निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

प्रतिव्यक्ति आम्दानी कुन प्रदेशको कति?

प्रतिव्यक्ति आम्दानी कुन प्रदेशको कति?

539
SHARES

काठमाडौं : चालु आर्थिक वर्ष राष्ट्रिय तहमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन अमेरिकी डलरमा १ हजार ४९६ हुने प्रारम्भिक अनुमान गरिएको छ।

अमेरिकी डलरमा बागमती प्रदेशको २ हजार ६०२, गण्डकीको १ हजार ६१९, कोशीको १ हजार ४०१, लुम्बिनीको १ हजार २०१, सुदूरपश्चिमको १ हजार १५३, कर्णाली प्रदेशको १ हजार ९ र मधेस प्रदेशको ९३२ हुने प्रारम्भिक अनुमान गरिएको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले आज आर्थिक वर्ष २०८१/८२ को प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको अनुमान सार्वजनिक गरेको हो। कार्यालयले आर्थिक वर्ष २०८१÷८२ मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा करिब ६१ खर्ब ७ अर्ब हुने अनुमान सार्वजनिक गरेको छ।

बागमती प्रदेशको योगदान सबै भन्दा बढी ३६.५२ प्रतिशत रहने तथ्याङ्क कार्यालयले जनाएको छ। सबैभन्दा कम कर्णाली प्रदेशले ४.१९ प्रतिशत योगदान पुर्‍याउने प्रारम्भिक अनुमान कार्यालयले गरेको छ।

कोशी प्रदेशले १५.९०, लुम्बिनीले १४.२३, मधेसले १३.१६, गण्डकीले ८.९८ र सुदूरपश्चिम प्रदेशले ७.०३ प्रतिशत योगदान पुर्‍याउने अनुमान कार्यालयले गरेको छ। गत वर्षको तुलनामा कुल गार्हस्थ्य उत्पादनमा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको योगदान सीमान्त रूपमा घटेको छ।

मधेस र बागमती प्रदेशको योगदान सीमान्त रूपमा बढेको छ। प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर सबैभन्दा धेरै गण्डकी प्रदेशको ५.५१ र त्यसपछिको धेरै बागमती प्रदेशको ५.१८ प्रतिशत रहने अनुमान कार्यालयले गरेको छ।

सबैभन्दा थोरै वृद्धिदर सुदूरपश्चिम प्रदेशको ३.३२ प्रतिशत हुने प्रारम्भिक अनुमान छ। चालु वर्ष बागमती प्रदेश बाहेक सबै प्रदेशमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी देखिन्छ भने बागमती प्रदेशमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढी देखिन्छ।

कोशी र मधेस प्रदेशमा व्यापार क्षेत्रले दोस्रो हिस्सा ओगटेको छ भने बागमती प्रदेशमा घरजग्गासम्बन्धी कारोबार सेवाको हिस्सा दोस्रो स्थानमा रहेको छ। प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा धेरै बागमती प्रदेशको र सबैभन्दा कम मधेस प्रदेशको हुने प्रारम्भिक अनुमान रहेको छ।

समाचार शेयर गर्नुहोस्
539
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.