राजालाई दरबारबाट निकाल्दैमा राजतन्त्र कहाँ हट्छ र? राजा नै हुन चाहे उनी दरबारमा बसुन् या झुपडीमा। जनताले उनलाई पुनः चाहेका छन् र उनी पनि जनभावनालाई कदर गर्न चाहन्छन् भने असम्भव देखिँदैन।
जनताको नासो जनतालाई नै सुम्पिन्छु भनेर नारायणहिटीबाट निर्मलनिवास सरेका राजाले देश छाडेनन्। आज जनता नै उनलाई अभिभावक मान्न चाहन्छन् त कसको के नै लाग्ला र?
किन चाहियो राजा?
जनता वाक्क दिक्क भएर जरैबाट उखेलेकै हुन राजतन्त्र। आज तिनै जनता चरम भ्रष्टाचार, महँगी, बेथिति, कालोबजारी, राजनीतिक अस्थिरता आदिले पटक पटक लाचार हुने गरी कुटिए पछि फालिएको राजतन्त्र नै सही भन्नेमा पुगे र सडकमा पुर्याएको संस्थालाई पुन अभिभावक मान्न चाहन्छन्। जनता जनार्दन जागे पछि कसको के नै लाग्दो रहेछ र?
देशले एक पटक पुनः एउटा असल अभिभावक चैँ खोजेकै हो र खोजिनै रहिरहेको छ। तुरुन्त कायापलट नै हुने खालको कार्यक्रम ल्याउन नसके व्यवस्था नरहने ठुलो खतरा छ। के त्यस्तो कायापलट यो २-३ दिनमा होला त? म त सम्भव देख्दिन। सरकार र पार्टीहरू जहिले काण्डहरूमा रमाउनु, देश र जनतालाई रैती सम्म पनि नगन्ने, आफन्त र कार्यकर्ता भन्दा अन्त नजर नै नजानेसम्म त भएकै थियो। अब त उज्यालोका कुलमान समेतलाई छाडेनन् यिनले।
राजाले किन पार्टी खोल्नु पर्ने?
राजनीतिक दल र सरकार यसबेला आत्तिएका छन्। यिनीहरूसँग देश विकासको न कुनै गुरु योजना छ, न त कार्यक्रम नै। केवल छ त, एकले अर्कालाई गाली, बेइज्जती र समय पायक परेको बेला एक हुने वा सम्बन्ध तोड्ने। यस्ता झल्लु प्रविधिबाट वाक्क छन् जनता। त्यही भएर आज जनताले फालेकै अभिभावक खोजिरहेका छन्। राजाले कुन र किन पार्टी खोल्ने? जनताले सडकमा पुर्याए। अब जनता नै सडकबाट पुन उनलाई खोजिरहेका छन्।
राजाले पार्टी खोल्ने होइन, भल्किएका पार्टीहरूबाट नासिन लागेको देशलाई बचाउनका निम्ति जनताले मागेको हो। जब जनता नै राजा चाहन्छन् त राजाले कसरी नकार्न सक्छन् र? उनी त अभिभावक हुन नि!! यता आस लाग्दा महामन्त्रीहरूको हालत देख्दा त जनता आज नै राजालाई सिंहासनमा विराजमान गराउन चाहन्छन्।
जनमत सङ्ग्रह
न हिजो पार्टीहरूले जनमत सङ्ग्रह गरेर राजा फालेका हुन न आज त्यसको आवश्यकता छ। अब केही नभनी हिँडेका राजा केही नभनी घर(दरबार) फर्केर शान्ति र विकासको काममा लाग्नु पर्छ! जनताले सडकमा पुर्याए। अब जनताले नै सडकबाट टिपेर ल्याउँदै छन्।
अब देश बचाउनकै निम्ति भए पनि नेपाली जनताले एक पटक गलहत्त्याएको संस्थालाई पुनर्स्थापना गर्ने छन् र पुन देशलाई स्वाभिमान बनाएर राजा र जनता मिलेर देश विकासमा लाग्ने छन् नेपाली जनता!!! नेपालको भ्रमण पछि मैले जे मनन गरे त्यही कुरा यहाँ राखे। जय नेपाल!!!
(लेखक सिएम निरौला भुटानी राजनीतिक बन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियानका अमेरिका संयोजक हुन्।)
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.