निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

ललितपुर प्रहरीमा ‘मान्छे हराएको’ झुटो उजुरी, प्रहरी प्रमुखको भूमिकामा शङ्का

ललितपुर प्रहरीमा ‘मान्छे हराएको’ झुटो उजुरी, प्रहरी प्रमुखको भूमिकामा शङ्का

719
SHARES

काठमाडौं : सिन्धुलीको सुनकोशी र धादिङको गल्छी गाउँपालिकाका समलिङ्गी जोडीले आआफ्नो वडा कार्यालयबाट अविवाहित रहेको सिफारिस बनाए। बाबाआमाको नागरिकता र सिफारिस लिएर सुनकोशी गाउँपालिका पुगे।

२५ वैशाखमा सर्वोच्च अदालतको अन्तरिम आदेश, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको परिपत्रसहित विवाह दर्ताका लागि निवेदन दिए। अविवाहितको सिफारिस दिने वडा कार्यालयले निवेदन होल्ड गर्‍यो। भन्यो,’१५ दिनपछि आउनु।’ कानुनमा समलिङ्गी जोडीको विवाह दर्ता गर्ने व्यवस्था नभएको सुनायो।

समलिङ्गी जोडी मध्ये परिवर्तित नाम शिलु रम्तेललाई परिवारले स्वीकारेको थियो। तर, रमिता तामाङलाई परिवार इच्छाविपरितको विवाह गरिदिन जसरी पनि छुटाउन चाहन्थ्यो। विवाह दर्ता गर्न गएको थाहा पाएपछि रमिताकी भाउजूले नन्द हराएको उजुरी दिइन।

शिलुका बाबाआमालाई रमिताकी भाउजूले छोरीलाई बोलाउन दबाब दिइन। शिलु र रमिता कानुनी रूपमा विवाह दर्ता गरेको प्रमाणपत्र बोकेर आउने विश्वासका साथ सुनकोशी पुगेका थिए। वडा कार्यालयले विवाह दर्ता गरिदिएन। भाउजूले हराएको उजुरी पछि प्रहरीले शिलु र रमितालाई कार्यालयमा बोलायो।

शुक्रवार बिहान ११ बजेपछि शिलुका बाबाआमा र रमिताका दाइभाउजू प्रहरी वृत्त सातदोबाटो पुगे। भाउजू शिलुसँग सम्बन्ध भएको फिटिक्कै मन नपराउने। उनी प्रहरी कार्यालयमै झम्टिइन।

प्रहरी अधिकारीहरूले ‘राजीखुशी कि जबरजस्ती?’ भनेर सोधे। उनीहरूले राजीखुशी विवाह गर्न लागेको सुनाए। उमेरले २२ वर्षकी रमिताले समान उमेरकी शिलुसँग विवाह गर्न लागेको प्रस्ट भएर नै भाउजूले हराएको नाटक गरेर प्रहरी कार्यालयमा उजुरी दिएकी रहिछन्।

उनको एक मात्र उद्देश्य शिलुबाट छुटाएर लैजाने मात्रै देखियो। प्रहरी कार्यालय सातदोबाटोमा प्रहरीले पनि दुबैका परिवारलाई जिम्मा लिएर जान भन्यो। रमिता दाइभाउजूसँग जान मानिनन्। उनले आफू असुरक्षित हुने बिन्ती गरिन्।

दिउँसो १ बजेसम्म सातदोबाटो प्रहरी वृत्तमा छुट्टाछुट्टै र सामूहिक छलफल हुँदा रमितालाई जसरी पनि छुटाएरै छाड्ने जिद्दी गरिरहिन भाउजूले। ‘तिमिले केटीसँग विवाह गरेको बाबाआमाले थाहा पाए के हुन्छ, थाहा छ। हामीले भनेको मान, कोही केटा खोजेर विवाह गराइदिन्छौ,तिमी हामीसँग हिँड्,’भाउजूले रमितालाई भनिरहिन।

