काठमाडौँ : राजावादीहरूको अराजक प्रदर्शनमा मृत्यु भएका कीर्तिपुर-४ गाम्चाका सविन महर्जनलाई गोली लागेको पुष्टि भएको छ। पोस्टमार्टम रिपोर्ट अनुसार सविनलाई एक गोली लागेको पुष्टि भएको हो। उनको दायाँ हातको कुहिनो नजिकको भागबाट कोख हुँदै ढाडबाट गोली निस्केको पाइएको छ।
पोस्टमार्टम रिपोर्टपछि परिवारले सविनको शव बुझेका छन्। विध्वंस मच्चाउने आन्दोलनमा गोली लागेर मृत्यु भएको पाँच दिनपछि सविनको अन्त्येष्टि गरिएको छ। सविनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको कीर्तिपुर नगरपालिकाकी उपप्रमुख शुभलक्ष्मी शाक्यले जानकारी दिइन।
गत शुक्रवार नै तीनकुनेको एक घरभित्रै जलेर मृत्यु भएका पत्रकार सुरेश रजकको शव भने अस्पतालमै छ। पोस्टमार्टम प्रक्रिया सुरु भएको छैन। घटना शङ्कास्पद रहेको भन्दै विभिन्न कोणबाट कुरा आइरहँदा पोस्टमार्टम गर्नबाटै चिकित्सक पन्छिएका छन्। परिवार थप पीडामा परेको छ।
सुरेशको परिवारका अनुसार चिकित्सकले एक्स-रे नगरी पोस्टमार्टम नगर्ने बताएका छन्। एक्स-रे गर्ने मिसिन पनि बिग्रिएको चिकित्सकले बताएका सुरेशका दाइ रमेश रजकले बताए। पोस्टमार्टम हुने कुनै टुङ्गो नलागेको उनले सुनाए।
मृतक रजकको परिवारले हत्या नै भएको बताएको छ। एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार रजकको आगलागी भवनभित्र शव फेला परेको थियो। घटनाको छानबिन गरी दोषीलाई कारबाही र क्षतिपूर्तिको माग राखेको सुरेशका दाइ रमेशले बताए।
सुरेशको मृत्यु भएको घरका धनी प्रेमबहादुर श्रेष्ठले पनि घटना नियोजित हुन सक्ने बताएका छन्।
राजावादीको आन्दोलनमा प्रहरीको गोली लागि घाइते भएका १७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले सिनामंगलस्थित केएमसी अस्पताल, महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल र ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा १७ जनाको उपचार भइरहेको जनाएको छ।
गोली लागेर घाइते भएका ३ जना बिएण्डबी अस्पतालमा उपचाररत छन्। गोली लागेर घाइते रेविका खत्री र उनका दाजु दिनेशको उपचार चलिरहेको छ। कोटेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत रेविकाको न्यायका लागि भन्दै विद्यार्थीहरूले प्रदर्शन समेत गरेका छन्।
कोटेश्वर बहुमुखी क्याम्पसमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत रेविकालाई आफ्नै निवास नजिक गोली लागेको हो। उनको हाल आइसियुमा उपचार भइरहेको छ। दाइको अवस्था तुलनात्मकरुपमा राम्रो रहेको अस्पतालले जनाएको छ।
राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा थप १८ जना पक्राउ परेका छन्। अपराधजन्य घटनामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
यसअघि प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणासहित ४१ जनालाई म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।
सरकारको अपिल
सरकार भने घटना भएको ५ दिन पछि राजावादीको अराजक प्रदर्शनमा सहभागी नहुन आम नागरिकलाई अपिल गरेर बसेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राजावादीको अराजक प्रदर्शनमा सहभागी नहुन बैठकले अपिल गरेको जानकारी दिए।
घटनाको सत्य तथ्य छानबिन गर्न र दोषीमाथि कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको गुरुङले सुनाए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.