काठमाडौँ : चलचित्र ‘जनै हराएको बाहुन’को शुभ मुहूर्त गरिएको छ। काठमाडौँको बुढानीलकण्ठमा आइतबार बिहान चलचित्रको शुभ मुहूर्त गरिएको हो। शुभ मुहूर्तमा चलचित्रका अधिकांश कलाकार उपस्थित थिए।
बुढानीलकण्ठ मन्दिर परिसर भित्र भएको शुभ मुहूर्तमा अभिनेत्री मिरुना मगर, अभिनेता सुशांक मैनाली, कलाकार गौरव पहाडी र भोलाराज सापकोटाले मुहूर्त सर्ट दिए।
चलचित्रको छायाङ्कन सोमबारबाट सुरु हुने निर्माण पक्षले जनाएको छ। ‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गर्दै छन्। ‘जनै हराएको बाहुन’मा विजय बराल, सुशांक मैनाली, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, रियर राई, भोलाराज सापकोटालगायत कलाकारको अभिनय रहनेछ।
निर्माण टिमका अनुसार सोमबार काभ्रेपलान्चोकको पनौतीबाट चलचित्रको छायाङ्कन सुरु हुनेछ। पाल्पा र काठमाडौँमा पनि छायाङ्कन हुनेछ।
‘जनै हराएको बाहुन’ले गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथा भन्नेछ। चलचित्रले आमा र छोराबीचको भावनात्मक कथा भन्नेछ।
शुभ मुहूर्तपछि मिडियासँग संक्षिप्त कुरा गर्दै अभिनेत्री मिरुनाले भनिन्, ‘यो टिममा आबद्ध हुन पाउँदा नै म एकदमै खुसी छु, सम्पूर्ण टिमलाई नै धन्यवाद भन्न चाहन्छु। यसमा मेरो क्यारेक्टर विशेष छ।’
असोसियट निर्देशक राउतले ‘जनै हराएको बाहुन’ मा सबै नेपालीको कथा रहेको बताए। ‘यसमा हाम्रो सम्बन्धको कथा छ, दाजुभाइबीचको सम्बन्धका बारेमा छ, आमा छोराका बारेमा छ,’ उनले भने।
अभिनेता मैनालीले चलचित्र ‘टलकजङ भर्सेज टुल्के’ रिलिज भएको १० वर्षपछि आफू सिनेमामा देखिन लागेको बताए। यो टिममा आबद्ध हुन पाउँदा नै खुसी लागेको उनले बताए।
निर्देशक न्यौपानेको यो डेव्यु निर्देशन हो। यो चलचित्रको असोसियट निर्देशकमा मनिष राउत छन्।
बलियो लाइनअप रहेको चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन्। पेपरक्लिप प्रालिको निर्माण रहने चलचित्रका विमल न्यौपाने निर्माता हुन्।
चलचित्रका कार्यकारी निर्मातामा कमल न्यौपाने, नारायण तिम्सिना, चुरामणि सिवाकोटी, रुपेश लामा र आरके मानन्धर रहेका छन्।
थानेश्वर गौतम र एस डी योगीको सङ्गीत रहने यस सिनेमामा लक्ष्मणराज पौडेल प्रोडक्सन मेनेजर रहेका छन्।
चलचित्रको छायाङ्कन सेड्युल ४० दिनको रहेको छ। यस सिनेमाका निर्माता आदित्य फिल्म्स रहेका छन् भने नवीन गुरुङले छायाङ्कन गर्नेछन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.