दा ११ हुन्छ तर एकाघरमा एकको साथ अर्कोलाई प्राप्त हुँदा त्यो अनन्त हुन्छ, त्यसले आकाश छुन्छ। यी चिठी–पत्रले यही मर्म/ध्रुव सत्य दर्साएका छन्।
नेपाली समाजमा भाउज्यूलाई माताकै स्थानमा राखिन्छ। यही संस्कारबाट दीक्षित देवर गोविन्दराज भट्टराई आफ्नी ठूली भाउज्यू सुधा भट्टराईप्रति आदरभावसहित प्रतिपल भाउज्यूकै स्वास्थ्यलाभको कामना गर्दै स्वास्थ्योपचारको जानकारी राख्नुहुन्छ। भाउज्यूको अध्ययनमार्गले ल्याएको खुसीले सच्चा देवर कस्ता हुन्छन् भन्ने उदाहरण यहीँ भेटिन्छ। बहिनीप्रति दाजुभाइ कति जिम्मेवार र संवेदनशील हुनुपर्छ अनि काका–भतिजको परस्पर माया कस्तो हुन्छ, पढ्ने प्रेरणा कसरी दिइन्छ, उच्च शिक्षाका लागि कसरी योजना बनाइन्छ भतिजलाई भन्ने पनि प्रमोद भतिजलाई नै सम्बोधन गरी लेखिएका पङ्क्तिले उजागर गर्दछन्। भतिजीलाई कस्तो अर्ती दिने भन्ने उदाहरण यहीँ पाइन्छ।
३. शैक्षिक उन्नयनका कठिन पदचाप
चाणक्य नीतिमा लेखिएका … अल्पाहारी गृहेत्यागी विद्यार्थी पञ्चलक्षणम् भन्ने श्लोकको भावक हुनुहुन्छ यी चिठी–पत्रका लेखक डा. गोविन्दराज भट्टराई।
अमेरिकाका अश्वेत युवा बुकर टी वासिङ्टन (१८५६–१९१५इ.) ले शिक्षाको ज्योतिको खोजीमा भर्जिनिया राज्यको माल्डेन (Malden) बाट ५०० माइल टाढाको ह्याम्टन (Hampton) सम्म गरेको पैदलयात्रा विश्वभरि उदाहरणीय बन्न पुगेको छ। पूर्वी नेपालका काले राईले वयस्क भएपछि नेपाली ठूलो वर्णमालाका साउँअक्षर चिन्दै बनारस पुगेर संस्कृत व्याकरण साहित्यको विशद अध्ययन पश्चात्। डा. स्वामी प्रपन्नाचार्यको उपाधिसहित ‘वेदमा के छ?’ जस्तो अमूल्य ग्रन्थ लेखेर नेपाली वाङ्मयलाई उपहार दिएको उदाहरण नेपाली विद्वज्जनमा विदितै छ। ठिक त्यसैगरी ताप्लेजुङको ओसेबाट पाँचथरको च्याङ्थापू झापा, बनारस, भुटान हुँदै काठमाडौँ र भारतको हैदराबाद विश्वविद्यालयसम्मको शैक्षिक यात्रा तय गर्ने त्यो उत्साह, कठिनाइ सामना गर्ने त्यो धीर स्वभाव, विद्यालयतहमा सेवा प्रवेश गर्दै विश्वविद्यालयका प्राध्यापक सम्मको शैक्षिक÷प्राज्ञिक यात्रा पूर्ण र आफ्ना सकल बन्धुबान्धवको समेत कल्याण गर्न सक्नु पत्रलेखकका अनुकरणीय कर्म हुन्।
४. साहित्य साधना
