निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

दमकमा अजिमा र ६ लैङ्गिक पहिचान वृत्तचित्र प्रदर्शन, ऐतिहासिक सत्य उजागर

दमकमा अजिमा र ६ लैङ्गिक पहिचान वृत्तचित्र प्रदर्शन, ऐतिहासिक सत्य उजागर

414
SHARES

झापा : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको ऐतिहासिक र सामाजिक यात्रालाई उजागर गर्ने वृत्तचित्र ‘अजिमा र ६ प्रकारका लैङ्गिक पहिचान’ झापाको दमकमा सार्वजनिक प्रदर्शन गरिएको छ।

एसियाकै पहिलो समलिङ्गी सभासद् तथा मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तद्वारा निर्मित यो वृत्तचित्र लिड नेपाल झापाको संयोजनमा डी म्याक्स सिनेमा हल दमकमा प्रस्तुत गरिएको हो।

वृत्तचित्र अवलोकनपछि दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईँले मातृसत्तात्मक व्यवस्थामा महिला तथा लैङ्गिक अल्पसङ्ख्यकहरूप्रति देखिने समावेशी व्यवहारबारे बोलेकी थिइन्। उनले भनिन्, “यस वृत्तचित्रले विगतका मातृसत्तात्मक समाजमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूलाई कसरी न्यायोचित व्यवहार मिल्थ्यो भन्ने ऐतिहासिक सत्य उजागर गरेको छ।”

लेखक तथा पत्रकार लीलाराज खतिवडाले नेपाली तान्त्रिक परम्परामा देवीहरूको माध्यमबाट लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरू पहिल्यैदेखि स्वीकृत रहेको देखाउन सफल यो वृत्तचित्र सशक्त र सशक्तीकरणकारी अनुभूति भएको बताए।

लिड नेपालकी कार्यकारी निर्देशक नुमा लिम्बू चञ्चलाले मायाको पहिचान नेपालसँग सहकार्य गर्दै यस्तो ऐतिहासिक वृत्तचित्र झापामा प्रदर्शन गर्न पाउनु गौरवको विषय भएको उल्लेख गरिन्।

वृत्तचित्र निर्माता तथा निर्देशक पन्तले भने, “मातृसत्तात्मक समाजमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूलाई जुन सम्मान र स्वीकृति थियो, पितृसत्तात्मक संरचनामा त्यो सहज छैन। अझै लामो यात्रा बाँकी छ।”

वृत्तचित्रले ऐतिहासिक सन्दर्भ र समकालीन लैङ्गिक पहिचानबीचको सम्बन्धबारे सशक्त बहस सुरु गराएको छ।

नेपालको सांस्कृतिक र लैङ्गिक विविधताको गहिरो अन्वेषणमा आधारित वृत्तचित्र ‘अजिमा र ६ प्रकारका लैङ्गिक पहिचान’ को विशेष स्क्रीनिङ वैशाख ४ गते बिहीबार बिर्तामोडमा गरिँदैछ।

लिड नेपाल झापाको संयोजनमा वृत्तचित्र पाथीभरा सिनेमा हल, बिर्तामोडमा दिउँसो ३ बजे देखाइनेछ। लैङ्गिक तथा यौनिक विविधता र मातृसत्तात्मक परम्पराको अन्तर्दृष्टि प्रस्तुत गर्ने यो वृत्तचित्रको प्रदर्शनमा सहभागिता निःशुल्क छ।

कार्यक्रममा चलचित्र समीक्षा तथा विषयवस्तुमाथि ‘मातृसत्तात्मक परम्पराहरूमा अन्तर्दृष्टि’ शीर्षकमा विशेष छलफलसमेत हुने निर्माता पन्तले जानकारी दिए।
सांस्कृतिक चेतना र सामाजिक बहसमा रुचि राख्नेहरूका लागि यो कार्यक्रम सुनौलो अवसर हुन सक्ने पन्तले जनाएका छन्।

समाचार शेयर गर्नुहोस्
414
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.