"/>

तेस्रोलिंगीहरुसँग जबरजस्ती महिनावारी असुल्ने अवैध धन्दा

तेस्रोलिंगीहरुसँग जबरजस्ती महिनावारी असुल्ने अवैध धन्दा

2.5k
SHARES
तस्बिर : इन्टरनेट

काठमाडौँ : गएको हप्ता सर्लाहीका एक व्यक्ति विदेश जाने पासपोर्ट बनाउन काठमाडौँ आए। साथीको कोठामा बास बस्न पुगे। मागेर या बधाई दिएर जीविकोपार्जन गर्दै आएकी तेस्रोलिंगी महिला (जन्मँदा पुरुष) को डेरामा पुगेका थिए उनी।

उनलाई डेरामा छोडेर लभ्ली (परिवर्तित नाम) आफ्नो दैनिकी नित्य कर्ममा लागिन्। बेलुकाको ९ बजेसम्म उनी अर्की साथी करुणासँगै न्यूरोडमा थिए। त्यतिबेला नै साथीले फोन गरे लभ्लीलाई। भने,मेरो नागरिकता लुटे,छिटो आउनु पर्‍यो।

लभ्ली करुणालाई लिएर कोठा पुगिन। घटनाको बेली विस्तार सुनिन् पाहुना साथीबाट। सुरुमा उनीहरूले पैसा मागे। काठमाडौँ उपत्यकामा माग्नेहरूले महिनाको १ हजार रुपैयाँ बुझाउनु पर्ने नियम सुनाए। समयमा नबुझाए दण्ड दिने धम्की दिए। त्यति मात्रै होइन, महिनावारी नबुझाउनेलाई काठमाडौँबाट निकाल्ने सुनाए।

पैसा नदिएपछि लछारपछार पार्दै खोतलखातल गरेर नागरिकता लिएर गए। नागरिकता लिन १ लाख रुपैयाँ लिएर आउनु भने। लभ्ली र करुणा समूहमा हिँड्दैनन्। विगत १२ वर्षदेखि न्यूरोड क्षेत्रका व्यावसायिक संस्थाहरूमा आर्सीवाद दिँदा खुसी भएर दिएको दानले परिवार चलाउँदै आएका छन्।

खुसीले दिएको लिने गरेको उनीहरूले बताए। ‘५ रुपैयाँ, १० रुपैयाँ जति दिनुहुन्छ,त्यति हात थाप्छौँ,आज छैन, भोलि आउनु भन्नुहुन्छ,हामी आर्सीवाद दिएरै हिड्छौं,’करुणाले भनिन्,’बाटोमा हिँड्ने कतिपयले बोलाएरै दान दिनुहुन्छ,हामी कसैलाई पनि जबरजस्ती गर्दैनौ।’

करुणाले १२ कक्षा पास गरेकी छन्। काम खोज्दै काठमाडौँ आइन। आफूजस्ता व्यक्तिहरूको हक अधिकार लागि भनेर खुलेको गैरसरकारी संस्थामा काम खोज्दै गइन उनी। ‘हामी जस्तालाई कसले दिन्छ जागिर?उही सडकमा उभिने त हो नि,’ भन्ने जवाफ पाएको सुनाइन करुणाले।

तेस्रोलिंगी महिला (जन्मँदा पुरुष) करुणाले काठमाडौँमा मागेरै बाबुआमाको हेरचाह गर्दै आएकी छन्। उनी घरमा खुलेकी छैनन्। ‘घरमा खुल्ने अवस्था छैन,स्विकार्नु हुँदैन,काठमाडौँमा हुँदा मात्र हो महिलाको कपडा लगाउने,’करुणाले भनिन्,’घरमा लगाउन त के तेस्रोलिंगी भन्ने अवस्था छैन। समाजमा पनि हेला गर्छन्।’

लभ्लीको पनि घरको अवस्था करुणासँग मिल्दोजुल्दो नै छ। लभ्लीले कक्षा १० पास गरेकी छन्। उनले काठमाडौँ बसेको १२ वर्षमा पहिलो पटक जबरजस्ती महिनावारी माग्ने समूह भेटिन्। माग्नेहरूको निगरानी गर्ने, कोठा पत्ता लगाउने र महिनावारी उठाउन कोठामै पुग्नेहरूको सिकार भएका थिए, लभ्लीका साथी।

पाहुना आएको साथीको नागरिकता नै लुटिएपछि फिर्ता गर्न लभ्लीले प्रयास गरिन्। ‘तर, उनीहरूको ४०/५० जनाको समूह, हामी दुई जना मात्रै, न्याय खोज्न थाल्यौँ,’लभ्लीले पहिचानसँग भनिन्,’माया ममी, मधुजीहरूको सहयोग लिएर बल्ल नागरिकता फिर्ता लिएका छौँ।’

