नयाँ गभर्नरका आकाङ्क्षीहरू शक्तिकेन्द्र धाउन सुरु

नयाँ गभर्नरका आकाङ्क्षीहरू शक्तिकेन्द्र धाउन सुरु

534
SHARES

काठमाडौं : नेपाल राष्ट्र बैङ्कको नयाँ गभर्नरका लागि शक्तिकेन्द्र धाउने क्रम सुरु भएको छ। वर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिन लागे लगत्तै आकाङ्क्षीहरूको शक्ति केन्द्र धाउने क्रम सुरु भएको हो।

अधिकारीको ५ वर्षे कार्यकाल २५ चैतमा सकिदैछ। उनी एम अधिकारीको उपमा पाएर बाहिरिँदै छन्।

नयाँ गभर्नर नियुक्तिका लागि नाम सिफारिस गर्न सरकारले केही दिनमै अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने तयारी गरेको छ।

समितिले आर्थिक, मौद्रिक, बैङ्किङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुनका लब्धप्रतिष्ठित व्यक्तिहरू तथा डेपुटी गभर्नरहरूमध्ये तीन जनाको नाम सिफारिस गर्नेछ।समितिले सिफारिस गरेका नाममध्ये एक जनालाई मन्त्रिपरिषद्ले नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्ति गर्नेछ।

गभर्नर अधिकारीको कार्यकाल सकिन एक महिना बाँकी रहँदै आकाङ्क्षीहरू भने शक्तिकेन्द्र धाउन थालेका हुन्।

नेपाल राष्ट्र बैङ्कको डेपुटी गभर्नर डा. निलम ढुङ्गाना तिम्सिना नेपालको पहिलो महिला गभर्नर बन्ने दौडमा छिन्। सत्तारुढ नेकपा एमालेसँग नजिक र सत्ता साझेदार नेपाली काँग्रेसले पनि आपत्ति नजनाउने सङ्केत गरेका कारण पहिलो महिला गभर्नर बन्ने सम्भावना उनले राखेकी छन्।

राजनीतिक ‘माइलेज’ लिन पनि ढुङ्गानालाई पहिलो महिला गभर्नर बनाउन सक्ने सम्भावना देखिएको छ।

नयाँ गभर्नरको दौडमा अर्का डेपुटी गभर्नर बमबहादुर मिश्र, राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाश श्रेष्ठ, राष्ट्र बैङ्ककै कार्यकारी निर्देशक तथा आर्थिक अनुसन्धान विभाग प्रमुख गुणाकर भट्ट, राष्ट्र बैङ्क सञ्चालक सदस्य रवीन्द्र पाण्डे, नेपाल बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष तथा नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गाना र प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन गभर्नर बन्ने दौडमा छन्।

कृषि विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, माछापुच्छ्रे बैङ्कका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स सङ्घका अध्यक्ष सन्तोष कोइराला, राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष विश्व पौडेल, लगानी बोर्डका पूर्वकार्यकारी प्रमुख सुशील भट्ट, पूर्वअर्थसचिव रामेश्वर खनाल, राष्ट्र बैङ्ककै पूर्वकार्यकारी निर्देशक रमण नेपाल तथा पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री पनि नयाँ गभर्नरको आकाङ्क्षीका रूपमा प्रस्तुत भएका छन्।

गभर्नर सत्तारुढ एमाले र काँग्रेसले भागबन्डामा नियुक्ति गर्ने देखेर आकाङ्क्षीहरू शक्तिकेन्द्र धाउन सुरु गरेका छन्। आवरणमा काँग्रेस वा एमालेको भागबन्डा देखिए पनि नियुक्ति दिने स्वार्थ केन्द्रको रोजाइमा जो पर्छ उही १८औँ गभर्नर बन्ने राष्ट्र बैङ्कका कर्मचारीहरू बताउँछन् ।

समाचार शेयर गर्नुहोस्
534
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.