‘म शिलुसँगै विवाह गर्छु। तपाईँहरूको खुसीका लागि मैले विवाह गर्नुपर्ने हो या मेरो खुसीको? मेरो खुसी देख्न चाहनुहुन्छ भने उ(शिलु)सँग विवाह गर्दा के आपत्ति?’ रमिताले भाउजूलाई प्रश्न गरिन्।

‘परिवार के हुन्छ? भोलि दुख पाइन्छ। हामी छैन भन्नु,’भाउजूले धम्की दिइन। हातपातमा उत्रन खोजेपछि प्रहरीले रोक्यो। र, उजुरी दिएको कार्यालयमा जान सुझायो।

प्रहरी निरीक्षक सुवास केसीले एक जना प्रहरीको साथ लगाएर जाउलाखेल महिला सेलमा पठाए। उजुरी त्यही परेकाले हराएको मान्छे भेटिएको जानकारी दिन पनि महिला सेलमा जानु उपयुक्त हुने सुझायो।

त्यहाँबाट बाहिर निकाल्ने बित्तिकै तानेर लैजान्छन् भन्दै शिलु र रमिता छुट्टिएनन्। जतिसुकै शक्तिशाली आए पनि विवाह हुन नदिने अड्डी कसेकी दाइ भाउजू जाउलाखेलको महिला सेलमा पुगे।

रमिता भेटिएको जानकारी दिएर उजुरी फिर्ता लिन गएका दाइभाउजू, आफन्तहरू छुटाएर लैजान लागे। आफूसँग लैजान नपाए हराएको उजुरीमा भेटिएको जनाउन नसक्ने भन्दै कराइन भाउजू। दाइभाउजूका कोही आफन्त सुरक्षा निकायमा कार्यरत रहेको गाइँगुइँ चल्यो। हेरौँला किन छोड्छु र? भन्दै भाउजू घुमिरहिन्।

महिला सेलले उनीहरूको इच्छा अनुसार बस्छु भन्दा छुटाउन नमिल्ने बतायो। भाउजूले महिला सेलबाट रमितालाई तानेर निकाल्न खोजिन। महिला सेलका प्रहरी अधिकारीले जबरजस्ती गरे कानुनी कारबाही हुने भने पछि हच्किइन।

तर, रमितासँगै एउटै घरमा डेरा गरी बस्ने एक युवतीमाथि आक्रोश पोखिन। रमितालाई सँगै लान नपाए नछोड्ने धम्की दिइन। रमिताकी भाउजू यतिसम्म आक्रामक रूपमा प्रस्तुत भइन् की कसैले भनेको सुन्ने पक्षमा थिइनन्।

श्रीमान्ले सम्झाउँदा उल्टै जाइलाइन। ‘आफ्नी बहिनीलाई केही भन्न नसक्ने, म सँग कराउने?’ भन्दै भाउजू रिसले चुर भएको छनक दिइरहेकी थिइन। रमिता डरले काँपिरहेकी थिइन। जुनसुकै बेला जे पनि हुन सक्ने डरमा थिइन रमिता।

महिला सेलमा हराएको मान्छे भेटिएको कागजमा हस्ताक्षर गर्न नमानेकी भाउजूले पावर लगाइन। जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले शिलु र रमितालाई मात्रै छुट्टै बोलाए। रमिताको परिवार राखेर सोधे। लगत्तै पुगेका शिलुका बुबालाई आआफ्ना छोरी बुझेर लानु भन्ने आदेश दिए।

शिलुका बुबाले भने,’दुवै जना छुट्टिन सक्दैनन् भन्छन्, दुबैलाई बुझेर लैजान्छु, १५ दिनपछि विवाह दर्ताको प्रमाणपत्र लिएर उनीहरू यही आउँछन्।’

तर, एसएसपी अधिकारीले ‘त्यस्तो हुँदैन, आआफ्ना छोरी बुझेर लैजाने’ आदेश दिए। उसलाई लान पाइँदैन भने।