काम नपाएपछि आफू र घर परिवारको गर्जो टार्न माग्न थालेको लभ्ली बताउँछिन्। उनी यतिबेला भने तनावमा छिन्। कोठामा पाहुना आएका साथीको लुटिएको नागरिकता फिर्ता गरे पछि अहिले जबरजस्ती २०/२५ हजार मागेर हैरान पारेको उनी बताउँछिन्। तेस्रोलिंगीहरुलाई धम्क्याएर लुट्न तेस्रोलिंगीहरुनै परिचालित भएका छन्।

नदिए काठमाडौँबाट निकाल्ने धम्की दिइरहेको करुणाले सुनाइन। हामी अरूसँग खुसीले दिएको लिन्छौँ,जबरजस्ती गर्दैनौ,उनले भनिन्, हातपातमै उत्रेर जबरजस्ती गर्ने, नदिए कुट्ने,पिट्ने गर्छन्।

को हुन् महिनावारी उठाउने?

केही महिना अघिसम्म पोखरामा थिए तेस्रोलिंगी अन्जु। तेस्रोलिंगीहरुसँगै महिनावारी उठाउँथे उनी। दादागिरी देखाउँथे। एक दिन पीडित तेस्रोलिंगीहरुले एक्लै पारेर कुटपिट गरे। त्यसपछि भागेर काठमाडौँ आएका हुन् अन्जु। यो उनको छद्मभेषी नाम हो। उनी वास्तविक परिचय समेत दिँदैनन्। ‘अन्जु भने पछि अन्जु, अरू किन चाहियो?,’ उनी परिचय सोध्नेलाई उल्टै प्रश्न गर्छन्।

उनको समूहमा शिला, बैशाली, लाड्ली,काजल, पूजा लगायत छन्। उनीहरूमा अन्जु र शिला हर्ताकर्ता हुन्। शिला मोटी छन्। उनीहरूले काठमाडौँको बसुन्धारादेखि कोटेश्वर, जडीबुटी, पेश्सीकोला, चाबहिल, गौशाला, भक्तपुर समेतमा सञ्जाल विस्तार गरिसकेको पीडित तेस्रोलिंगीहरुले बताए।

महिनावारी उठाउने उनीहरू पनि तेस्रोलिंगी नै हुन्। उनीहरू माग्न जाने तेस्रोलिंगीहरुको कोठा पत्ता लगाउने र राति गएर पैसा उठाउने काम गर्छन्। हरेक महिना पैसा उठाउन आउने उनीहरूले ज्यानै मार्नेसम्मको धम्की दिँदै आएको पीडित तेस्रोलिंगीले बताए।

सडकमा हिँड्दा गालीगलौज सहेर आएका उनीहरूलाई यतिबेला आफ्नै समुदायका केही व्यक्तिको दादागिरीले हैरान बनाएको छ। ‘घरको ठेगाना पनि दिँदैनन् उनीहरू। उनीहरूको डरमा परेर पैसा बुझाउँछन्,’पीडित तेस्रोलिंगीले भने,’नबुझाउनेलाई उनीहरू कुटपिट गर्छन्।’

पीडित तेस्रोलिंगीहरुले अति नै भएपछि सुरक्षा माग गरेका छन्। सुरक्षा निकायलाई खबर गरेका छन्। ‘अहिलेसम्म सहेर आयौँ,अब सहँदैनौ,’पीडितले भने,’फेरी जबरजस्ती गर्न थाले सुरक्षा निकायमा उजुरी दिन्छौँ।’

एसियाकै पहिलो समलिङ्गी सभासद् एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले यस्तो कार्य अवैध भएको बताए। सामाजिक सञ्जाल फेसबुकमा यस्तो अवैध कार्य नगर्न अनुरोध गरेका छन्। ‘यस्तो अवैध कार्य नगरौँ, नगराऔँ। माग्ने वा बधाई दिने तेस्रोलिंगी तथा पारलिंगी साथीहरूबाट पैसा उठाउने वा असुल गर्ने कार्य तुरुन्त बन्द गर्नुहोस्। तिनीहरूलाई परिचालन नगर्नुहोस्!,’पन्तले फेसबुकमा लेखेका छन्।

यसअघि बधाई दिने तेस्रोलिंगीहरुसँग हप्ता उठाएको गुनासो सम्झना केसीले गरेकी थिइन। उनले हप्ता उठाउन बन्द नगरे कानुनी उपचारमा जाने बताएकी थिइन।

सुनौँ सम्झना केसीसँगको कुराकानी

समाचार शेयर गर्नुहोस्
2.5k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.