आफ्नो रचना÷कृति प्रकाशित गर्न हतार होइन, धैर्य चाहिन्छ, परिष्कृत कृति युगयुगसम्म रहन्छ र त्यसले स्रष्टालाई अमर तुल्याउँछ भन्ने मान्यता राख्नुहुने डा. गोविन्दराज भट्टराईको साहित्यिक प्रतिभाको परिचय वि.सं. २०३१ सालमा प्रकाशित ‘मुगलान’ उपन्यासले दिएको हो। त्यसभन्दा पहिल्यै उहाँको ‘विवशता’ खण्डकाव्यको पाण्डुलिपि पठनपश्चात् राष्ट्रकवि माधव प्रसाद घिमिरेले दिनुभएको यो प्रतिक्रियाका यी हरफ हेरौँ–
“तपाईँको यो उमेरमै साहित्यप्रति यति गहिरो अनुराग उत्पन्न गराउनुभएछ। यो तपाईँको काव्य (लघु) पढ़ें, कस्तो होला भनेको एकदमै राम्रो अन्त्य भयो। यसमा तपाईँले काठमाडौँको एउटा अँध्यारो ठाउँलाई प्रकाशमा ल्याउनु भएछ। एउटा पिछडिएको वर्ग जसको विवरण राम्रो दिनुभएछ।” (यसै सङ्ग्रहबाट, पृ.२)
नेपाली साहित्याकाशको विशिष्ट साहित्यकार– पारिजात, माधवप्रसाद घिमिरे, दान खालिङ– सँगको सान्निध्य र प्रेरणाले दोस्रो तेस्रो कृति हुँदै अघि बढ्नुभएका लेखकले अध्ययन अध्यापनको व्यस्तताबाट समय निकाल्दै ‘धरतीका स्पनदनहरु’ तथा ‘मणिपुरको चिठी’ तत्समयमै तयार गरेको दृष्टान्तले डा. भट्टराईको साहित्य साधना कति रहेछ भन्ने प्रस्ट हुन्छ।
५. मौलिक भाषा शैली
पृथक् रचना शैली/कौशलले नै स्रष्टाको वास्तविक प्रतिभाको परिचय दिन्छ। यी चिठी–पत्रमा लेखकका शब्द चयन र प्रयोग विशेष स्वादका छन्, नितान्त नौला छन्। स्रष्टामा अन्तर्निहित व्यक्तित्व निजको शैलीमा प्रस्ट हुन्छ। रूपवादी जान मुकारोब्स्कीले भनेको अग्रभूमिकरण (फोरग्राउण्डिङ) र भिक्टर श्लोभ्स्कीले भनेको विसामान्यिकरण (डिफ्यामिलिअराइजेशन) को सिद्धान्त भेटिन्छ। यी उदाहरण हैरौं—
आगन्तुकहरू खुबै आए गए। म घर–काठ, काठ–घर हुँदै यतै ठेगिएथेँ। परन्तु ३ महिने कामको लागि मङ्सिर अगावै काठ जानेवाला छु। (पृ. १८)
नसोचेको पारामा जीवन यन्त्र घिसारिरहेछु। पत्रको यातायात हुँदै रहोस् भनी आशामै यहीँ कलम रोक्छु। (पृ. ६७)
यसरी म आशामा थिएँ दाजु त्यहीँ भएपछि बाआमाको खबर छिछिटो पाइएला – खपिबसेँ सम्झिबसेँ– नभन्दै दाजु गएर यथार्थ बुझी खबर गर्दा आज कत्रो आनन्द। (पृ.११६)
जे जे परोस्। पोस्तक आएछन्। पुस्तकालयमा सङ्ख्या बढ्यो। (पृ. १४)
घरबाट झिरिप्पै भएर आएथेँ। यहाँको दश नङ्ग्रीले पेट सेकाइरहेछु। (पृ. ५८)
यी हरफमा कतिपय शब्दलाई नौलोपना दिइएको छ, जस्तै, काठमाडौँलाई ‘काठ’ बनाइएको छ। पत्र पठाउँदै गर्नुहोला भन्नुको सट्टा ‘पत्रको यातायात हुँदै रहोस्’ भनिएको छ। खपिरहेँ, सम्झिरहेँ भन्नुको सट्टा ‘खपिबसेँ, सम्झिबसेँ लेखिएको छ। अनि पुस्तक ‘पोस्तक’ भएको छ, ‘पेट भरेको छु’ लाई ‘पेट सेकाइरहेछु’ पारिएको छ।
