निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

राक्सेस्थित पाटन क्षेत्रमा पहिरो, १३ भेडा र एक घोडा पुरिए

राक्सेस्थित पाटन क्षेत्रमा पहिरो, १३ भेडा र एक घोडा पुरिए

465
SHARES
फायल तस्बिर

कालीकोट – जुम्लाको तातोपानी गाउँपालिका–८ राक्सेस्थित पाटन क्षेत्रमा आएको पहिरोले एक घोडासहित १३ वटा भेडा पुरिएको छ।

सोमबार दिउँसो करिब ४ बजे पाटनमा चरिरहेका बेला अचानक माथिबाट आएको ठूलो पहिरोले ती पशुहरू पुरिएको प्रहरीको भनाइ छ।

तातोपानी गाउँपालिका अन्तर्गत टोप्लास्थित प्रहरी इकाइका इन्चार्ज, प्रहरी सहायक हवल्दार गणेशबहादुर बलायरका अनुसार मुस्लो कुहिरोका कारण क्षतिको यकिन विवरण आउन कठिन भइरहेको छ। “कुहिरो लागेकाले अझै सबै पशु पुरिएका छन् वा केही सकुशल छन् भन्ने पत्ता लाग्न सकेको छैन,” उनले भने।

उनका अनुसार भेडा चराइरहेका कृषकहरूले आफ्ना हराएका पशु खोज्ने प्रयास गरिरहेका छन्। पहिरो गएको स्थान सदरमुकामबाट करिब आठ घण्टाको पैदल दूरीमा पर्छ।

इन्चार्ज बलायरको नेतृत्वमा प्रहरी टोली स्थानीयको सहयोगमा घटनास्थलमा पुगेर उद्धार तथा खोजी कार्य गरिरहेको छ।

तातोपानी–७ का भेडापालक कृषक टेकराज रावतका अनुसार आठ जना कृषकका भेडाहरू पहिरोले पुरिएका हुन्। “हामीकहाँ माथिबाट ठूलो पहिरो खस्यो, केही बुझ्न नपाउँदै भेडा पुरिए,” उनले भने।

तातोपानी–७ का वडाध्यक्ष तिलक रावतले पहिरोका कारण क्षति धेरै भएको आशंका गरे पनि यकिन विवरण आउन समय लाग्ने बताएका छन्। “कृषकहरू अझै भेडा गन्दै छन्,” उनले भने, “नोक्सानी धेरै छ, तर कति भन्ने अझै पत्ता लागेको छैन।”

सोमबार पहिरोले भेडा पुरिएको खबर आए पनि मंगलबारसम्म यसको यकिन विवरण प्राप्त हुन सकेको छैन।

समाचार शेयर गर्नुहोस्
465
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.