काठमाडौं : ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण स्थगित भएको छ। सरकार र केबलकार विरुद्ध आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएसँगै निर्माणको काम स्थगित भएको हो।
मङ्गलवार बिहान ११ बजेदेखि बसेको वार्तामा करिब राति ११ बजेमात्रै सहमति भएको हो। सहमतिअनुसार मुक्कुमलुङ संरक्षक पक्षले अनिश्चितकालीन यातायात बन्द फिर्ता लिएको छ।
सरकारले घोषणा गरे बमोजिम आन्दोलनका क्रममा घाइते भएकाको निःशुल्क र प्रभावकारी रूपमा स्वास्थ्य उपचार गर्ने, माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने सहमति भएको छ।
आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरूको विना सर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने सहमति भएको हो।
मुक्कुमलुङ संरक्षक पक्षधरबाट वार्ताका दौरानमा माग भएका पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमतिलगायतका विषयका सम्बन्धमा विस्तृत छलफल गर्न माघ २७ गते बिहान ११ः०० बजे वार्ता गर्ने सहमति भएको गृह मन्त्रालयले जानकारी दिएको छ।
गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा गठित सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबाट प्राज्ञ तुम्याहाङको संयोजकत्वमा बनेको वार्ता सहजीकरण समितिबिच दुई दिन वार्ता भएपछि सहमतिमा पुगेको हो।
सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई र आन्दोलनरतपक्षका तर्फबाट वार्ता सहजीकरण समितिकी सरस्वती सिंगकले हस्ताक्षर गरेका छन्।
केबलकार निर्माणको विवाद चलिरहँदा सामाजिक सञ्जालमा विकास निर्माण विरोधी क्रियाकलाप रोकिनु पर्ने मत सार्वजनिक भएका छन्। नेपालको विद्यार्थी आन्दोलन अखिल (छैठौं)को इतिहास पुस्तकका लेखक विमल पोखरेलले चमत्कार गर्नेहरूको नाम नै उल्लेख गरेर आफ्नो विचार सार्वजनिक गरेका छन्। जुन अधिकांशले मन पराएका छन्।
मनकामना केबलकारका मालिक राजेशबाबु श्रेष्ठले केबलकार यस्तो हुन्छ भन्ने नेपालमा पहिलोपटक देखाए। त्यतिबेला त्यो भयङ्कर क्रान्ति थियो। सन्दुक रुइतले सस्तैमा आँखाका लेन्स बनाएर संसारमा पठाउँदै थिए। आइएमइका सञ्चालक चन्द्र ढकालले खाडीदेखि युरोप, अमेरिकाबाट नेपालीले कमाएको पैसा ५ मिनेटमा गाउँ-गाउँमा पुर्याइदिए। अरबको पैसा ५ मिनेटमा गाउँमा पुग्नु भयङ्कर क्रान्ति थियो। विश्वास ढकाल र उनको समूहले इसेवामार्फत् डिजिटल भुक्तानी प्रणाली ल्याएर चमत्कार गरिदिए। खासमा यिनीहरू हुन् देश बनाउने दिमाग।
अहिले देश बनाउने दिमागलाई छि-छि र दूर-दूर गरेर सामाजिक सञ्जाल तताइएको छ। मर्मत केन्द्र खोलेर हल्ला गर्दै हिँडेको व्यक्तिलाई वैज्ञानिक भन्छ समाज। कलाकारिता डुबेपछि रङ्गशाला बनाउने भन्दै पैसा उठाउँदै ज्यान पाल्ने ज्यान पालाहरू र भ्रष्टलाई आदर्श मान्छ समाज। गरिबले सहकारीमा राखेको पैसा लुट्ने कुख्यात लुटेरालाई आदर्श मान्छ समाज।
जतिबेला राजनीतिका पार्टीका नेताकार्यकर्ता, सरकारी कर्मचारी, सेना प्रहरीका कमान्डरहरू भट्टीमा बसेर जाँड खाइरहेका थिए, त्यतिबेला सन्दुक रुइत, राजेशबाबु श्रेष्ठ, चन्द्र ढकाल र विश्वास ढकालहरू देश बनाउने अभियानमा थिए। भट्टीमा जाँड खाएर वाक्दै,भोलिपल्ट त्यही थुतुनो लगेर मन्दिर धाउँदैमा, सामाजिक सञ्जालमा गाली गर्दैमा देशको विकास हुँदैन। त्यसैले मैले भन्दै आएको छु, आइएमई, इसेवा, लेन्स र केबलकार जिन्दाबाद!
सरकार र आन्दोलनरत पक्षबीच भएको सहमतिलाई कोशी प्रदेशका उद्योगी व्यवसायीले स्वागत गरेका छन्। नेपाल उद्योग वाणिज्य सङ्घ पाँचथरका अध्यक्ष नवराज घिमिरेले निर्माण तत्कालका लागि स्थगित भए पनि सहमति अनुसार काम सुरु हुने विश्वास व्यक्त गरे।
उनले कोशी प्रदेशमा ऊर्जा र पर्यटनमा निजी क्षेत्रको लगानी रहेको बताए। लगानीको सुरक्षाका लागि सरकारले समयमै चासो नदिँदा बेलाबेलामा विवाद आउने गरेको उनले बताए।
सुनौँ अध्यक्ष घिमिरेसँगको कुराकानी
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.