६. जीवन दर्शन
“अहँ, सम्झन्छु डिग्रीभन्दा कल्याणकारी दुहुनी गाई यो माटामा रहेनछ” (पृ. १९) यही हरफबाट प्रस्ट हुन्छ, ‘विद्याधन महाधन’ भन्ने मूल मन्त्रबाट दीक्षित डा. भट्टराईको जीवनदर्शन भनेकै विद्या आर्जन गर्नु, अध्यापन गराउनु हो। ‘उत्तिष्ठितः जाग्रत प्राप्त बरान्निबोधतः” अर्थात् उठ जाग र मार्गदर्शन बन भन्ने उपनिषद्का आदर्शमा निमग्न भएर अघि बढ्नु उहाँको जीवन दर्शन बन्दै आएछ। जीवनका पल प्रतिपल अमूल्य छन्, तिनको अधिकतम सदुपयोग गर्दै ज्ञान सञ्चय गर्नु, कुलको इज्जत बढाउनु, मातापिताको सेवा गर्नु, अग्रजको श्रद्धा गर्नु एवम् भाइबहिनीको हित खातिर सदा प्रयत्नशील र चिन्तनशील रहनु नै उहाँको जीवन पद्धतिका निर्देशक तत्त्व हुन्। ‘विद्यामित्र प्रवासेषु’ भन्ने कुरामा उहाँ हरदम सचेत हुनुहुन्छ।
७. सम्बोधनको नौलो शैली
नेपाली समाज आजको इन्टरनेट युगमा प्रवेश गर्नुपूर्व आफन्त, इष्टमित्र, स्वदेश, परदेश तथा साथीभाइबीचको सम्पर्क, सन्देश सम्प्रेषणको माध्यम नै चिठी पत्र थियो। त्यतिवेला प्रेषक–प्रापकको दर्जा अनुसार प्रशस्ति हालेर स्वस्ति गर्ने प्रचलन थियो। यसक्रममा पितामातालाई ‘स्वस्ति श्री ६ श्री पूजनीय मातापिताका चरणकमलमा गङ्गाजल स्नान गरी शिर नुहाई ढोग छ’ भनेर पत्रको आरम्भ गरिन्थ्यो। दाजुलाई पूजनीय दाज्यू दण्डवत् भनिन्थ्यो।
तर यस सङ्ग्रहका चिठी–पत्रमा भाइले दाजुलाई, दाजुभाउज्यूलाई, भतिजा भतिजीलाई सम्बोधन गर्ने शैली केही नौलो छ। उदाहरणार्थ –
श्रीमान् आदरणीय अग्रजकै सेवामा …
…भवदीय आज्ञाकारी भाइ गोविन्दराज, काठमाडौँ
श्रीमान् आदरणीय अग्रजमा अहर्निश सेवा …
…आज्ञाकारी अनुज गोविन्द
श्रीमान् आदरणीय दाजुभाउज्यूकै सेवामा…
भवदीय आज्ञाकारी अनुज गोविन्दराज
श्री आदरणीय दानुभाउज्यूको सेवामा दर्शन…
भवदीय आज्ञाकारी गोविन्दराज
श्रीमान् समादरणीय अग्रजमा दण्डवत्, भाउज्यू नमस्कार,
… भवदीय गोविन्दराज
सम्बोधनका यी विविध स्वरूप र शैलीले त्यतिबेलाका घरायसी पत्रको थालनी कसरी गरिन्थ्यो भन्ने ब्यहोरा झल्काउँछन्। ग्रामीण क्षेत्रका अधिकांश पत्रको पेट बोलीमा ‘त्यहाँ खाएर यहाँ चुठ्न आउनू’ भन्ने पनि लेखिन्थ्यो तर यस सङ्ग्रहका चिठीपत्रमा भाषाशैली र विषयवस्तु नितान्त नौला छन् ः आफ्नो अध्ययनको प्रगति, अध्यापनको कार्यव्यस्तता, साहित्यिक विमर्श, जीवन दर्शन, दार्शनिक