कालीकोट — ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ कालीकोट जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ।
जिल्ला खोप समन्वय समिति कालीकोटका संयोजक तथा तथा जिल्ला समन्वय समिति कालीकोटका प्रमुख धनजीत बहादुर शाहीको अध्यक्षता एवम् कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाहीको उपस्थितिमा शनिवार कालीकोट जिल्लालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो।
६ वटा गाउँपालिका र ३ नगरपालिका गरी ९ स्थानीय तह रहेको कालीकोटका ८२ वटै वडामा सबै नागरिकले सबै खोप पाएका कारण पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो। नियमित पाउनुपर्ने सबै खोप पाएका कारण जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिए।
सबै पालिका घोषणा सम्पन्न पश्चात् कालीकोट जिल्लालाई नै पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो।

प्रत्येक वर्ष खोप पाउने उमेर समूहका बालबालिकाले नियमित खोप प्राप्त गरिसकेपछि जिल्ला घोषण गरिएको स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ। एकपटक पूर्ण खोप घोषणा गरिसकेपछि पनि प्रत्येक वर्ष नयाँ थपिने बालबालिकालाई समेत आवश्यक खोप मात्रा पूरा गरिएको सुनिश्चित भएपछि मात्र सुनिश्चितता तथा दिगोपना घोषणा गरिन्छ।
अधिकृत महतका अनुसार यो अभ्यासले नेपाल सरकारको ‘पूर्ण खोप सुनिश्चित राष्ट्र’ बनाउने लक्ष्यमा टेवा पुर्याएको छ। कार्यक्रममा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न योगदान पुर्याउने सबै स्थानीय तहका स्वास्थ्य शाखालाई सम्मान गरिएको थियो।
आर्थिक वर्ष २०८०/०८१ को जिल्लाभरको मूल्याङ्कनमा खाँडाचक्र नगरपालिका उत्कृष्ट पालिका घोषित भएको छ। सोही अवसरमा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मानबहादुर विष्टलाई नगद पाँच हजारसहित पुरस्कृत गरिएको छ।
त्यस्तै, उत्कृष्ट स्वास्थ्यकर्मीको रूपमा पचालझरना गाउँपालिकाको राम्नाकोट स्वास्थ्य चौकीमा कार्यरत अहेव भद्र सेजुवाललाई सम्मान गरिएको छ। यस्तै, कार्यक्रममा सञ्चारमाध्यमको तर्फबाट महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेपाल पत्रकार महासङ्घ कालीकोटलाई सम्मान गरिएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.