रमितालाई अधिकारीले दाइ भाउजूकै जिम्मा लगाइदिए। ‘यही मोबाइलले हिर्काइदिन्छु’ भनेर थर्काइरहेकी भाउजू, हो यिनीहरूले यस्तै गर्नुपर्छ भन्दै हराएको उजुरीबारे केही नगरी रमितालाई तानेर निस्किइन। उनले घमासान ठुलो युद्ध जितेको दर्साउँदै रमितालाई कर्यापझ्याप पारेर लगिन।

उनीहरू छुट्टिन तयार भए? भन्ने प्रश्नमा एसएसपी अधिकारीले आआफ्ना परिवारले लिएर गएको जवाफ दिए। ‘दुबैका बाबाआमा आउनु भएको रहेछ,हराएको मान्छे फेला परेपछि जिम्मा लगाइदिने त हो,बाहिर गएर जे गर्छन् गर्छन्,’उनले भने,’प्रहरी कार्यालयले विवाह गराउँदैन।’

शिलुका अनुसार रमिताको हात समाएर उभिँदा एसएसपी अधिकारीले छुट्टिन दबाब दिए। ‘तैँले के नाटक लिएर आको?, त सालाहरूको के नाटक हो?, केटा र केटी त हात समाएर हिँड्दैनन्,’ जस्ता शब्द प्रयोग गरे एसएसपी अधिकारीले।

रमितालाई दाइ भाउजूले लिएर गएपछि शिलु आत्तिइन। ‘मार्नेसम्मको धम्की दिने भाउजूले प्रहरीकै अगाडि अपहरण गरेर लैजान मिल्थ्यो? के प्रहरीले जोबाट असुरक्षित हो, उसैको जिम्मा दिन मिल्छ?’ शिलुले महिला सेलका अधिकारीसँग प्रश्न गरिन्। महिला प्रहरी अधिकारी जवाफविहीन भए। कार्यालय प्रमुखले गरेको निर्णयमा कुनै प्रतिक्रिया दिएनन्।

शिलु र रमितालाई छुटाउने प्रयास गरेको यो पहिलो पटक भने होइन रहेछ। उनीहरू दुई वर्षदेखि सम्बन्धमा बसेका रहेछन्। बिशेषगरी भाउजूले तनाव दिइरहँदा उनीहरू अब प्रमाण नै ल्याएर देखाउने प्रयासमा लागेका रहेछन्।

त्यसका लागि उनीहरूले आफूहरू जस्तै व्यक्तिहरूको हक अधिकारका लागि क्रियाशील मायाको पहिचान नेपालसँग सम्पर्क गरेछन्। विवाह दर्ता प्रक्रियाको जानकारी लिएर सिन्धुली गएका उनीहरूले सिन्धुलीबाट विवाह दर्ता गर्न नपाई फिर्ता आउनु पर्ने, त्यो पनि प्रहरी चौकीमा भएपछि सहयोग मागेछन्।

प्रहरी वृत्त सातदोबाटोमा पुगेका सचिव दक्षिण एसियामा पहिलो समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गर्ने सुरेन्द्र पाण्डेको रमिताका दाइभाउजू र उनीसँग आएकाहरूले आइडीकार्ड, नागरिकता मागे। सचिव पाण्डेले परिचयपत्र देखाए। उनीहरूले हेरेर मात्र चित्त बुझाएनन्। फोटो खिच्न खोजे। ‘तपाईँहरूलाई किन चाहियो हाम्रो परिचयपत्रको कपी?’ पाण्डेले प्रश्न गरे।

प्रहरी वृत्त सातदोबाटोको कार्यालयमा जसरी पनि रमितालाई छुटाएर लैजाने नत्र हराएको मान्छे भेटिए पनि नबुझ्ने तर्क गर्दै आएकी रमिताकी भाउजूले शक्ति प्रदर्शन गरिन्। अपहरणकै शैलीमा रमितालाई एसएसपी अधिकारीको सहयोगमा शिलुको साथबाट छुटाएर लगिन्।

बिहान ११ बजेदेखि बेलुकी ५ बज्न लाग्दासम्मको दृश्य हेरेपछि सचिव पाण्डेले भने,’प्रहरी कार्यालयमै समलिङ्गी जोडीलाई दुर्व्यवहार भयो,जो बाट सुरक्षा छैन भनेको उसैको साथ लगाएर पठाइयो, यो गम्भीर मानवअधिकार उल्लङ्घन हो। भोलि तलमाथि भयो भने जिम्मेवार को हुन्छ?’

