निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

सम्पूर्णको स्वादिलो सपना : खुमलटारमा खाजा पसल

सम्पूर्णको स्वादिलो सपना : खुमलटारमा खाजा पसल

637
SHARES

ललितपुर : “काम पाइन्छ कि भनेर धेरै ठाउँ दौडिएँ। तर जति सुनिन्थ्यो, त्यस्तो पाइएन।“ २८ वर्षीया सम्पूर्ण अधिकारीको स्वरमा थकाइ र आँट दुवै सुनिन्छ।

सम्पूर्ण केही समयअगाडि रोजगारीको खोजीमा थिइन्। नवलपरासीको देवचुली नगरपालिकाबाट काठमाडौं आएकी उनी गाउँमा पनि, सहरमा पनि कामको चक्करमा भौँतारिइन्। तर न त योग्य काम पाइन्, न नियमित आम्दानी। यही दोधारमा उनी अमेरिका जाने तयारी गर्दै थिइन, जहाँ उनकी श्रीमती पहिले नै छन्।

“अन्तिम निर्णय लिने बेला मामाकी छोरीले भनिन्, ’अरूको भर पर्नुभन्दा आफूले केही गर।’ सम्पूर्ण सम्झिन्छिन्, “त्यो कुराले मलाई हौस्यायो।“

सम्पूर्णको विवाह अमेरिकामा रहेकी एक नेपालीसँग भइसकेको छ। विवाह दर्ता पनि घर भएको नवलपरासीकै देवचुली नगरपालिकामा गराइसकेकी छन्। श्रीमतीसँग परामर्श गरेर उनी नेपालमै व्यवसाय सुरु गर्ने निष्कर्षमा पुगिन्। “उहाँले पनि भन्नुभयो—नेपालमै केही प्रयास गर।“ सम्पूर्ण भन्छिन्।

त्यसपछि सम्पूर्णले सुरु गरिन सानो तर साहसी प्रयास—‘सम्पूर्ण खाजा घर’।

सम्पूर्ण अधिकारीले नयाँ वर्षको अवसर पारेर ललितपुरको खुमलटार, सुमेरु अस्पताल नजिकै खाजा र मासु पसल सञ्चालनमा ल्याइन्। पसल सानो छ, तर सफा छ। र उनी आफैँ र आमा मिलेर चलाउँछन्।

सम्पूर्ण ग्राहकलाई आइरहने बनाउन स्वादिला परिकार बनाउने काममा व्यस्त देखिन्छिन्, तर थकित छैनन्। “दालभात, भुटेको मासु, पकौडा, मःम,चाउमिन हरेक दिन अर्डर अनुसार बनाउँछौँ,“ उनले भनिन्।

व्यवसाय सुरु गर्नु अघि उनले मायाको पहिचान नेपाल मार्फत ’सफल पार्टनर’ले दिएको तालिम लिइन्। उक्त तालिमले व्यवसाय सञ्चालनका आधारभूत सीप, योजना बनाउने तरिका, खर्च र आम्दानीको लेखाजोखा, ग्राहकसँगको व्यवहार, र कानुनी ज्ञान दिएको उनी बताउँछिन्। “यो तालिम नपाएको भए मलाई कहाँबाट सुरु गर्ने थाहा हुने थिएन,“ उनले भनिन्।


’अमेरिका जानुपर्छ, तर केही गरेर’

सम्पूर्णको योजना अमेरिका जाने नै छ। तर अमेरिका पुग्नु अघि नेपालमै केही गरेर देखाउने अठोट पनि उत्तिकै छ। “यहाँ केही सम्भावना देखिन्छ भने किन कुर्नु? आफैँ केही गरेर देखाउनु नै साँचो सफलताको अनुभूति हो,“ उनी भन्छिन्।

नयाँ वर्षको आसपास, सम्पूर्णले खुमलटारमा सुमेरु अस्पताल नजिकै सानो तर आकर्षक खाजा पसल खोलेकी हुन्। पसलको दैनिकीमा उनकी आमा पनि साथ छिन्। बिहानदेखि बेलुकासम्म ग्राहकको सेवा, भान्साको काम, व्यवस्थापन सबै उनीहरू आफै गर्छन्।

सम्पूर्णको पहिचान एक समलिङ्गी महिला, समाजले सजिलै स्विकार्ने कुरा होइन। थुप्रै सामाजिक टिका–टिप्पणीका बाबजुद, उनले आफ्नै बाटो बनाइन्। आफूलाई मन पराउने व्यक्तिसँग विवाह गरेकी सम्पूर्णले नवलपरासीको देवचुली नगरपालिका कार्यालयमा वैवाहिक सम्बन्ध कानुनी रूपमा दर्ता गराइसकेकी छन्।

अहिले पनि उनी अमेरिका जाने तयारीमै छिन्। तर, त्यतिन्जेल यो पसल उनको कर्मथलो हो। पसलमार्फत उनले आर्थिक स्वतन्त्रता मात्र हैन, सामाजिक सन्देश पनि दिइरहेकी छन् “समलिङ्गी हुनु अपराध होइन, आत्मनिर्भर हुनु गौरव हो।”

‘सम्पूर्ण खाजा घर’ आज स्वादको माध्यम बनेको छ, तर भोलि त्यो सपनाको स्वाद बनोस् भन्ने चाहना छ, सम्पूर्णको। उनीजस्ता युवाहरूका लागि उनी सन्देश दिन्छिन्“हिम्मत गर्नुपर्छ। बाटो खुल्छ।“

समाचार शेयर गर्नुहोस्
637
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.