पितृसत्तालाई चुनौती दिने ‘अजिमा’ बिर्तामोडमा प्रदर्शन

पितृसत्तालाई चुनौती दिने ‘अजिमा’ बिर्तामोडमा प्रदर्शन

533
SHARES

झापा : पितृसत्ताको प्रभुत्वमा पटक–पटक पुनः लेखिएको नेपाली इतिहासमा वैकल्पिक दृष्टिकोण प्रस्तुत गर्ने उद्देश्यले निर्माण गरिएको वृत्तचित्र ‘अजिमा र ६ लैङ्गिक पहिचान’ झापाको बिर्तामोडमा विशेष प्रदर्शन गरिएको छ। बिहीबार बिर्तामोडस्थित पाथीभरा सिने प्लाजामा आयोजित उक्त प्रदर्शनमा राजनीतिकर्मी, मानवअधिकारकर्मी, पत्रकार, जनप्रतिनिधि लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको हकहितमा विगत २५ वर्षदेखि सक्रिय रहँदै आएका संविधानसभा सदस्य सुनिलबाबु पन्तद्वारा निर्देशित वृत्तचित्रले मातृसत्तात्मक संरचना, लैङ्गिक विविधता र इतिहासको पुनर्व्याख्या गर्ने प्रयास गरेको छ।

वृत्तचित्रमा ६ प्रकारका लैङ्गिक पहिचानहरूलाई समेटिएको छ। पितृसत्ताले निर्माण गरेको ऐतिहासिक आख्यानलाई चुनौती दिँदै, यसले डाकिनी-योगिनी संस्कृति, इन्द्र जात्राको ऐतिहासिक पृष्ठभूमि र तेस्रोलिंगी समुदायप्रति समाजको दृष्टिकोण जस्ता विषयहरूलाई केन्द्रबिन्दुमा राखेको छ।

निर्माता पन्तका अनुसार, ‘अजिमा’ शब्दले आमा वा हजुरआमाको अर्थ बोकेको छ। “यो फिल्मले मातृसत्तात्मक संरचनामा पहिचान र संस्कार कस्तो थियो भन्ने विषयमा गहिरो प्रश्न उठाएको छ,” पन्तले बताए। उनका अनुसार वृत्तचित्र यसअघि १७ पटक सार्वजनिक प्रदर्शन भइसकेको छ।

वृत्तचित्र अवलोकनपछि संविधानसभा सदस्य तथा राजनीतिकर्मी धर्मशिला चापागाईँले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको सवाल उठाएकोमा धन्यवाद व्यक्त गर्दै भनिन्, “नेपालको इतिहास र परम्परालाई सही रूपमा उजागर गर्न अब ढिलाइ गर्नु हुँदैन।”

मानवअधिकारकर्मी दीपक दासले वृत्तचित्रमाथि प्रतिक्रिया दिँदै भने, “समग्र मानवअधिकारको मुद्दामा हामी सबैले संवेदनशील हुन जरुरी छ। हाम्रो समाज अझै पनि कुण्ठित सोचमा बाँधिएको देखिन्छ।”

महिला अधिकारकर्मी सनम राजवंशीले वृत्तचित्र समयसापेक्ष र सान्दर्भिक भएको उल्लेख गर्दै भनिन्, “पछिल्लो पुस्तालाई इतिहास बुझाउन यो दस्ताबेजले महत्त्वपूर्ण भूमिका खेल्नेछ। पितृसत्तात्मक व्यवस्थाले समाजमा विभेदको जरो गाडेको स्पष्ट देखिन्छ।”

बिर्तामोड नगरपालिकाकी जनप्रतिनिधि संगिता सिवाले भनिन्, “वृत्तचित्रमा देखाइएको पुरानो समाजमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमाथि आजजस्तो विभेद प्रस्ट देखिँदैन। विडम्बना, समयसँगै त्यो विभेद बढ्दै गएको देखिन्छ।”

त्यस्तै, पत्रकार टिकाराम नेतीले वृत्तचित्रको स्क्रिप्ट सशक्त रहेको प्रशंसा गर्दै स्रोतहरूको अभाव महसुस भएको टिप्पणी गरे। “समाजमा प्रश्न उठाउने साहसिक प्रयास प्रशंसनीय छ,” उनले उल्लेख गरे।

कार्यक्रमको अन्त्यमा निर्देशक पन्तले समीक्षकहरूको जिज्ञासामा जवाफ दिँदै भने, “इतिहासमा मातृसत्ताले कुनै लेखोट छोडेन, तर पितृसत्ताले भने आफू अनुकूल इतिहास रच्न थाले।”

‘अजिमा’ ले नेपाली समाजमा ओझेलमा पारिएको इतिहास र लैङ्गिक विविधतालाई मुख्यधारमा ल्याउने उल्लेखनीय प्रयास गरेको छ।

वृत्तचित्र प्रदर्शन तथा समीक्षा कार्यक्रमको सञ्चालन लिड नेपाल झापाकी निर्देशक एवं अधिकारकर्मी नुमा लिम्बू (चञ्चला) ले गरेकी थिइन्।

समाचार शेयर गर्नुहोस्
533
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.