निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नीति तथा कार्यक्रममाथि सांसदहरूको छलफल घोचपेच र गाली गलौचमै सीमित

नीति तथा कार्यक्रममाथि सांसदहरूको छलफल घोचपेच र गाली गलौचमै सीमित

333
SHARES

काठमाडौं : सरकारले संसदमा पेस गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल फिक्का देखिएको छ। सांसदहरूले मुख्य विषयमा छलफल नगर्दा नीति तथा कार्यक्रम खल्लो बनिरहेको छ।

प्रतिनिधिसभामा दलीय आधारमा बोल्न नाम टिपाएका सांसद पालो कुरेर बसे पनि अरू सांसदका कुर्सीहरू भने रित्ता देखिएका छन्। सांसदहरू हाजिर गर्ने र बाहिरिने विगतको प्रवृत्ति अहिले पनि उस्तै छ।

बजेट अधिवेशनको नामले चिनिएको सदनमा नीति तथा कार्यक्रममाथिको महत्त्वपूर्ण छलफलमा प्रतिपक्षको मात्र होइन सत्तापक्षकै पनि रुचि देखिएको छैन। संसदमा बोल्ने अधिकांश सांसदहरूले आफ्नो समय घोचपेच र गाली गलौचमै खर्चिएका छन्।

एमाले सांसद योगेश भट्टराईले कुलमानलाई हटाउँदा प्रतिपक्षको मुटुमै गोली लागे जस्तो तर्क गर्नु जायज नभएको बताए। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै भट्टराईले प्रधानसेनापति हटाएको जस्तो गम्भीर कुरा सरकारले नगरेको तर्क गरे।

एकातिर सत्तापक्ष प्रतिपक्षतर्फ आक्रामक बनिरहँदा अर्कोतर्फ राजावादी दल राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीको अभिव्यक्ति आक्रामक थियो। राजसंस्था अहिले दलहरूले छलकपट गरेर फालेको बताउँदै उनले संविधान र व्यवस्था भारतले ल्याएको दाबी गरे। उनले सच्चा राष्ट्रवादी आफूहरू भएको बताउँदै बिरालोको रङ्ग मिल्यो भन्दैमा बिरालो बाघ हुन नसक्ने तर्क गरे।

नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सत्तारुढ दल काँग्रेस उपसभापति धनराज गुरुङले सरकारले ल्याएको नीति तथा कार्यक्रम गुलाबको फुल जस्तै भए पनि प्रतिपक्षले भने काँडा मात्रै देख्ने गरेको सुनाए।

प्रतिपक्ष दल माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले भने नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने माग गरे। सरकारले विकास बजेट समेत खर्च गर्न नसक्नु दुर्भाग्य भएको उनको भनाई थियो।

संसद् बैठक सुरु हुनासाथ रेशम चौधरीलाई पक्राउ गरिएको घटनाको जवाफ माग गर्दै नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदले सदन अवरोध गरेका थिए।

सभामुख देवराज घिमिरेले उक्त घटनाका विषयमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका थिए। पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सांसदहरूले विरोध जनाउन नछाडेपछि सभामुख घिमिरेले गृहमन्त्रीले संसदमा जवाफ दिने मिति तोके।

आकस्मिक समयमा बोल्दै रास्वपाका सांसद मनिष झाले पछिल्लो समय प्रतिस्पर्धीहरूमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाए। आफ्नै सभापति रवि लामिछाने हुँदै अहिले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाललाई पनि बयान लिने कार्य भएको भन्दै अबको टार्गेट सिके राउत पनि हुन सक्ने टिप्पणी गरे।

समाचार शेयर गर्नुहोस्
333
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.