काठमाडौँ : अमेरिकी सहायता निलम्बनले स्वास्थ्य, आर्थिक स्थायित्व र मानवअधिकारका लागि गहिरो चुनौती प्रस्तुत गरेको छ। अमेरिकी सहायतामा निर्भर लाखौँ अत्यावश्यक सेवाहरूमा तत्काल अवरोध निम्त्याएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले सैन्य सहायतालाई रोकेको छैन। तर, धेरै मानवीय कार्यक्रमहरूले त्यो सहुलियत गुमाएका छन्।
सहायता बन्द हुँदा विशेष गरी एसियामा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक जनसङ्ख्या लगायत सीमान्तकृत समुदायहरूलाई असर पर्ने देखिएको छ। ५० भन्दा बढी देशहरूका क्लिनिकहरूलाई एचआइभी औषधिहरू वितरण बन्द गर्न निर्देशन दिइएको छ। जसले गर्दा अपोइन्मेन्टहरु रद्द गरिएको छ। परीक्षण र रोकथाम प्रयासहरू रोकिएको छ।
विदेशी सहायता अमेरिकी रणनीतिक स्वार्थसँग मिल्दोजुल्दो छ भनेर सुनिश्चित गर्नु हो। आलोचकहरूले सहायता रोकिदा विश्वव्यापी रूपमा अमेरिकी प्रभावलाई कमजोर पार्न सक्ने तर्क गरेका छन्। आर्थिक प्रगति र स्थिरता प्रवर्द्धन गर्ने प्रयासहरूलाई बाधा पुर्याउन सक्ने भनेका छन्।
कमजोर जनसङ्ख्याका लागि गम्भीर परिणामहरू निम्त्याउन सक्ने एसियाकै पहिलो समलिङ्गी सभासद् सुनिलबाबु पन्तले पत्रकार सम्मेलन गरेर बताएका छन्।
ट्रम्पको घोषणाले समलिङ्गी तेस्रोलिंगीलाई सङ्कट
समलिङ्गी, तेस्रोलिंगी, दुईलिंगी, अन्तरलिंगीहरुको अन्तर्राष्ट्रिय सङ्घ (इल्गा) एसियाले सहायता निलम्बनको परिणामहरू विनाशकारी रहेको बताएको छ।
इल्गा एसियाका अनुसार सहायता निलम्बनले ५० भन्दा बढी देशहरूमा जीवन बचाउने उपचार र रोकथाम कार्यक्रमका क्लिनिकहरू सञ्चालन बन्द भएका छन्। यसले उच्च सङ्क्रमण दर र आवश्यक स्वास्थ्य सेवामा पहुँच कम हुने समुदाय व्यापी जोखिमहरू पनि बढाएको छ।
अमेरिकी विदेशी सहायताले विस्थापनको सामना गर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक वकालत, कानुनी सहायता, र आपतकालिन कार्यक्रमहरूलाई जोखिममा पारेको भनिएको छ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरूलाई भेदभाव, हिंसा र प्रणालीगत सीमान्तीकरणमा अझ बढी जोखिममा पार्ने इल्गा एसियाले उल्लेख गरेको छ। ‘वैदेशिक सहायतालाई राष्ट्रिय स्वार्थसँग मिलाउने नियत बुझ्न सकिने भए पनि आकस्मिक निलम्बन गर्ने विधि लापरवाह र खतरनाक दुवै छ,’इल्गा एसियाले भनेको छ,’यो विश्वव्यापी रूपमा सीमान्तकृत समुदायहरूको अस्तित्व र मर्यादामा प्रत्यक्ष आक्रमण हो, यो स्वास्थ्य र मानवअधिकारको लागि विश्वव्यापी प्रतिवद्धताहरुको विश्वासघात हो।’
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरू सङ्कटमा परेकै बेला अनुमानित एक मिलियन अमेरिकी डलर (१३ करोड भन्दा बढी नेपाली रुपैयाँ) खर्च गरेर इल्गा एसियाले अन्तर्राष्ट्रिय सम्मेलन गर्दैछ।
सम्मेलन फेब्रुअरी २४ देखि २८ (फागुन १२ देखि १६ गते) सम्म काठमाडौँमा हुँदैछ। काठमाडौँको स्टार होटेलमा हुने १० औँ अन्तर्राष्ट्रिय इल्गा एसिया सम्मेलनको नारा विविधता गतिशीलता: न्यायसंगत, समावेशी, र दिगो एशियाको लागि एकता राखिएको छ। यो घोषणा अमेरिकी सहयोग बन्द हुनु अगाडि नै गरिएको थियो।
सम्मेलनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक मानिसहरूलाई प्रभाव पार्ने सामाजिक र मानवीय द्वन्द्व, एसियाभरि वैवाहिक समानता आन्दोलनमा परेका उतारचढाव र अवरोधहरू, मानवअधिकारका लागि आवश्यक अन्तरक्रियात्मक वकालत जस्ता एजेन्डा राखिएको इल्गा एसियाले आफ्नो वेबसाइटमा राखेको छ।
नेपालका अधिकांश यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले भने सम्मेलनबारे जानकारी नभएको बताएका छन्। समर्पण सभ्य समाज नेपालले आफूहरूलाई सम्मेलनबारे जानकारी नभएको बताएको छ।
संस्थाका सचिव हनि महर्जनले सम्मेलनमा सहभागी हुने निम्तो नआएको बताए। हनिले गत मङ्सिरमा भएको स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयर पदमा तेस्रोलिंगी पहिचान खुलाएर उम्मेदवारी दिएका थिए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.