काठमाडौं : नेपालको अध्यागमन कार्यालय झापाले अमेरिकाबाट डिपोर्ट भएका चार जना भुटानी शरणार्थीको कागजात फेला नपरेको जनाएको छ। अमेरिकाले भुटानको पारोमा जिम्मा लगाएर फर्के लगत्तै खेदिएका १० मध्ये चार जना नेपालको झापा दमकबाट पक्राउ परेका थिए।
उनीहरूसँग कुनै कागजात फेला नपरेकाले यसै भन्न सक्ने अवस्था नदेखिएको अध्यागमन अधिकृत तुलसी भट्टराईले जानकारी दिए।
उनीहरूसँग नेपाल पस्न आवश्यक राहदानी र भिसा फेला नपरेको उनले बताए। नियन्त्रणमा रहेका चार जना भुटानी शरणार्थीलाई कानुनअनुसार सजाय तोकेर फिर्ता पठाइदिन अध्यागमन विभागमा सिफारिस गरिएको छ।
आशिष सुवेदी, रोशन तामाङ, सन्तोष दर्जी र अशोक गुरुङ दुई सातादेखि काँकडभिट्टा प्रहरीको नियन्त्रणमा छन्। अध्यागमन कार्यालयले ऐन–नियमावली अनुसार फिर्ता पठाउनु पर्ने सिफारिस गरेको छ।
तर, कता पठाउने अन्योल देखिएकाले गृह मन्त्रालयसँग परामर्श गर्नुपर्ने अवस्था आएको अध्यागमन विभागका निर्देशक एवं सूचना अधिकारी टिकाराम ढकालले जानकारी दिए।
उनीहरू अहिले परिचयपत्र र राज्यविहीनको अवस्थामा छन्। उनीहरूलाई कता फिर्ता पठाउने भन्नेबारे कानुनले केही बोलेको छैन।
अमेरिकी अधिकारीहरूले चैत १५ गते भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलसम्म लगेर ती शरणार्थीलाई भुटान सरकारसमक्ष हस्तान्तरण गरेका थिए। लगत्तै अमेरिकी अधिकारीहरू फिर्ता गएका थिए।
अमेरिकी अधिकारी फर्कनासाथ भुटानले उनीहरूलाई नेपाल भारत सीमा जयगाउँमा ल्याएर फालेको थियो। उनीहरूलाई फिर्ता पठाउँदा आवश्यक ट्राभल डकुमेन्ट बनाउने समयसम्म कहाँ राख्ने भन्ने टुङ्गोमा समेत नपुगेको विभागका निर्देशक ढकालले बताए।
उनीहरूले कुनै कागजात पेस नगरेको सूचना अधिकारी ढकालले बताए।
भुटानले सीमामा फालेका मध्ये चार जना नेपालको नियन्त्रणमा रहे पनि बाँकी ६ जनाको अवस्था दुई सातादेखि अज्ञात छ। अध्यागमन कार्यालय झापाका अध्यागमन अधिकृत भट्टराईले बाँकी ६ जनाको बारेमा कुनै जानकारी नभएको बताए।
अमेरिकी नागरिकलाई डिपोर्ट गरिने
पर्यटक भिसामा नेपाल आएर प्रदर्शन गर्ने अमेरिकी नागरिकलाई अध्यागमन विभागले डिपोर्ट गर्ने तयारी गरेको छ।
गत चैत १४ गते माइतीघरमा कुलमान घिसिङको पक्षमा भएको प्रदर्शनमा सहभागी भएका ५८ वर्षीय अमेरिकी नागरिक जुलियन किर्पाललाई अध्यागमन विभागले अमेरिका फिर्ता पठाउन लागेको अध्यागमन विभागका निर्देशक एवं सूचना अधिकारी टिकाराम ढकालले जानकारी दिए। हाल हिरासतमै रहेका जुलियनले अध्यागमन ऐनको उल्लङ्घन गरेको प्रवक्ता ढकालले बताए।
जुलियनले आफ्नो मुलुक फर्कने टिकट ल्याएपछि तत्कालै फिर्ता गराउने अध्यागमनको तयारी छ। उनी अमेरिका उडेको मितिदेखि लागु हुने गरी २ वर्षसम्म नेपाल आउन नपाउने प्रवक्ता ढकालले जानकारी दिए।
कुलमान समर्थकले माइतीघरमा प्रदर्शन गरिरहेका बेला जुलियन राजतन्त्रको ब्यानर बोकेर उक्त कार्यक्रममा पुगेका थिए। हिरासतमा रहेका जुलियनले भने आफू कुनै पनि प्रदर्शनमा सहभागी नरहेको तर नचिनेको मान्छेले दिएको झन्डा भने बोकेको बयान प्रहरी समक्ष दिएका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए pahichanmedia@gmail.com मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.