अराजक दुर्गा प्रसाईँ, कारबाही गर्न साइबर ब्युरोमा उजुरी

अराजक दुर्गा प्रसाईँ, कारबाही गर्न साइबर ब्युरोमा उजुरी

व्यवस्था बदल्ने आन्दोलनमा पत्रकारको हत्या

3.9k
SHARES

काठमाडौँ : ‘केटाले केटासँग र केटीले केटीसँग विवाह गर्ने समलिङ्गी विवाह। अब समलिङ्गी विवाहको हब नेपाल बन्ने। रामजानकी मन्दिर विवाहको मण्डप।’
राजतन्त्र ल्याउने अराजक आन्दोलनको नेतृत्व गरेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँले दिएको अभिव्यक्ति हो यो।

‘केटाले केटी बिहे गर्ने होइन,उल्टो भइसक्यो जमाना। केटीहरूले पनि धेर अधिकार माग्थे कि। अब केटाले भुँडी बोक्दिनुपर्ने, भेटे केटीले।’अराजक चरित्रका प्रसाईँले भुँडी बोक्दिनु पर्नेसम्मको अभिव्यक्ति दिए। ‘भगवानले दिए बोकिदिन्थे (गर्भवती भइदिने) क्या,’प्रसाईँले भने,’म कति जनासँग माया गाँसेर हिँड्थे होला केटी भइदिएदेखि।’

उनले समलिङ्गी विवाहका लागि अमेरिकी सहयोग नियोग युएसएआइडीको पैसा खाएको आरोप पनि लगाए। ‘भन्न पनि अप्ठ्यारो लाग्छ। त्यस्तो पैसा पनि खाएछन्,’उनले भने,’प्रचण्ड, केपी ओली, राजेन्द्र लिङदेन यी सबैले।’

व्यवस्था परिवर्तनको आन्दोलन चलाएका प्रसाईँको यो अभिव्यक्तिविरुद्ध मायाको पहिचान नेपालले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गरेको छ।

नेपालका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय लक्षित गलत सूचना तथा घृणास्पद अभिव्यक्ति फैलाउने प्रसाईँ विरुद्ध उजुरी दर्ता गरेको मायाको पहिचान नेपालले जनाएको छ।

प्रसाईँले समलिङ्गी विवाहलाई युएसएआइडीद्वारा वित्तीय सहयोग गरिएको भनी झूटो प्रचार गरेका उजुरीमा लेखिएको छ। ‘जुन पूर्णतः भ्रामक र नेपालका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको कानुनी पहिचान तथा ऐतिहासिक निर्णयहरूको अपमान हो,’उजुरीमा लेखिएको छ।

नेपालको सर्वोच्च अदालतले सुनिलबाबु पन्तविरुद्ध नेपाल सरकार रहेको रिटमा ६ पुस २०६४ मा समलिङ्गी दम्पतीहरूको अधिकारलाई मान्यता दिँदै सरकारका नाममा समलिङ्गी विवाहको कानुन बनाउन निर्देशन दिएको थियो।

१२ असार २०८० मा सर्वोच्च अदालतले समलिङ्गी विवाह दर्ता गर्न अनुमति दिने अन्तरिम आदेश जारी गर्‍यो। हालसम्म १२ समलिङ्गी दम्पतीहरूले कानुनी रूपमा विवाह दर्ता गरिसकेका छन्। नेपाल संविधानको धारा १२, १८ र ४२ ले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अस्तित्व र अधिकारलाई मान्यता दिएको छ। समान सुरक्षा तथा अवसर सुनिश्चित गरेको छ।

तर, प्रसाईँको अभिव्यक्तिले समुदायमा भय सिर्जना गरेको र सर्वसाधारण नागरिकलाई गलत सूचना दिइरहेको उजुरीमा लेखिएको छ। एसियाकै पहिलो समलिङ्गी सभासद् समेत रहेका मायाको पहिचान नेपालका कार्यकारी निर्देशक पन्तले यस्तो भ्रामक र उत्तेजक अभिव्यक्ति नेपाल साइबर अपराध ऐन अन्तर्गत प्रतिबन्धित रहेको उल्लेख गरे। ‘जसले अनलाइन घृणास्पद अभिव्यक्ति, गलत सूचना, र हिंसालाई उक्साउने कार्यलाई दण्डनीय ठहर गर्छ,’पन्तले भने।

मायाको पहिचान नेपालले नेपाल प्रहरीको साइबर ब्युरोलाई प्रसाईँका अभिव्यक्ति तथा गतिविधिको छानबिन गर्न माग गरेको छ। नेपाल साइबर अपराध ऐन उल्लङ्घन गरेको आरोपमा आवश्यक कानुनी कारबाही गर्न भनेको छ।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई थप हानि पुग्न नदिन यस्ता घृणास्पद अभिव्यक्ति र गलत सूचनालाई रोक्न आवश्यक कदम चाल्न मायाको पहिचान नेपालले माग गरेको छ।

प्रसाईँले फैलाएको गलत सूचना खण्डन गर्दै सार्वजनिक रूपमा वास्तविक तथ्य सार्वजनिक गर्न मायाको पहिचान नेपालले माग गरेको छ। नेपालका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका अधिकार र गरिमालाई सुरक्षित राख्न यस भ्रामक सूचना अभियानविरुद्ध तुरुन्तै कारबाही गर्न आग्रह पनि गरेको छ।

दक्षिण एसियामै पहिलो समलिङ्गी विवाह दर्ता गरेर नेपालको समावेशितामा नमुना बनेका माया गुरुङ्ग र सुरेन्द्र पाण्डेले प्रसाईँको अभिव्यक्तिलाई मानवअधिकार विरोधी अभिव्यक्ति भनेका छन्। ‘कुनै पनि निकायबाट पैसा नलिई कानुनी रूपमा विवाह दर्ता गर्दा युएसएआइडीको पैसा खाएको आरोप के आधारमा लगाएको हो?,’ पुष्टि गर्न माया र सुरेन्द्रले प्रसाईँलाई चुनौती दिएका छन्।

प्रसाईँको नेतृत्वमा शुक्रवार भएको आन्दोलनले एक जना पत्रकारको मृत्यु भएको छ। एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु प्रसाईँको अराजक आन्दोलनको समाचार सङ्कलन गरिरहँदा भएको हो। प्रसाईँलाई तत्काल पक्राउ गरेर कारबाही गर्न चौतर्फी दबाब बढेको छ।

‘फेरि व्यवस्था बदल्ने नाममा एभिन्यूज टेलिभिजनमा भिडियो खिच्ने सुरेश रजकको हत्या भयो, त्यो पनि जिउँदै जलाए। उनका बुवाहरू राजाबाट मारिएका थिए। हत्यारालाई सत्ताबाट च्युत गरेर गणतन्त्र ल्याइयो। आज तिनै मण्डलेका सुण्डमुण्डले उनको हत्या गरे। कलम जलाए, क्यामेरा जलाए, उनको प्राण पखेरु उडाए। उनको दोष यही थियो कि,उनी तिनै मण्डलेको प्रदर्शनको समाचार प्रसारण गरिरहेका थिए।’सामाजिक सञ्जालमा पत्रकार रजकको मृत्यु नभएर हत्या भएको आशङ्का व्यक्त भएका छन्।

समाचार सङ्कलनका क्रममा निधन भएका पत्रकार रजकप्रति पहिचान मिडिया हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.