काठमाडौं : भिजिट भिसाका नाममा भइरहेको मानव तस्करी प्रकरणले नेपालको राजनीतिमा ठुलै भूकम्प ल्याएको छ। विवादको केन्द्रमा छन्,गृहमन्त्री रमेश लेखक। गृहमन्त्री लेखक बुधवारदेखि सामाजिक सञ्जाल र सत्तारूढ, विपक्षी सबैको घेराबन्दीमा परेका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र अर्को विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निष्पक्ष छानबिनको माग गर्दै गृहमन्त्री लेखकको राजीनामा माग गरिरहेका छन्। मङ्गलवारको संसद् बैठकमा समेत विपक्षी दलले राजीनामा माग्ने बताएका छन्।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले भिजिट भिसामा गृहमन्त्री लेखकको नाम मुछिएकाले राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।
रास्वपाले भने आफ्ना पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री हुँदा काँग्रेसले संसदमा हङ्गामा गरेको बदला दिने रणनीति बनाएको छ। लामिछानेको नाम सहकारी प्रकरणमा जोडेर काँग्रेसले संसदमा जवाफ दिन रोकेको झोँक रास्वपाले लेखकमाथि पोख्ने तयारी गरेको छ।
रास्वपाले संसदीय दलको बैठकमा संसद् अवरोध गर्ने बारेमा छलफल गरेको छ। यसअघि लामिछाने मन्त्री हुँदा काँग्रेसका प्रमुख सचेतक रहेका लेखकले नै हिन्दी, संस्कृतका श्लोक र उखान उद्धृत गर्दै राजीनामा दिन दबाब बढाएका थिए।
सभापति लामिछाने हिरासतमा पुगेका बेला त्यसैको बदला लिने गरी संसदमा प्रस्तुत हुने मनस्थितिमा रास्वपा देखिएको छ। एक साता पछि मङ्गलवार बस्न लागेको बैठकमा गृहमन्त्री लेखकले आफूमाथि उठेको प्रश्नबारे जवाफ दिन समय माग गर्नुभएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले जानकारी दिए।
सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमाले लेखकको बचाउमा उत्रिदा सत्तारूढ काँग्रेसभित्र राजीनामा सुझाउने नेताहरूको सङ्ख्या पनि बढ्दै गएको देखिएको छ। डा. शेखर कोइराला, सुनिल शर्मा, रामशरण बजगाईँ लगायतका नेताहरूले मन्त्री लेखकले राजीनामा दिँदा नैतिकता जोगिने बताएका छन्।
काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकमा पूर्वमहामन्त्री शशाङ्क कोइरालाले राजीनामाको माग गर्ने नेताहरूलाई नै स्पष्टीकरण सोध्नु पर्ने माग गरे। तर प्रवक्ता डा. प्रकाशशरण महतले भने बैठकले लेखक दोषी देखिने कुनै आधार नभएको निष्कर्ष निकालेको जानकारी दिए।
भिजिट भिसामा विदेश जान चाहनेहरूबाट दैनिक ५० लाख रुपैयाँ रकम असुल गर्ने काममा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयकै प्रमुख सहसचिव तीर्थ भट्टराईको संलग्नताले तालुकदार मन्त्रालयको नेतृत्वकर्ता गृहमन्त्री लेखक चौतर्फी घेराबन्दीमा परेका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईलाई नियन्त्रणमा लिएको भोलिपल्टै गृहमा तानेको घटनाले गृहमन्त्री लेखकमाथि थप शङ्का पैदा भएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.