निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

कालीकाेटकाे फुगाड खोलामा पुल नहुँदा जोखिममा यात्रु

कालीकाेटकाे फुगाड खोलामा पुल नहुँदा जोखिममा यात्रु

तीन वर्षमा चार जना बेपत्ता, स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य

426
SHARES
फुगाड खाेलमा जाेखिमपूर्ण यात्रा गर्दै स्थानीय । तस्बिर : मानबहादुर/पहिचान डटकम

कालीकोट — कर्णाली करिडोरअन्तर्गत कालीकोटको रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकाको सिमानामा पर्ने फुगाड खोलामा पुल अभावले बर्सेनि सास्ती बढ्दै गएको छ।

बाढीले पुराना संरचना बगाएको पाँच वर्ष बितिसक्दा पनि स्थायी पुल निर्माण नहुँदा सवारी आवागमन मात्र होइन, स्थानीयको ज्यान समेत जोखिममा परेको छ।

२०७७ सालको असारमा आएको बाढीले नेपाली सेनाले निर्माण गरेको बेलिब्रिज र पुरानो झोलुङ्गे पुल बगाएपछि हालसम्म कुनै पनि विकल्प तयार भएको छैन। सुख्खा मौसममा सवारी साधन र यात्रुले खोला तर्न सक्ने भए पनि वर्षायाममा अवस्था जटिल हुन्छ। खोलामा पानी बढेपछि साना गाडी र मोटरसाइकल दुवैतर्फकै किनारामा थन्किन्छन्। पैदल यात्रुहरू ३–४ घण्टाको घुमाउरो बाटो हिँडेर झोलुङ्गे पुलसम्म पुग्न बाध्य छन्।

पचालझरना–४ की सुमित्रा बम भन्छिन्, “खोला बढ्दा तर्नै सकिन्न, धेरै अप्ठ्यारो हुन्छ। पैदल हिँड्नेलाई अझै गाह्रो पर्छ।” कांग्रेस नेतृ दिलु बमका अनुसार गत वर्ष मात्र तीन वटा मोटरसाइकल खोलाले बगाएको थियो। पछिल्लो तीन वर्षमा फुगाड खोलाले बगाएर चार जनाको ज्यान समेत लिएको छ।

यही कारणले गर्दा जिल्ला समन्वय समिति उपप्रमुख मीना रावत विकजस्ता जनप्रतिनिधिसमेत खोला तर्न नसकी घर फर्किनुको साटो सदरमुकाममै फर्कनु परेको छ। उनी भन्छिन्, “सरकारले गाडी हुम्लासम्म पुगेको चर्चा गरिरहेको छ, तर फुगाड खोलामै बाटो अवरुद्ध हुँदा त्यो प्रचार मात्रै देखिन्छ।”

२०७९ साल असारमा कालीकोटका ९ स्थानमा पुल निर्माणको ठेक्का भए पनि हालसम्म कुनै पनि काम सुरु हुन सकेको छैन। कर्णाली करिडोर सडक डिभिजन कार्यालय सिमिकोटका प्रमुख बेलबहादुर नेपालीका अनुसार फुगाड खोलाको पुलको डिजाइन नै सडक विभागबाट स्वीकृत भइनसकेको कारण काम अघि बढ्न सकेको छैन।

यता, फुगाड खोलाको समस्या समाधानका लागि स्थानीयले कालीकाेटका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नारायणप्रसाद भट्टराईको ध्यानाकर्षण गराएका छन्। नागरिक अगुवा राजु बोगटी भन्छन्, “झोलुङ्गे पुल तत्काल निर्माण गर्नुपर्छ। खोलामा पुल नभएकाले मान्छेहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।”

प्रजिअ भट्टराईले सडक डिभिजन कार्यालय हुम्ला र बाजुराको पीलुचौर कार्यालयसँग समन्वय गरी समस्या समाधानका लागि प्रयास थालिएको बताएका छन्। उनले सडक विभागका महानिर्देशकसँग छलफल गरी तत्कालीन समाधान खोज्ने प्रतिबद्धता समेत जनाएका छन्।

समाचार शेयर गर्नुहोस्
426
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.