काठमाडौं : राजावादीहरूले मङ्गलवार सिफल चौरमा विरोध सभा गर्दैछन्। संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य सहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाको लागि संयुक्त जनआन्दोलन समितिले दिउँसो २ बजे जारी आन्दोलन आरम्भ हुने जानकारी दिएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले सभा, जुलुस, धर्ना गर्न निश्चित ठाउँ तोकिदिएपछि मङ्गलवार सिफल चौरमा पुग्ने बाध्यतामा रहेका राजावादीहरूले जारी राखेको प्रदर्शनमा रेडक्रस चिन्ह दुरुपयोग भएको आरोप लागेको छ।
रेडक्रस चिन्हको प्रयोग गरी राजनीतिक भाषणबाजी भएको छ। व्यक्तिगत रूपमा परिचालित चिकित्साकर्मी तथा अन्य व्यक्तिहरूले रेडक्रस चिन्हको प्रयोग गरी प्रदर्शन स्थलमा खटिएको पाइएको नेपाल रेडक्रस सोसाइटीले विज्ञप्ति निकालेर जानकारी दिएको छ।
एकपक्षलाई पृष्ठपोषण हुने गरी राजनैतिक विचारहरू राखेको सामाजिक सञ्जालमा व्यापक रूपमा प्रचार प्रसार हुँदा भ्रम सिर्जना हुनसक्ने अवस्था प्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा लेखिएको छ।
रेडक्रसले कुनै पनि राजनीतिक पक्ष वा विपक्षमा नउभिने उल्लेख गरेको छ। मानवीय मर्यादा र गरिमा कायम राख्न समर्पित रहेको भनेको छ। नेपाल रेडक्रसले तालिम प्राप्त प्राथमिक उपचारकहरू परिचालन गरी आकस्मिक उपचार सेवा पुर्याइरहेको जानकारी गराएको छ।
रेडक्रस चिन्हको दुरुपयोगले रेडक्रसको मानवीय कार्यको विश्वसनीयतालाई कमजोर बनाउने विज्ञप्तिमा लेखिएको छ। रेडक्रसका कर्मचारी तथा स्वयंसेवकहरूको सुरक्षामा गम्भीर जोखिम निम्त्याउन सक्ने उल्लेख गरेको छ। सम्पूर्ण सरोकारवालाहरू समक्ष रेडक्रस चिन्हलाई सम्मान गर्न र यसको दुरुपयोग नगर्न तथा नगराउन नेपाल रेडक्रस सोसाइटीले अपिल गरेको छ।
सोसाइटीका सूचना अधिकारी विपुल न्यौपानेले निकालेको विज्ञप्तिमा रेडक्रस चिन्हको अनधिकृत प्रयोग नगर्न, नगराउनु हुन अनुरोध गरिएको छ।
रेडक्रस चिन्हको प्रयोग किन?
नेपाल रेडक्रस सोसाइटी (नेरेसो) वि.सं.२०२० साल भदौ १९ गते स्थापित नेपालको सबैभन्दा ठुलो सञ्जाल भएको मानवीय सेवाको क्षेत्रमा सरकारको सहयोगीको रूपमा काम गर्ने मानवीय संस्था हो।
वि.सं २०२० साल माघ २४ गते नेपाल सरकार जेनेभा महासन्धिहरूमा सम्मिलित भएपछि प्रचलित कानुन अनुसार देशैभर कार्य गर्ने गरी नेरेसोलाई नेपाल सरकारबाट मान्यता प्राप्त भएको छ। कुनै पनि धर्म, वर्ण, लिङ्ग, वर्ग, जात, जातीयता, राष्ट्रियता वा राजनीतिक विचारधाराको आधारमा भेदभाव नगरी मानवीय विपत्तिलाई रोक्न वा कम गर्न प्रयास गर्नु नेपाल रेडक्रसको उद्देश्य रहेको छ।
रेडक्रसको चिन्ह तटस्थता, निष्पक्षता र मानवीय सेवाको प्रतीक हो जुन जेनेभा महासन्धि अनुसार अन्तर्राष्ट्रिय रूपमा नै संरक्षित प्रतीक चिन्ह हो। जसलाई नेपाल सरकारले वि.सं.२०२० सालमा नै पक्ष राष्ट्रका रूपमा अनुमोदन गरेको छ।
यस प्रतीक चिन्हलाई कुनै पनि राजनीतिक, धार्मिक वा वैचारिक उद्देश्यका लागि प्रयोग गर्न मिल्दैन। यसको प्रयोग रेडक्रस तथा रेडक्रिसेण्ट अभियानमा संलग्न प्रत्येक देशका राष्ट्रिय सोसाइटीहरूले आफ्नो पहिचानका लागि र मानवीय सेवाको संरक्षणका लागि प्रयोग गर्ने गर्दछन्।
अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट अभियानको सदस्यका नाताले रेडक्रस चिन्हको सम्मान तथा प्रवद्र्धन गर्नु नेपाल रेडक्रस सोसाइटीको दायित्व हुन आउँछ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.