चिन्तन, परदेशमा बस्ताको अभाव, उच्च शिक्षाका भर्ना, परीक्षा, नतिजा प्रकाशन, पुस्तक प्रकाशनका चुनौती, कुलप्रतिष्ठा, पारिवारिक कल्याण आदि। यी पत्रहरू विराट (नगर), दमक, कीर्तिपुर, धनकुटा र हैदरावाद (भारत) बाट लेखिएका हुन्। पहिलो पत्रको मिति विक्रम सम्बत् २०३१ असार २५ रहेको छ। र अन्तिम पत्रको मिति २०४२ श्रावण २३ रहेको छ।
८. चिठीपत्र र काव्यिक विमर्श : सिंहावलोकन
पाश्चात्य साहित्यिक जगत्मा लेखक कलाकारले पत्रमार्फत साहित्यिक एवं समालोचकीय चिन्तन अभिव्यक्त गरेको पाइन्छ। उदाहरणको लागि अङ्ग्रेजी साहित्यका स्वच्छन्दतावादी कवि जोन कीट्स (१७९५–१९२१) ले डिसेम्बर २१, १८१७ मा जर्ज कीट्स तथा थोमस कीट्सलाई लेखेको पत्रमा नकारात्मक क्षमता (नेगेटिव् क्यापेबिलिटी) को चर्चा गरेका छन्।
त्यसैगरी जोन टेलरलाई फेब्रुअरी २७, १८१८ मा लेखेको पत्रमा स्वच्छन्दतावादी कविता कस्तो हुनुपर्छ भनी बताएका छन्— “एउटा रुखमा पात पलाएजसरी कविता आउँदैन भने त्यो कहिल्यै नआए राम्रो।”
जर्मनीका नाटककार, कवि, दार्शनिक एवम् इतिहासकार फ्रेडरिक भन शिलर (१७५९–१८०५) ले— “मानवलाई सौन्दर्यात्मक शिक्षाबारे चिठी पत्र” मा सौन्दर्यवादी शिक्षाले मानिसलाई राजनैतिक एवं नैतिक सच्चरित्र हासिल गर्न मद्दत पुर्याउने अवधारणा उपर विशद चर्चा गरेका छन्। अङ्ग्रेज उपन्यासकार स्यामुअल रिचार्डसन (१६८९– १७६१) ले लेखेको प्रथम आधुनिक उपन्यास पामेला (१७४०) नै सेविका छोरी पामेलाले आफ्ना बुबालाई लेखेका काल्पनिक पत्रको सँगालो हो।
डच कलाकार भिन्सेन्ट भ्यान गग (१८५३–१८९०) ले ८०० भन्दा बढी चिठी लेखे, अधिकांश चिठी आफ्ना भाइ थियो लाई लेख्दै चित्रकारिता कस्तो हुनुपर्छ भन्ने बारेमा विशद चर्चा गरेका छन्।
“पिताका पत्र पुत्रीलाई” (१९१९) मा भारतीय प्रधानमन्त्री पण्डित जवाहारलाल नेहरुले आफू भारतको अलाहाबादमा रहेका बखत मुसुरीमा रहेकी आफ्नी १० वर्षे इन्दिरा छोरीलाई लेखेका पत्रमा प्रकृति र मानव सभ्यताको इतिहासको बारेमा चर्चा गरेका छन्।
जोसेफ किजले— “लेटर्स टु माई ब्रदर”मा (१९९८) मा आफ्ना भाइ मान्के किजलाई सम्बोधन गरी लेखिएका चिठीपत्रको सङ्ग्रहमा उनले राजनीति, कला, साहित्य, प्रेम र ऐकान्तिकताका बारेमा चर्चा गरेका छन्।
