निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

विमानस्थल भ्रष्टाचारदेखि भुटानी शरणार्थी प्रकरणमा सांसदहरुबीच बाझाबाझ

विमानस्थल भ्रष्टाचारदेखि भुटानी शरणार्थी प्रकरणमा सांसदहरुबीच बाझाबाझ

612
SHARES

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारबारे अनुसन्धान र छानबिन गरी कारबाही गर्न अख्तियारलाई लेखि पठाउने निर्णय गरेको छ।

बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिको प्रतिवेदन ग्रहण गर्दै प्रतिवेदनका विषयवस्तु र विमानस्थलबारे उठेका भ्रष्टाचारका विषयमा अनुसन्धान र छानबिन गरी कारबाही गर्न अख्तियारलाई लेखि पठाउने निर्णय गरेको हो।

उपसमितिको प्रतिवेदनमा विमानस्थल निर्माण गर्दा ठेक्का प्रक्रियाको प्रारम्भदेखि नै अनियमितता र भ्रष्टाचार भएको उल्लेख गरिएको छ। निर्माणका क्रममा आर्थिक र प्राविधिक दृष्टिकोणले पनि व्यापक अनियमितता भएको औँल्याइएको छ।

सोही प्रतिवेदन र उपसमितिमाथि प्रश्न उठाउँदै समिति बैठकमा सांसदहरुबीच नोकझोक भएको छ। पोखरा विमानस्थलको अध्ययन गर्न बनेको उपसमितिको प्रतिवेदनप्रति नेकपा एमालेका सांसद योगेशकुमार भट्टराई र गोकुल बाँस्कोटाले असहमति जनाए।

सदस्यमा आफूलाई अस्वीकार गर्ने तर तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र तत्कालीन वन तथा पर्यटनमन्त्री प्रेमबहादुर आले निर्णय प्रक्रियामा सहभागी हुँदा पनि उपसमितिको सदस्य बस्दा उनीहरूको स्वार्थ नबाझिने? भनेर भट्टराईले प्रश्न गरे।

रास्वपाका सांसद असिम साहले नक्कली भुटानी शरणार्थी प्रकरणलगायतका काण्डतर्फ लक्षित गर्दै भैरहवा विमानस्थलको अध्ययन गर्न उपसमिति संयोजक बनेकी नेपाली काँग्रेसकी सांसद मञ्जु खाणमाथि प्रश्न उठाए पछि सन्नाटा छाएको थियो।

सांसद साहले नम्र शैलीमा गरेको टिप्पणीमा काँग्रेस सांसद खाण जङ्गिँदै आपत्ति जनाउँदा बैठकमा केहीबेर सांसदहरुबीच हेराहेर मात्र भयो, कोही बोल्न सकेनन्।

बैठकमा नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सार्वजनिक लेखा समितिको सभापति सत्तारुढ दलकै सांसद भएको बताएपछि समितिमा चर्काचर्की भएको थियो। मोदीले सत्ता गठबन्धन फेरिरहने कारणले केही समययता लेखा समिति सभापति पनि सत्तारुढ दलकै हुने गरेको भन्दै यसलाई सच्याउनुपर्ने माग गरे।

प्रतिनिधिसभाको बैठक एक साताका लागि स्थगित भएको भोलिपल्ट महिला तथा सामाजिक मामिला समितिको बैठकमा पनि सभापति किरणकुमार साह र समिति सदस्य कल्पना मियाँ कुसारीबीच चर्काचर्की चलेको छ।

बिहान साढे ७ बजेका लागि बोलाइएको बैठक सकिन लाग्दा करिब दुई घण्टा ढिला पुगेकी माओवादी सांसद कुसारीले बोल्न खोजेपछि सभापति साहले अनुमति लिएर बोल्न भन्दा केहीबेर नोकझोक चलेको हो।

सभापतिले बोल्न रोक्न खोजे पछि रिसाएकी सांसद कुसारीले अरू सांसद बसेको ठाउँतिर माइक फालिन। आफूले अनुगमनको नाममा भएको अनियमितताबारे बारम्बार प्रश्न गरेकाले सभापति रिसाएकाले आफूले पनि झोँक फेरेको उनको प्रतिक्रिया छ।

समाचार शेयर गर्नुहोस्
612
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.