राष्ट्रपति पौडेलले भने,‘म ताक्छु मुढो बन्चरो ताक्छ घुँडो’ भने जस्तो गाउँ रित्तिए

राष्ट्रपति पौडेलले भने,‘म ताक्छु मुढो बन्चरो ताक्छ घुँडो’ भने जस्तो गाउँ रित्तिए

लमजुङ : राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको शक्तिको रूपमा रहेको श्रमशक्ति नै रित्तिएर राष्ट्रिय सङ्कट आउन सक्ने बताएका छन्। यसबाट जोगाउन गाउँमै आम्दानी र रोजगारीको व्यवस्था पहिलो आवश्यकता भएको उनले बताए।

लमजुङ सोतीपसलस्थित मङ्गला उच्च माविको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गाउँ गाउँको माटोमा कृषि क्रान्ति गरी कृषि पेसालाई थोरै मेहनत र श्रम खर्च गरेर बढी आम्दानी दिने सुखी पेसामा रूपान्तरण गर्नुपर्ने बताए।

कृषिजन्य उद्योग र नयाँ नयाँ उद्योग धन्दा गाउँगाउँमा खोल्ने प्रबन्ध गरी नेपालको वास्तविकतामा आधारित औद्योगिक क्रान्तिको युग ल्याउनुपर्नेमा उनले जोड दिए। राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तन पछि आर्थिक विकास र समृद्धितर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए।

गुणस्तरीय शिक्षा नै नागरिक एवम् देश विकासको जग र आधार भएको उनले उल्लेख गरे। ‘राजनीतिक परिवर्तन पछि हाम्रो ध्यान आर्थिक विकास र समृद्धितर्फ केन्द्रित हुनुपर्दछ। गुणस्तरीय शिक्षा नै नागरिक एवम् देश विकासको जग र आधार हो,’राष्ट्रपति पौडेलले भने,‘तर आज ‘म ताक्छु मुढो बन्चरो ताक्छ घुँडो’ भने जस्तो जतिजति गाउँमा विकासका पूर्वाधार र आधुनिक सुविधा थपिदैछन् त्यति त्यति गाउँ रित्तिदैछन्। शिक्षण संस्थामा विद्यार्थी सङ्ख्या बढ्नुको साटो घट्दो छ। ऊर्जाशील श्रमशक्ति रोजगारीको लागि बिदेसिएको छ। उर्वर, उत्पादनशील र मनोरम गाउँवस्ती बाँझो बन्दै रित्तिएको छ। पछिल्लो समय गाउँबाट सहर र सहरबाट बिदेसिने शृङ्खला अटुट छ।’

राष्ट्रपति पौडेलले कृषि क्रान्तिका लागि शिक्षालाई उद्यमशीलतासित जोड्नुपर्ने बताए। अलिकति अठोट गर्ने हो भने त्यो सम्भावना र हाम्रो जीवन यही प्रकृतिमा सुखी र खुसी हुन सक्ने उनले सुनाए। ‘गाउँमा जुन सुविधा पुगेको छ त्योसँगै आम्दानी र रोजगारी कसरी पुर्‍याउने? आजको यक्ष प्रश्न नै यही हो,’उनले भने,‘यसका लागि कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण गरी औद्योगिकीकरण तर्फ फड्को मार्नुको विकल्प छैन।’

उनले गाउँमा सानाठूला कृषि उद्यमको स्थापना, उत्पादन तथा रोजगारी अभिवृद्धि, कृषि उत्पादनको निर्यात अनि कृषिमा आत्मनिर्भर बन्ने राष्ट्रिय अठोटको अवस्था सृजना गर्नुपर्ने आजको आवश्यकता भएको बताए।

उद्यमशीलतामा आधारित शिक्षा दिएर उद्यमशील जनशक्ति उत्पादन गर्नेतर्फ हाम्रो ध्यान केन्द्रित हुनुपर्ने र नीतिनिर्माता, सरकार र शिक्षण संस्थाको अर्जुनदृष्टि यसैमा केन्द्रित होस् भन्ने आफ्नो चाहना रहेको राष्ट्रपति पौडेलले बताए।

राष्ट्रपति पौडेलले विदेश नगई मातृभूमिको माटोमा कृषि कर्म, उद्यम र व्यवसाय गरी लाखौँ कमाउने गरेका कतिपय दृष्टान्तले आशा र उत्साह जगाउने उल्लेख गरे। वास्तवमा देशको लागि उत्पादनशील जनशक्ति आवश्यक रहेको उनले बताए।

देश विकासको लागि कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण र औद्योगिकीकरण गर्ने खालको शिक्षा नै अहिलेको आवश्यकता भएको उनको भनाई थियो। ‘हिमाल, पहाड र तराईको नेपालको हावा, पानी र माटो अनुपम छ,’उनले भने,‘यसलाई उपयोग गरी मुलुकलाई आर्थिक विकासको क्षेत्रमा कायापलट गर्ने शिक्षा दिन जरुरी छ।’

गाउँबाट अस्थिर भएको मनलाई आधुनिक सेवा र सुविधा पुर्‍याएर गाउँमा नै बसौँ बसौँ बनाउन म राजनीतिमा लागेको हुँ भनेर आफूले पहिलोचोटी चुनाव लड्दा २०४८ सालमा वरभञ्ज्याङको डाँडोमा उभिएर भनेको स्मरण गर्दै उनले भने,‘त्यसपछि गाउँमा बिजुली, पानी, बाटो, शिक्षा, स्वास्थ्यजस्ता आधुनिक सुविधासम्पन्न पूर्वाधार विकास गर्ने गरी ग्रामीण स्वावलम्बनको कार्यक्रम सुरु गरियो। त्यसयताको अवधिलाई फर्केर हेर्दा गाउँमा आधारभूत सुविधाको प्रबन्ध पनि भयो। गाउँको जीवन फेरियो। उत्पादन बजारमा लैजाने अवस्था पनि बन्यो। तर, सुविधा पुगेर पनि आज गाउँ रित्तिने जुन दुःखद परिस्थिति देखापरिरहेछ यसलाई सामान्य रूपमा हेर्नुहुन्न। यही अवस्था विद्यमान रहनु मुलुकको लागि चिन्ताको विषय हो।’

राष्ट्रपति पौडेलले आफू जन्मे हुर्किएको नेपालको मध्यभागमा अवस्थित यो सुरम्य रिस्ति उपत्यकामा उभिँदा भावुक भएको बताउँदै बाहुनपोखराको एउटा किसानको छोरो आफ्नो लोकतान्त्रिक राजनीतिक निष्ठा, सिद्धान्त र आदर्शबाट कत्तिपनि विचलित नभई जेलनेल, सङ्घर्ष र यातनाको रत्तीभर पर्बाह नगरी आज जुन ठाउँमा पुगेको छु त्यसमा यही माटो, हावापानी र साथीसंगतको ठुलो योगदान भएको बताए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.