नेपाली साहित्यमा हृदयचन्द्र सिं प्रधानको भूस्वर्ग, लैनसिंह बाङ्देलको युरोपको चिठी, श्यामप्रसादको बहिनीलाई चिठी, डिल्लीराम तिम्सिनाको बनारसको चिठी, सन्ध्या रेग्मीको बचेरालाई आहारा, डा. तुलसी भट्टराईको चिठीपत्र, लक्ष्मण गाम्नागेको चिठी पत्र पत्र साहित्यका उत्कृष्ट नमुना हुन्। यसै सिलसिलामा प्रा. डा. गोविन्दराज भट्टराईको गोविन्दराज भट्टराईका चिठी–पत्र, पत्र साहित्यको अर्को नवीनतम सङ्ग्रह हो । यसमा लेखकले उल्लेख गरेको साहित्य विमर्श यस्तो छ—
भाषाविज्ञानले आफूलाई साहित्यसँग तुरुन्त डुब्न लगाउँछ। (पृ. २५)
मैले थाहा पाएँ प्रसिद्धि हतारियो भने उड्ने रहेछ। (पृ. २६)
आफ्नो (साहित्यिक) कार्यलाई आफैँ मूल्याङ्कन नहुनेरहेछ। बजारमा आएपछि किताबको आफ्नो स्तर आफैँ कायम गर्ने रहेछ। (पृ. ३६)
ऊ पनि मान्छे हो (उपन्यास) ल्याएकै साँझ पढी सकेँ… शैली र कताकति चुर्लुप्पै डुबाई कतै जँघार उतार्ने यथार्थिक विषाद प्रबल तृष्णा, आशा निराशाको हनाइ र तनाइले मर्माहत तुल्याउँछ (पृ. ६६)
दाजुको कथा पढ़ें। साँच्चै एउटा स्वस्थ पाठकको हृदयले बोल्दा हुँदी आजसम्मका रचनामा यो नै सर्वोत्कृष्ट लाग्यो। भाषा अर्कै… कथा… विषय र… यतिमात्र जीवन्त औ हृदयस्पर्शी रहेछ, मैले उदेक मानेको छु। (पृ. ६८)
कृतित्व सङ्ख्यामा भर छैन, गुणमा नै आखिर गहिराइ हुन्छ। (पृ. ७१)
९. स्वदेश एवं विश्व परिवेश
साहित्यिक कृतिलाई समाजशास्त्रीय दृष्टिकोणले विश्लेषण र मूल्याङ्कन गर्नुपर्छ भन्ने फ्रान्सेली इतिहासविद्, दार्शनिक एवं समालोचक हिप्पोलाइट टेन (१८२८ – १८९३ इ.) ले— जाति, परिवेश र क्षण” सिद्धान्त अगाडि सार्दै भन्छन्– साहित्यको विकासमा लेखकको वंशाणुगत गुण तथा जातिगत स्वभाव, लेखकको समग्र परिवेश, भौतिक वातावरण, राजनैतिक संस्था तथा सामाजिक परिस्थिति अनि ऐतिहासिक चेतनाले प्रभाव पार्दछन्। उक्त मान्यता बमोजिम यस पत्र–सङ्ग्रह लेखिँदाको बखतको राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय परिवेश निम्न सन्दर्भले पुष्टि गर्दछन्—
२४ गते (मङ्सिर २०३६) चुनाव छ युनियनको । हारजित जे भएपनि राजनैतिक अभ्यासको राम्रो अवसर छरियो विद्यार्थी जगत्मा। (पृ. ५४)
आजदेखि (२०३७ वैशाख २७) मतगणना सुरु हुने कुरो छ। हाम्रो जिल्लामा पनि दुवैपक्षका सात-सात प्रतिनिधि चुनिए। त्यसमा पूर्णानन्द शर्मा, सि.के. प्रसाईँ, कुमार बुढाथोकी न्यायाधीश आदि रहने कुरा छ। (पृ.६३)
हरिलालले कमल दाइलाई डस्यो। पृ. ६९)
