लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक वैकल्पिक र दिगो रणनीति बनाउने छलफलमा

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक वैकल्पिक र दिगो रणनीति बनाउने छलफलमा

2.7k
SHARES
फायल तस्बिर

काठमाडौँ : नेपालका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले गम्भीर आर्थिक सङ्कटबारे संयुक्त छलफल गर्दैछन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशपछि युएसएडले दिएको सहयोग कटौती गरेपछि हाल नेपालमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अधिकारप्राप्तिको आन्दोलन गम्भीर आर्थिक सङ्कट परेकाले संयुक्त छलफल गर्न लागिएको आयोजक मायाको पहिचान नेपालले जनाएको छ।

विश्वव्यापी आर्थिक मन्दी, अन्य प्राथमिकतामा अन्तर्राष्ट्रिय दाताहरूको ध्यान केन्द्रित हुनु, र भूराजनीतिक परिवर्तनले गर्दा मानव अधिकार र पैरवीका कार्यक्रमहरूका लागि विदेशी सहयोग घट्दै गएको छ। विगतमा अन्तर्राष्ट्रिय सहयोगमा भर परेका संस्थाहरूलाई अहिले आफ्नो काम निरन्तरता दिन कठिनाइ परेको छ।

रूढीवादी विचारधारा, धार्मिक तथा सांस्कृतिक भावना उचालेर गरिने राजनीतिक प्रचारप्रसार, र विश्वव्यापी रूपमा बढ्दै गएको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक विरोधी प्रवृत्तिले नेपालमा नीति कार्यान्वयन ढिलो गराउने र समुदायमा डर सिर्जना गर्ने काम गरिरहेको मायाको पहिचान नेपालले उल्लेख गरेको छ।

यस चुनौतीलाई सामना गर्न, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक आन्दोलनले वैकल्पिक र दिगो रणनीति खोज्नुपर्ने एसियाकै पहिलो समलिङ्गी सभासद् एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले बताए। ‘जसमा समुदाय आधारित परियोजनाहरू, सामाजिक उद्यमहरू, तथा राजनीतिक र कानुनी संलग्नता महत्त्वपूर्ण हुनेछ,’उनले भने,’नेपाल अधिकारका दृष्टिले अन्तर्राष्ट्रिय रूपमा प्रगतिशील देश भनेर चिनिन्छ।’

सन् २००७ मा सर्वोच्च अदालतले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिको अधिकारलाई मान्यता दिने ऐतिहासिक फैसलासँगै केही कानुनी उपलब्धिहरू भए पनि, अझै सामाजिक–आर्थिक बहिष्करण, राजनीतिक उपेक्षा, र बढ्दो द्वेषपूर्ण प्रवृत्तिहरू सामना गरिरहेका पन्तले उल्लेख गरे।

नेपालमा घट्दो अन्तर्राष्ट्रिय वित्तीय सहयोग र बढ्दो विरोधी धारणाबीच लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अधिकारको वर्तमान अवस्थाको मूल्याङ्कन गर्नु छलफलको उद्देश्य रहेको मायाको पहिचान नेपालले जनाएको छ।

सामाजिक उद्यम, सामुदायिक परियोजना, र आर्थिक आत्मनिर्भरता अभिवृद्धि गर्न सक्ने उपायहरूको पहिचान गर्ने, राजनीतिक समावेशिता र कानुनी हस्तक्षेपलाई सशक्त पार्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका अधिकारहरूलाई नीति निर्माणमा प्राथमिकतामा राख्ने रणनीति निर्माण गर्ने छलफलको उद्देश्य रहेको संस्थाले जनाएको छ।

बिहीबार काठमाडौँ अनामनगरमा बिहान १० बजेबाट सुरु हुने छलफल एवं परामर्श बैठकले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक आन्दोलनलाई भविष्यमा दिगो बनाउने मार्गचित्र तयार पार्ने मायाको पहिचान नेपालले जनाएको छ।

मायाको पहिचान नेपालका अनुसार परामर्श बैठकपछि, छलफलका मुख्य बुँदा, सिफारिसहरू, र कार्यान्वयन योजना समेटिएको एक विस्तृत प्रतिवेदन तयार गरी नीति निर्माताहरू, सम्भावित दातृ संस्थाहरू, र अन्य सरोकारवालाहरू समक्ष प्रस्तुत गरिनेछ।

परामर्शको मुख्य लक्ष्य स्रोत परिचालन, पैरवी रणनीति सशक्त पार्ने उपायहरू पहिचान गर्नु, र दिगो आर्थिक मोडेल प्रवर्द्धन गर्नु रहेको पन्तले बताए। जसले नेपालमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अधिकारलाई दीर्घकालीन रूपमा सुरक्षित गर्ने पन्तको भनाई छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.