निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

“नेतृत्व होइन, अब देशलाई अभिभावक चाहिएको छ”

“नेतृत्व होइन, अब देशलाई अभिभावक चाहिएको छ”

2.8k
SHARES
तस्बिर : एआई

देशको अभिभावक हुनुको अर्थ केवल पदमा बस्नु मात्र होइन, त्यो पदसँग आउने जिम्मेवारीलाई निष्ठापूर्वक निर्वाह गर्नु हो। यस्ता अभिभावकले आफ्ना आचरण, बोली र व्यवहारबाट नागरिकहरूमा विश्वास, सुरक्षा र आशाको भावना सिर्जना गर्छन्। उनीहरू देशलाई माया र जिम्मेवारीका साथ हेर्छन्, आफ्ना भनाइलाई व्यवहारमा उतार्छन् र सधैँ सम्पूर्ण जनताको हितका लागि सोच्दछन्।

हालै प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गर्नुभएको विचार—जसले नयाँ पुस्ताको “४० कटेसी रमौँला…“ भन्ने गीतलाई खण्डन गर्दै २० वर्षमै विवाह गरी तीन सन्तान जन्माउने सोचलाई समर्थन गर्छ—त्यो दृष्टिकोणले देश र आगामी पुस्ताका लागि गम्भीर चुनौती र समस्या सिर्जना गर्न सक्छ।

विवाह र परिवार नेपाली समाजको केन्द्रमा रहेका मूल मूल्यहरू हुन्, जसलाई हाम्रो सांस्कृतिक परम्परा, धार्मिक विश्वास र सामाजिक मान्यताहरूले आकार दिएका छन्। ग्रामीण क्षेत्रहरूमा मात्र होइन, सहरी क्षेत्रका केही भागहरूमा पनि २० वर्षको उमेरमै विवाह गर्नु सामान्य र स्वीकार्य मानिन्छ।

तर अहिलेका दिनमा ग्रामीण क्षेत्रमा उमेर नपुगेका किशोर–किशोरीहरूले भागेर विवाह गर्नु र त्यसको भिडियो बनाएर सामाजिक सञ्जालमा हाल्नु सामान्य जस्तै भइसकेको छ। यद्यपि कानुन अनुसार विवाहको न्यूनतम उमेर अभिभावकको सहमतिसहित २० वर्ष तोकिएको छ, व्यवहारमा सामाजिक दबाबका कारण धेरै युवा–युवतीहरू २० वर्ष पुग्ने बित्तिकै विवाह गर्न बाध्य हुन्छन्। विशेषतः ग्रामीण भेगमा अभिभावकहरू आफ्ना छोराछोरीलाई चाँडै विवाह गरिदिनु नै सुरक्षित निर्णय हो भन्ने सोच राख्छन्।

विवाहपछि महिलाबाट तुरुन्तै आमाको भूमिका निर्वाह गर्ने अपेक्षा गरिन्छ। परिवार र समाजले चाँडै सन्तान जन्माउनु नै ‘सफल विवाह’ को प्रतीक मानेका कारण महिलाहरूले विवाहपछि छोटो समयमा नै सन्तान जन्माउने प्रवृत्ति देखिन्छ। विशेषगरी कृषि आधारित समुदायहरूमा धेरै सन्तानलाई अझै पनि सामाजिक र आर्थिक सुरक्षाको आधारको रूपमा हेर्ने गरिन्छ। तर, धेरैजसो युवतीहरू शारीरिक रूपमा गर्भधारणका लागि पूर्ण रूपमा तयार नहुन सक्छन्।

यस अवस्थामा सुत्केरी हुँदा विभिन्न जटिलताहरू (जस्तै अत्यधिक रक्तस्राव, कम तौलका शिशु जन्मनु) हुने सम्भावना बढ्न सक्छ। आमा र नवजात शिशु दुवैको मृत्युदर पनि उच्च हुन सक्छ। धेरै सन्तान जन्माउँदा आमाको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ, जस्तै एनीमिया वा हड्डी सम्बन्धी समस्या। नेपाली समाजमा धेरै सन्तान हुनु केवल सांस्कृतिक हिसाबले होइन, आर्थिक दृष्टिकोणबाट पनि महत्त्वपूर्ण ठानिन्छ।