श्रीमती इन्दिरा गान्धीको हिजो (१५ कार्तिक २०४१) भएको असामयिक र अप्रत्याशित निधनको दुःखद समाचार आज सुनियो। (पृ. १०४)
कहाँको निक्सनको वाटरगेट काण्ड, कहाँको फ्रेञ्च नव नियुक्त राष्ट्रपति, कहाँको अरब–इजरायल, कहाँको रेलको हडताल र यसको अन्त औ भारतीय आणविक परीक्षण (पृ. १०७)
उपर्युक्त घटना विशेषले यी पत्र–लेखनको कालावधिको राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेशलाई उजागर गर्दछन्। नेपालको राजनैतिक परिवर्तनमा युवा विद्यार्थीको भूमिका; बि.सं. २०३७ को जनमत सङ्ग्रह: भारतमा तत्कालीन प्रधानमन्त्री श्रीमती इन्दिरा गान्धीको उनकै अङ्गरक्षकद्वारा सन् १९८४ मा हत्या; अमेरिकाका ३७ औँ राष्ट्रपति रिचार्ड निक्सन (१९१३–१९९४ इ.) को दोस्रो कार्यकालमा उनका समर्थकहरूले प्रतिपक्षी दल डेमोक्रेटिक नेशनल कमिटीको कार्यालयमा जासुसी गरेको आरोपमा राष्ट्रपतिले १९७४ मा (राजीनामा दिनुपरेको स्थिति, वाटर गरे काण्ड, तत्कालीन समयमा निर्वाचित फ्रान्सका बिसौँ राष्ट्रपति भ्यालेरी गिस्काईको विजय (१९७४इ.) मा भएको अरब – इजरायल बीच १९७४ इ. मा भएको शान्ति सम्झौता ; भारतीय रेलवेका १७ लाख मजदुरले दैनिक ८ घण्टामात्र काम माग राखेर १९७४ इ. मा गरेको बीस दिने आम हडताल र त्यसपछि लागेको सङ्कटकाल अनि भारतले पहिलो पटक १९७४ इ. मै गरेको गोप्य आणविक परीक्षण तत्कालीन समयका घटना क्रम हुन्। यिनले लेखकमा अवश्य पनि प्रभाव पारेको हुनुपर्छ।
१०. हास्यभाव
हास्यव्यङ्ग्य साहित्यको मीठो अचार हो भनिन्छ। यस सङ्ग्रहका चिठी–पत्रलाई पठनीय र मननीय बनाउने तत्त्व तिनमा रहेको हास्यभाव (र कतै व्यङ्ग्य पनि) हो। पत्र लेखनमा सोझो वर्णन मात्र छैन। यिनमा समेटिएका कतिपय कुरा साङ्केतिक भाषा र लाक्षणिक अर्थमा लेखिएका छन्। तिनमा प्रयुक्त कोडलाई डि–कोड गर्न (अर्थ खोज्न) पाठकले निकैबेर घोत्लिन पर्ने देखिन्छ। यी पङ्क्ति हेरौँ—
सरसर्ती एकपल्ट पत्र पढ़ें, बाहिरी बोक्रोमात्र बुझेँ। (पृ.१)
यथाशीघ्र सानो काव्य र उपन्यासचाहिँ प्रकाशमा ल्याइहाल्न पाए यो गोविन्द भन्ने चराको नाम २÷४ जनालाई सुनाउनु त हो उद्देश्य भनेको। (पृ.३)
साथीभाइ यति आउँछन् कि, के भनूँ… काम खेती त गोली मारियो। (पृ. २३)
१२–१५ सौले पुग्छ ८०–९० पेजको छापौँ भनेर सबलाई प्रायः उल्क्याइसकें। (पृ. २७)
दाइ कमललाई भूत खेल्न लगाएकै छु आजसम्म। (पृ.३४)
पर्सि बिहीबारदेखि वैशाख १०/११ सम्मलाई काठमाडौँ गै एवम्. ए. लाई चिरिप्प पार्ने सुरं छ। (पृ.४६)
