निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

राजावादीहरूको अराजक अभिव्यक्ति, समलिङ्गी तेस्रोलिंगीले जनाए आपत्ति

राजावादीहरूको अराजक अभिव्यक्ति, समलिङ्गी तेस्रोलिंगीले जनाए आपत्ति

413
SHARES

काठमाडौँ : जबरजस्ती विपरितलिंगीसँगको सम्बन्धमा रहेका केही अराजकहरूले समलिङ्गी विवाहको विरोध गरेको पाइएको छ। समलिङ्गी विवाह गर्न नपाएको झोकमा त्यस्ता व्यक्तिहरूले केटाकेटा,केटीकेटीको विवाहलाई हिजडा हिजडाको विवाह भनेर तथानाम गाली गरेको पाइएको हो।

केही व्यक्ति भने समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गर्न दिएको अन्तरिम आदेश खारेज गराउन रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन्।

रिट निवेदकले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक जोडीको विवाह अस्थायी रूपमा दर्ता गर्न दिएको अन्तरिम आदेश खारेज गर्नुपर्ने जिकिर गरेका छन्। संविधान र कानुनमा समलिङ्गी विवाह दर्ता गर्ने व्यवस्था नभएकाले खारेज गर्नु रिट निवेदकले उल्लेख गरेका छन्।

संविधान र कानुनी व्यवस्था नभएकै कारण लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक जोडी सर्वोच्च अदालत पुगेका थिए। १२ असार २०८० मा सर्वोच्चले दिएको अन्तरिम आदेशपछि नेपाल दक्षिण एसियामै समलिङ्गी तेस्रोलिंगी जोडीको विवाह कानुनी रूपमा दर्ता गर्ने पहिलो देश बनेको हो। त्यसयता हालसम्म १३ जोडीले कानुनी रूपमा विवाह दर्ता गराइसकेका छन्।

कानुनी रूपमा विवाह दर्ता गर्न अझै पनि कतिपय स्थानीय तहमा अल्झन र जिल्ला अदालतहरूले अस्वीकार गरिरहँदा विरोध हुन थालेपछि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक आक्रोशित भएका छन्।

सामाजिक सञ्जालमा एसियाकै पहिलो समलिङ्गी सभासद् सुनिलबाबु पन्तले हिजडा-हिजडाको विवाह भनेर अभिव्यक्ति दिनेहरूकै कारण राजसंस्था ढलेको जवाफ दिएका छन्। यस्तै अभिव्यक्तिका कारण पनि राजसंस्था नफर्कने उनले उल्लेख गरेका छन्।

पन्तले जथाभाबी नबोल्न सचेत पनि गराएका छन्। ‘जे पनि बोल्ने? के लैङ्गिक अल्पसङ्ख्यकको सहयोगका लागि आएको पैसाले चलेको देश हो र?,’पन्तले सामाजिक सञ्जालमा लेखेका छन्,’२०-२२ करोड पैसाले देश चल्छ?’

पन्तले देशमा हाबी भएको नेतातन्त्र, दलतन्त्र मन नपरेको लेखेका छन्। ‘तर, राजाको नाममा तिमी जस्ता मूर्खहरू पनि चाहिएको छैन,’पन्तले लेखेका छन्,’राजाको पालामा पनि हामीलाई विभेद नै थियो, अहिले गणतन्त्रमा नि हामीलाई विभेद नै छ। नेताहरूको अकर्मण्यताले हो, तर यो समुदायलाई किन अपमान गर्छौ?’

गणतन्त्र र राजतन्त्र समर्थन गर्ने लैङ्गिक अल्पसङ्ख्यकहरू रहेको उल्लेख गर्दै पन्तले लेखेका छन्,’तपाईँ जस्ता मानिसहरू र तपाईँको लापरवाह बयानका कारण राजतन्त्रलाई समर्थन गर्न सक्दैनौ।’

पन्तले इच्छा विपरीत एक पुरुषलाई अर्को पुरुषसँग र एक महिलालाई अर्को महिलासँग विवाह गर्न बाध्य नपारेको खुलाएका छन्। ‘कसैले पनि कसैलाई उनीहरूको इच्छा विरुद्ध विवाह गर्न बाध्य पारेको छैन। हामीलाई विपरीतलिङ्गी विवाह मन पर्दैन,’उनले लेखेका छन्,’त्यसैगरी तपाईँले हामीलाई तपाईँको जीवनशैली र माया गर्ने तरिका बाध्य पार्न सक्नुहुन्न।’

पन्तको फेसबुकमा पूर्णिमा श्रेष्ठले एउटा मानव भएर अर्को मानवलाई चोट पुग्ने अभिव्यक्ति दिने यस्ता व्यक्तिलाई त्यतिकै छोड्न नहुने लेखेकी छन्। सन्ध्या लामाले,’यो गधाले के बोलेको हो? के छेउ न टुप्पो को कुरा गर्छ? मुला लाटो देशमा गाँडो तन्नेरी भने को यही हो,’लेखेकी छन्।

दक्षिण एसियामा पहिलो समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गर्न सफल जोडी सुरेन्द्र पाण्डेले हिजडा, छक्का भन्ने अपशब्दहरू बोल्नेलाई कानुनी कारबाही हुनुपर्ने बताएका छन्।

उनले समलिङ्गी विवाहको लागि कुन एनजिओले पैसा ल्याएको रहेछ? पत्ता लगाउनु पर्ने लेखेका छन्। ‘त्यो एनजिओले ल्याएको पैसा समलिङ्गी विवाहमा खर्च गरेको छ कि छैन भन्ने कुरा पनि पत्ता लगाउनु पर्‍यो। डोनाल्ड ट्रम्पले गरेको कुरा पनि सही हो। सब लुटेर खाना पल्केका एनजिओ भएपछि यस्तै हुन्छ,’उनले लेखेका छन्।

मायाको पहिचान नेपालका उपाध्यक्ष समेत रहेका समुदाय सुधारका अभियन्ता मधु केसीले कुनै पनि समुदाय, वर्ग,समाज, देश र संसारमा कस्तो किसिमको प्रभाव पर्छ भन्ने कुनै ज्ञात नभएको, अध्ययन अनुसन्धान बिनै गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिने यस्ता व्यक्तिहरूलाई दण्ड सजाय हुनै पर्ने माग गरेका छन्।

समाचार शेयर गर्नुहोस्
413
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.