"/>
काठमाडौँ : अमेरिकी सहयोगमा सञ्चालित लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय (एलजीबीटीआई)को मानवअधिकार र स्वास्थ्य क्षेत्रमा सञ्चालित कार्यक्रम बन्द हुने देखिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको अनुदान निलम्बनले समलिङ्गी, तेस्रोलिंगीका सञ्चालित एचआइभी एड्स रोकथाम र उपचार सेवा प्रभावित हुनेछन्।
ट्रम्प प्रशासनले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)मार्फत सञ्चालित स्वास्थ्य, शिक्षा, कृषि र समावेशी नीति जस्ता कार्यक्रममा दिँदै आएको सहयोग बन्द गर्ने घोषणासँगै एलजीबीटीआई समुदायको मानवअधिकार र स्वास्थ्य क्षेत्रमा सञ्चालित कार्यक्रमलाई असर गर्ने भएको हो।
अमेरिकाबाट प्राप्त अनुदान नेपालमा सुशासन, मानव विकास, विपद् सुरक्षण तथा पूर्वतयारी, पूर्वाधार निर्माण, शिक्षा तथा स्वास्थ्य र जनसङ्ख्या क्षेत्रअन्तर्गत मातृ तथा शिशु स्वास्थ्य र परिवार नियोजन, एचआइभी एड्स, पानी आपूर्ति तथा सरसफाइ, आधारभूत स्वास्थ्यलगायत क्षेत्रमा प्रयोग हुँदै आएको छ।
देशको वित्तीय सुधार, प्रशासन सुधार लगायत कृषि नीति तथा प्रशासन व्यवस्थापनमा अमेरिकी अनुदान रकम खर्च भएको छ। युएसआइडीमार्फत प्रत्यक्षरूपमा दिँदै आएको सहयोग रोकिने अवस्था आएपछि स्वास्थ्य सेवातर्फको मातृशिशु सेवा, परिवार नियोजन सेवा जस्ता नेपालका स्वास्थ्यका कार्यक्रमलाई असर गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
नेपाल सरकारको प्रत्यक्ष सहयोग नपाएका र अमेरिकी सहयोगमा परियोजना सञ्चालन गरिरहेका संस्थालाई ठुलो असर पर्ने संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले बताए। ‘फेमिली हेल्थ इन्टरनेशनलबाट २० २२ वटा शहरमा एचआइभी रोकथाम र उपचारका कार्यक्रमहरू चलिरहेको छ,’पन्तले भने,’ठ्याक्कै रोकियो भने ठुलै असर होल कम्युनिटीलाई पार्छ।’
ट्रम्पको जैविक रूपमा महिला वा पुरुष हुने र त्यो भन्दा बाहिर नमान्ने खालको खतरनाक कार्यकारी आदेशले विश्वभर प्रभाव पार्ने उनले बताए। ‘अमेरिका जस्तो ठुलो देशले त्यस्तो खालको पश्चगामी कदम चल्दा विश्वभरि प्रभाव पर्ने हुन्छ,’उनले भने,’यत्रो लामो समयदेखि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकार स्थापित गर्दै आएको र विभिन्न कालखण्डमा अमेरिकाले अमेरिका र बाहिर पनि सहयोग गरेको अवस्थामा अहिले त्यहीको सरकार नै त्यसको विरुद्धमा लाग्दा धेरै अप्ठ्यारो अवस्था ल्याउँछ। यो चुनौती हो।’
पन्तले एजलीबीटीआईका लागि नेपालको नीति उत्कृष्ट रहेको बताए। ‘नेपालले नीति बनाउँदा, राम्रो छ बाहिरको सिक्ने, नराम्रो छ त्यही आधारमा जानु पर्छ भन्ने छैन,’उनले भने,’हाम्रो आफ्नो पोलिसी बनाउनु पर्छ।’
अमेरिकी दूतावास र युएसआइडीबाट एलजीबीटीआई अधिकारका लागि भएको सहयोग रोकिन सक्ने उनले बताए। एलजीबीटीआई अधिकारका लागि समर्थन गर्न आएको सहयोग फिर्ता गरेर विरुद्धमा दिने सक्ने उनले उल्लेख गरे। चर्चहरू, मेशिनरीहरुद्धारा एलजीबीटीआई विरुद्धमा सहयोग आउन सक्ने उनले सुनाए।
राष्ट्रपति ट्रम्पको दुईलिंगीबादलाई समर्थन गर्न लिङ्ग परिवर्तनका लागि मेशीनरीहरुमा सहयोग हुन सक्ने आशङ्का समेत छ। नेपालमा हर्मोन क्लिनिक मार्फत छोरा जन्मिएकालाई महिला र छोरी जन्मिएकालाई पुरुष बनाउने काम चलिरहेको छ।
एलजीबीटीआईको सहयोग झिकेर विरोधमा आउन सक्ने सम्भावना हुने पन्तले बताए। ‘जैविक आधारमा छोरी जन्मेको महिला र छोरा जन्मेको पुरुष नै हुनुपर्ने दुईलिंगी वादलाई मान्यता दिएको छ, त्यसको घोर भर्त्सना गर्नुपर्छ,’पन्तले भने,’हाम्रो पुरानो कल्चरलाई अवमूल्यन गरेको हो। त्यसले पितृसत्तालाई सपोर्ट गर्छ।’
नेपालसहित थुप्रै देशहरूमा पाँच छ वटा जेण्डर पहिला देखि नै रहेको पन्तले बताए। ‘यसलाई अमेरिकाले अवहेलना गरेको हो। त्यो खेदपूर्ण छ र त्यसको भर्त्सना गर्छौ,’उनले भने,’लैङ्गिक विविधता छ हाम्रो देशमा र थुप्रै आदिवासी समाजहरूमा,उनले भने,अमेरिकी राष्ट्रपतिले भन्दैमा यो मेटिदा पनि मेटिँदैन र हाम्रो संस्कृति सकिदा पनि सकिँदैन।’
उनले नेपालमा ननबाइनरी भनेर तेस्रोलिंगीलाई स्वीकार गरिएको उल्लेख गरे। ‘यौनाङ्ग परिवर्तन गरेर मेल, फिमेल र फिमेल, मेल हुने होइन। तेस्रोलिंगी पहिचान दिइसकेको छ। त्यसबाट ब्याक हुँदैन नेपाल,’उनले भने,’जुन खालको सपोर्टका लागि फन्डिङ्ग थियो, त्यो अर्को च्यानलबाट त्यसको विरोधका लागि नेपालमा आउन सक्छ। त्यो चाहिँ खतराको विषय हुन्छ।’
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.