निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

असार १५ मा दोस्रो इन्द्रेणी रोपाइँ जात्रा, विशेष उत्सवका रूपमा मनाइने

असार १५ मा दोस्रो इन्द्रेणी रोपाइँ जात्रा, विशेष उत्सवका रूपमा मनाइने

545
SHARES
तस्बिर : पहिलो इन्द्रेणी रोपाइँ जात्रा बौद्ध

काठमाडौं-नेपालको धान रोप्ने मौसमी पर्व असार १५ को अवसरमा समलिङ्गी, तेस्रोलिंगी लगायत यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले ‘इन्द्रेणी रोपाइँ जात्रा’ को दोस्रो संस्करण विशेष उत्सवका रूपमा मनाउन लागेका छन्।

‘मायाको पहिचान नेपाल’, ‘डाकिनी हस्पिटालिटी’, ‘लिड नेपाल’, ‘इनक्लुसिभ फोरम नेपाल’, समर्पण सभ्य समाज नेपाल, सबैका लागि सहयोगी नेपाल, लगायत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको हक अधिकारमा क्रियाशील संघसंस्थाहरुको आयोजनामा असार १५ गते (जुन २९, २०२५) बौद्धस्थित होटल सुवामा कार्यक्रम आयोजना हुँदैछ।

यस वर्ष ‘हाम्रो सर्तमा, हाम्रो संस्कृतिमा’ नारासहित आयोजना हुने जात्रामा कृषि, वर्षा, लैङ्गिक विविधता, परम्परा र पहिचानलाई एउटै मञ्चमा जोड्ने प्रयास गरिएको मायाको पहिचान नेपालले जनाएको छ।

आयोजकहरूका अनुसार इन्द्रेणी रोपाइँ पर्व दिउँसो ३ बजे सुरु भई ५ बजेसम्म चल्नेछ, जसमा धान रोप्ने परम्परागत विधि, दही-चिउरा, मारुनी नृत्य, हिलो खेल, हास्यव्यङ्ग्य प्रस्तुतिहरू, र रङ्गीचङ्गी सांस्कृतिक पहिरन विशेष आकर्षण हुनेछन्।

रोपाइँ जात्रा नेपालको कृषिजन्य सांस्कृतिक पर्व हो, जसले मनसुनको स्वागत गर्दै धान रोप्ने कार्यको शुभारम्भलाई सामाजिक उत्सवमा परिणत गर्छ। लामो समयदेखि यो पर्वमा पुरुषहरूले महिलाको भेषमा नाच्ने, गीत गाउने परम्परा रही आएको छ।

यही सांस्कृतिक अभ्यासलाई आधार मानेर यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले आफूलाई समेटिएको अनुभूति गर्दै इन्द्रेणी रोपाइँ जात्रालाई आफ्नै शैलीमा उत्सवको रूपमा विस्तार गरेका हुन्।

यस्तो सांस्कृतिक पुनः प्रस्तुतिले यस समुदायको इतिहासमा धार्मिक–सांस्कृतिक भूमिकालाई पुनः सम्झाउने काम गरेको आयोजकहरू बताउँछन्। ऐतिहासिक रूपमा धामी झाँक्री, पुजारी, गुरुजस्ता भूमिकामा संलग्न मानिने यो समुदाय कृषिमा समेत ज्ञान साटासाट र प्रशिक्षणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको उल्लेख गरिन्छ।

इन्द्रेणी पर्यटन’ प्रवर्द्धनमा लागिपरेका पूर्व संविधानसभा सदस्य एवं ‘मायाको पहिचान नेपाल’का कार्यकारी निर्देशक सुनिल बाबु पन्तका अनुसार, यस्ता पर्वले नेपालको विविध सांस्कृतिक स्वरूपलाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा फरक ढङ्गले प्रस्तुत गर्ने सम्भावना बोकेको छ।

“पर्यटन केवल हिमाल र मन्दिर मात्र होइन, यहाँको संस्कृति, खेत, हिलो, नाचगान, र पहिचान पनि हुन्,” पन्तले भने, “हामी आफ्ना गीत, कथा र खेतमै हाम्रो प्राइड रोप्दैछौं।”

इन्द्रेणी रोपाइँ जात्रा ‘राष्ट्रिय धान दिवस’ सँग पनि जोडिएको छ। किसानहरूका श्रमको सम्मानस्वरूप आयोजना हुने यो दिवसमा परम्परागत रूपमा दही(चिउरा खाइन्छ, सामूहिक रूपमा रोपाइँ गरिन्छ, र सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिन्छ।

समानान्तर रूपमा इन्द्रेणी रोपाइँ जात्राले यो परम्परालाई लैङ्गिक विविधताको संवेदनशीलतासहित पुनः परिभाषित गर्दै समाजभित्र लैङ्गिक र यौनिक अल्पसङ्ख्यक समुदायको भूमिका र पहिचानलाई सम्मान दिने उद्देश्य राखेको छ।

मायाको पहिचान नेपाल’का अनुसार यो जात्रामा जो–कोही सहभागी हुन सक्छन्, केवल दर्शक होइन, उत्सव मनाउने सह–पात्रका रूपमा। सहभागीहरूलाई रङ्गिन, परम्परागत र खेतमै जान मिल्ने पहिरनमा आउन अनुरोध गरिएको छ।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले मनाए इन्द्रेणी रोपाई जात्रा

समाचार शेयर गर्नुहोस्
545
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.