निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

कालीकोट पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने तयारी

कालीकोट पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने तयारी

६ पालिका घाेषणा, तीन बाँकी

2.2k
SHARES

कालीकोट—कालीकोटका ६ वटा स्थानीय तहलाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा गरिएको छ। नौ स्थानीय तह रहेको कालीकोट जिल्लामा मङ्गलवार रास्कोट नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएसँगै जिल्लाका ६ पालिकाले यो मान्यता प्राप्त गरेका हुन्।

हाल कालीकोटमा ६ वटा गाउँपालिका र ३ वटा नगरपालिका गरी ९ वटा स्थानीय तह छन्। तीमध्ये तिलागुफा नगरपालिका, पलाँता गाउँपालिका र खाँडाचक्र नगरपालिका मात्र घोषणा हुन बाँकी छन्।

बाँकी रहेका तीन पालिकालाई क्रमशः असार १२ गते तिलागुफा नगरपालिका, असार १३ गते खाँडाचक्र र १४ गते पलाँता गाउँपालिकामा घोषणा गर्ने तयारी गरिएको छ।

जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कटक महतका अनुसार असार १५ भित्र सबै पालिकामा घोषणा सम्पन्न गरी कालीकोट जिल्लालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला’ घोषणा गर्ने लक्ष्यसहित तयारी थालिएको छ। उनले भने, “हामी यही महिनाभित्र कालीकोटलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्ने तयारीमा छौँ।”

स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख डा. भिष्मप्रसाद पोखरेलले ‘पूर्ण खोप अभियान’ले स्वास्थ्य प्रणाली सुधार, दिगो विकास, र मातृ शिशु स्वास्थ्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

उनका अनुसार १५ महिनाको उमेर नाघ्नु अघि र १६ देखि ५९ महिनासम्मका सबै बालबालिकालाई सम्पूर्ण खोप दिइसकेको सुनिश्चिततासहित पालिकालाई घोषणा गरिएको हो।

स्वास्थ्य सेवा कार्यालय कालीकोटका अनुसार, विगत चार आर्थिक वर्षको नियमित खोप कार्यक्रमको मूल्याङ्कन गर्दा लक्षित सूचकहरू अनुसार उल्लेखनीय प्रगति देखिएको छ।

खोप सुनिश्चितताको प्रमाणीकरणका लागि जिल्ला खोप समन्वय समितिले प्रत्येक वडामा पुगेर स्थलगत अनुगमन गरेको थियो। त्यसपछि मात्र पालिका घोषणा अभियान थालिएको हो।

९ वटै स्थानीय तहलाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा गरेपछि जिल्ला घोषणा गरिने छ। पालिका घोषणाको एक हप्ता पछि जिल्ला खोप समन्वय समितिसँग छलफल गरिने र त्यसपछि जिल्ला घोषणा हुने स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
2.2k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.