काठमाडौं : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि काम गर्ने भनेर स्थापना भएको हो सबैका लागि सहयोगी नेपाल। संस्था स्थापना पछि ठाउँ ठाउँबाट टर्चर पाइरहेको छ सबैका लागि सहयोगी नेपालले।
तर, डराउने कुरा भएन। दुई चार लाखको अफर पनि पाएको छ संस्थाले। मायाको पहिचान नेपालमा आबद्ध नहुन पैसा दिनेसम्मको प्रलोभन पाएको सुनाउँछिन् संस्थाकी कार्यकारी प्रमुख सम्झना केसी।
महिला दिदीबहिनी, एकल महिला र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूको एउटै आवाज बुलन्द गराउन संस्था लागिरहेको उनले बताइन। अरूले भन्दैमा बाटो नबिराउने उनको भनाई छ।
१३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा संस्थाले मायाको पहिचान नेपालसँग सहकार्य गरेर र्याली र अन्तरक्रिया कार्यक्रम गरेको छ। संस्थाले एसियाकै पहिलो संविधान सभा सदस्य सुनिलबाबु पन्तलाई सम्मान पनि गरेको छ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको हक अधिकारका लागि पुर्याएको योगदानको प्रशंसा गर्दै सबैका लागि सहयोगी संस्था नेपालले पन्तलाई सम्मान गरेको हो। संस्थाले मायाको पहिचान नेपालका उपाध्यक्ष मधु केसी, सचिव सुरेन्द्र पाण्डे, महिला सञ्जालका पदाधिकारी, एकल महिलालाई श्रमिक दिवसका अवसरमा सम्मान गर्यो।

सम्मान कार्यक्रममा मायाको पहिचान नेपालका कार्यकारी निर्देशक समेत रहेको पन्तले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक मजदुरको हक अधिकारका लागि ट्रेड युनियनहरूले आवाज नउठाएको बताए। पन्तले भने,’यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय श्रमिक हुन सक्छन् र श्रम गरेर बाच्न पाउनु पर्छ भन्ने आवाज कुनै पनि मजदुर सङ्गठनहरूले उठाएको पाइँदैन।’
उनले श्रम ऐन श्रम ऐनमा पनि महिला र पुरुषको मात्रै अधिकार लेखिएको बताए। तेस्रोलिंगीलाई रोजगारीमा अझै विभेद कायम रहेको उनले बताए। ‘लैङ्गिक तथा यौनिक श्रममा न्याय पाएका छैनन्। आवेदन नै नलिने अवस्था छ,’उनले भने,’लिए पनि कामबाट निकाल्ने गरिएको छ।’
पन्तले बाध्यतावश यौन पेसामा लाग्ने समुदायका व्यक्तिहरूलाई हेलाहोचो गर्ने गरिएको बताए। रोजगारी सुनिश्चित गरिए यौन पेसामा लाग्नु पर्ने अवस्था नआउने उनले बताए।

पन्तले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई पत्र लेखेर यौन पेसाका लागि छुट्टै स्थान तोकी दिन आग्रह गर्न पनि सुझाए। ‘सरकारले चाहेमा छुट्टै एरिया तोकिदिने हुन्छ। व्यवस्थित र सुरक्षित पनि हुन्छ,’उनले भने,’एउटा पत्र लेखेर डेलिगेसन जाँदा राम्रो हुन्छ।’
उनले कतिपय इच्छाले त कतिपय बाध्यताले यौन पेसामा लागेको पाइएको बताए। ‘दिनको उज्यालोमा गाली गर्ने, रातको अँध्यारोमा खोज्दै आउने बनेको छ यौन पेसा,’पन्तले भने,’कतिले इच्छा भन्दा पनि बाध्यताले गरिरहेका छन्। गलत हो भने पुनर्स्थापना गरिदिनु पर्छ।’
सम्मान कार्यक्रममा सहभागीहरूले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूलाई जीविकोपार्जनका लागि राज्यको लगानी शून्य रहेको बताए। उनीहरूले रोजीरोटीका लागि बाटोमै उभिनु पर्ने अवस्था अन्त्य गरिदिन सरकारसँग माग पनि गरे।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.