एसियाकै पहिलो समलिङ्गी सभासद् एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले विज्ञप्ति निकालेर प्रहरीको संलग्नतामा समलिङ्गी महिलाको अपहरण भएको भन्दै गम्भीर मानवअधिकार उल्लङ्घनप्रति आपत्ति जनाएका छन्।

‘प्रहरी कार्यालयमा उपस्थित भएपछि रमिताले आफू परिवारबाट गालीगलौज र कुटपिटको सिकार भएको, र अहिले पनि असुरक्षित महसुस गरिरहेकी स्पष्ट रूपमा बताएकी थिइन,’पन्तले निकालेको विज्ञप्तिमा लेखिएको छ,’तर जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी अधिकारीले गम्भीरता नदेखाई अपमानजनक शैलीमा, “तैँले के नाटक लिएर आको?”, “त साला हरूको के नाटक हो?”, “केटा र केटी त हात समाएर हिँड्दैनन्” जस्ता शब्द प्रयोग गर्दै रमितालाई पुनः उनका भाउजूको जिम्मा लगाइदिए।’

असुरक्षित हुने कुराको जानकारी हुँदाहुँदै पनि प्रहरीकै अगाडि समलिङ्गी महिलालाई जबरजस्ती परिवारको नियन्त्रणमा फर्काइने कार्य गम्भीर प्रशासनिक त्रुटि मात्र नभई मानवअधिकारको स्पष्ट उल्लङ्घन भएको पन्तले उल्लेख गरे।

नेपालको सर्वोच्च अदालतले २०८० साल असार १२ गते दिएको आदेशअनुसार समलिङ्गी तथा तेस्रोलिंगी व्यक्तिहरूलाई विवाह गर्न सक्ने कानुनी अधिकार प्रदान गरिएको छ। हालसम्म १५–१६ समलिङ्गी जोडीहरूले विवाह दर्ता गराइसकेका छन्। रमिला र उनकी पार्टनरले पनि यही अधिकार प्रयोग गर्दै विवाह गर्न खोजेका थिए।

तर, राज्यका अङ्गबाटै उक्त अधिकार हनन हुनु, अपहरणमा सघाउन प्रहरीको संलग्नता देखिनु अत्यन्त निन्दनीय र अस्वीकार्य रहेको पन्तले बताए। रमिला र उनकी पार्टनरको तत्काल सुरक्षा सुनिश्चित गर्न मायाको पहिचान नेपालले माग गरेको छ।

उनीहरू आपसी स्वीकृतिमा सँगै बस्न चाहेका खण्डमा त्यसमा कुनै हस्तक्षेप नगर्न र घटनामा संलग्न प्रहरी अधिकारीमाथि निष्पक्ष अनुसन्धान गरी आवश्यक अनुसन्धानात्मक कारबाही गर्न मायाको पहिचान नेपालले सरकारको ध्यानाकर्षण गराएको छ।

विज्ञप्तिमा लेखिएको छ,’मानवअधिकार र व्यक्तिगत स्वतन्त्रताको संरक्षण गर्नु राज्यको मौलिक कर्तव्य हो। प्रहरीबाटै हुने यस प्रकारको गैरजिम्मेवार, पूर्वाग्रही र विभेदपूर्ण व्यवहारले समलिङ्गी समुदायमाथि थप अन्याय र भयको वातावरण सिर्जना गर्दछ।’

समाचार शेयर गर्नुहोस्
719
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.