ग्रामीण परिवारहरूमा सन्तानलाई खेतीपाती, पशुपालन र घरेलु काममा सहयोगी मानिन्छ। त्यहाँ छोरालाई भविष्यको आर्थिक र सामाजिक सुरक्षा भनेर हेरिन्छ, भने छोरीलाई विवाहपछि पराइ घर जाने भनेर अस्थायी रूपमा मात्र मूल्याङ्कन गरिन्छ।

तर अहिलेको परिस्थितिमा धेरै सन्तान पालेर परिवार सञ्चालन गर्नु दिनानुदिन कठिन बन्दै गएको छ। महँगी तीव्र गतिमा बढिरहेको छ, शिक्षा र स्वास्थ्यमा लाग्ने खर्च पनि बढेको छ, र रोजगारीका अवसरहरू पर्याप्त छैनन्। यस्तो अवस्थामा ठुलो परिवार हुनु आफैँमा आर्थिक बोझको कारण बन्न सक्छ।

अझ विशेषगरी युवावस्थामै विवाह गरी धेरै सन्तान जन्माउनु जीवनभर गरिबीको दुष्चक्रमा फस्ने जोखिम बढाउँछ। शिक्षा नपाउनुका कारण सीप र दक्षताको अभाव हुन्छ, जसले रोजगारीका अवसर घटाउँछ। यसले युवावस्थाको सृजनशीलता दबिन्छ र आत्मनिर्भर बन्ने सम्भावना कमजोर हुन्छ।

यसैगरी, कम उमेरमै भएको विवाहले शिक्षामा अवरोध सिर्जना गर्छ। विशेषगरी महिलाहरू विवाहपछि पढाइ छोड्ने सम्भावना बढी हुन्छ, जसका कारण उनीहरूको भविष्यका अवसरहरू सीमित भइजान्छन्। यस्तो अवस्था केवल व्यक्तिगत विकासमा बाधक हुन्छ, तर राष्ट्रिय रूपमा पनि लैङ्गिक असमानता बढाउँछ र समग्र विकासको गति धीमा पार्छ।

जब अभिभावकले आफ्ना सन्तानलाई आवश्यक ध्यान, समय र स्रोत उपलब्ध गराउन सक्दैनन्, तब बालबालिकाको समग्र विकासमा असर पर्न सक्छ। पोषण, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत आवश्यकतामा कमी आउने सम्भावना बढ्छ। यस्तो अवस्था गरिबी र शिक्षा अभावसँग जोडिँदा बालश्रम वा बालविवाह जस्ता समस्याहरू फेरि दोहोरिने खतरा रहन्छ।

नेपालको सामाजिक परिवेशमा २० वर्षको उमेरमै विवाह गरी धेरै सन्तान जन्माउने चलन परम्परागत संस्कृतिहरू, आर्थिक आवश्यकताहरू र सामाजिक दबाबहरूसँग गहिरो सम्बन्धित छ। तर लामो समयको हिसाबले हेर्दा यसले स्वास्थ्य, शिक्षा र आर्थिक प्रगतिमा नकारात्मक प्रभाव पार्छ।

त्यसैले समाजमा चेतना फैलाउने, शिक्षाको पहुँच बढाउने, स्वास्थ्य सेवामा सुधार ल्याउने र सामाजिक दृष्टिकोणमा परिवर्तन गर्ने कामलाई प्राथमिकता दिनुपर्छ।

यिनै उपायबाट मात्र व्यक्तिको जीवनस्तर सुधार हुनेछ र राष्ट्रको समग्र विकासमा पनि सकारात्मक योगदान पुग्नेछ। साथै, केवल उखान–टुक्कामात्र होइन, देशलाई साँचो अभिभावकत्व गर्न सक्ने आत्मीय र जिम्मेवार नेतृत्वको खोजीमा हामी रहनुपर्छ।

समाचार शेयर गर्नुहोस्
2.8k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.