भदौको भेल पर्यो। धानको टुमटुम। (पृ.४७)
मानिसको कानमा मन्त्र फुकेको भरमा राम्ररी पेटपाला चल्दैछ। (पृ.५१)
उपसंहार
कम्प्युटर वैज्ञानिकहरूले सन् १९६५ देखि २०२४ (वि.सं. २०२१ देखि २०८१) सम्मको अवधिलाई ४ खण्डमा विभाजन गरेका छन् जेनेरेसन ‘एक्स’ (१९६५–१९७९ इ.), जेनेरेसन ‘वाई’ (१९८०–१८८४ इ.), जेनेरेसन ‘जेड’ (१९९५–२००९ इ.) र जेनेरेसन ‘अल्फा’ (२०१०–२०२४ इ.) यहाँ जेनेरेसन ‘अल्फा’ को अर्थ इ.स. २०१० पछि जन्मेका युवा पिँढी भन्ने बुझिन्छ । इ.सं. २०२५ जनवरी १ बाट जेनेरेसन ‘बिटा’ सुरु भैसकेको विगतको साहित्य नियाल्दा कस्तो देखिएला ? त्यसको उत्तर यिनै पत्रहरूले दिनेछन्।
बेलायतका प्रसिद्ध चिकित्सा शास्त्री ओलिभर स्याक्स (१९३३ – २०१५ इ.) ले आफ्नो ‘अन् लाइब्रेरिज’ शीर्षक निबन्धमा सन् १९९० को दशकलाई विगत र वर्तमानको विभाजक दशक मानेका छन्। शिक्षा क्षेत्रमा यही दशकमा कम्युटरले प्रवेश पाएको हो। १९९० को दशकभन्दा पहिलेको छापा–ज्ञान र १९९० को दशकभन्दा पहिलेको डिजिटल ज्ञान भनी वर्गीकरण पनि उनैले गरेका छन्। तर पुस्तकालयको दराजमा सङ्कलित पुस्तकहरू हटाएर ई–लाइब्रेरी भित्र्याउनुमा ठूलो भूल भएको छ भन्ने उनको तर्क छ। उनले भनेअनुसार मुद्रित पुस्तकका ठेली हटाउने कार्य युगौंदेखिको ज्ञान भण्डार को विनाश हो। किनकि पुस्तक हातमा लिएर सुमसुम्याउँदा, नयाँ पुस्तक हातमा लिएर सुँघ्दा, पाना पल्टाउँदा, कभर पेजको अगाडि र पछाडि नियाल्दा अनि पङ्क्तिपिच्छे घोत्लिँदा जुन आनन्द आउँछ, ई–बुक पढ्दा केही पनि पाइँदैन। सुक्खा, निरस, पट्यारलाग्दो भाव पैदा हुन्छ। तसर्थ मुद्रित पाठ्यसामग्रीको महत्त्व अवर्णनीय भएकोले तिनको संरक्षण यथारुपमा गरिनुपर्छ भन्ने उनको तर्क छ।
सत्रौँ शताब्दीका अङ्ग्रेज लेखक स्यामुअल पिप्स् (१६३३– १७०३ इ.) को एक दशक लामो डायरी लेखनलाई अङ्ग्रेजी साहित्यले तत्कालीन समाजको दर्पणका रूपमा सुरक्षित राखेको छ। आदरणीय गुरुवर प्रा.डा. गोविन्दराज भट्टराईकृत यो पत्र–सङ्ग्रह पनि नेपाली साहित्यको अनमोल निधि हो। भावी पुस्ताले विगतको नेपाल र नेपाली समाज, पठन संस्कृति र सङ्ग्रहका लेखकको समग्र व्यक्तित्व विकासको झलक यिनै पत्रमा भेट्नेछु। जेनेरेसन ‘बिटा’ का निम्ति यो चिठी–पत्र सङ्ग्रह अनमोल रत्न एवम् प्रेरणाको स्रोत बन्न जानेछ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.