निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

जुम्लाको तीलामा ‘काठको पँदालो’ फेर्नुपर्ने झन्झट अन्त्य

जुम्लाको तीलामा ‘काठको पँदालो’ फेर्नुपर्ने झन्झट अन्त्य

412
SHARES
३० लाख २६ हजार रुपैयाँको लागतमा निर्माण भएको सिँचाइ कुलो । तस्बिर : मानबहादुर/पहिचान डटकम

कालीकोट-जुम्लाको तीला गाउँपालिका–७ स्थित झुसेअरा देखि बल्लाबाटा हुँदै लुलेसम्म सिँचाइ कुलो निर्माण सम्पन्न भएपछि स्थानीयवासी उत्साहित भएका छन्।

अघिल्लो वर्षसम्म बसौँदेखि काठको पँदालो प्रयोग गरेर खेतमा सिँचाइ गर्दै आएका किसानहरूले यसपटक पक्की कुलो बनेपछि दीर्घकालीन समाधानको अनुभूति गरेका छन्।

गाउँपालिका र बेलायती राजदूतावासको आर्थिक सहयोगमा सञ्चालित “स्थानीय पूर्वाधार सहयोग कार्यक्रम” अन्तर्गत ३६० मिटर लम्बाइको पक्की कुलो निर्माण गरिएको हो। यस आयोजनाबाट स्थानीयमा खेती प्रणालीमा सुधार आउने र वातावरणमैत्री अभ्यासको थालनी हुने अपेक्षा गरिएको छ।

वडा नम्बर ७ का अध्यक्ष खम्बीलाल रोकायाले कुलो निर्माणसँगै प्रत्येक वर्ष काठको पँदालो फेर्नुपर्ने झन्झट अन्त्य हुनुका साथै जङ्गलको फडानीसमेत रोकिने जानकारी दिए। “अब हाम्रो जङ्गल जोगिने मात्र होइन, सिँचाइको भरपर्दो संयन्त्रले खेतीमा सुधार ल्याउनेछ,” उनले भने।

सिँचाइ आयोजना निर्माणमा संलग्न अधिकांश युवा अघिल्लो वर्षसम्म रोजगारीका लागि भारत जान बाध्य थिए। तर यसपटक उनीहरूले गाउँमै काम गर्ने अवसर पाए। उपभोक्ता समितिका अध्यक्ष आइते रोकायाका अनुसार कामदारको छनोट पारदर्शी ढङ्गले गरिएको थियो। उनीहरूलाई बैङ्क खातामार्फत पारिश्रमिक भुक्तानी गरिएको उनले बताए।

महिला कामदार बाँचु रोकायाले नयाँ प्रणालीबाट ढुक्क भएर काम गर्न सक्ने अवस्था आएको बताइन्। “पहिले नगदमा ज्याला दिँदा असजिलो हुन्थ्यो, अहिले भने बैङ्क खातामार्फत भुक्तानी हुने भएपछि विश्वास बढेको छ,” उनले भनिन्।

कार्यस्थलमा प्राथमिक उपचारको सुविधा र महिला–पुरुष दुवैलाई समान ज्यालाको सुनिश्चितताले महिला सहभागिता पनि उल्लेखनीय बनेको छ।

वडा प्राविधिक राम देवकोटाका अनुसार कुल ३० लाख २६ हजार रुपैयाँको लागतमा कुलो निर्माण सम्पन्न गरिएको हो। यस सिँचाइ कुलोबाट ४६ घरधुरीले प्रत्यक्ष रोजगारी पाएका छन् भने ८६ घरधुरी लाभान्वित हुने अनुमान गरिएको छ।

निर्माण सम्पन्न भएपछि ९ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको छ। अब स्थानीय अगुवा कृषकहरूले दुई बालीमात्र होइन, तीन बालीसम्म खेती गर्न सक्ने आशा गरिएको छ।

साथै, सिँचाइको सुविधा विस्तारसँगै करेसाबारीमा सागपात, टमाटर लगायतका तरकारी उत्पादन पनि वृद्धि भई परिवारको पोषणमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

समाचार शेयर गर्नुहोस्
412
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.