निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

“मेहन्दी र हरियो चुरामा पहिचानको स्वर”(तस्बिरहरू)

“मेहन्दी र हरियो चुरामा पहिचानको स्वर”(तस्बिरहरू)

525
SHARES

काठमाडौं – साउन भर हरियो चुरा, हरियो साडी, पोते र मेहन्दीले महिलाहरू आफूलाई सजाउँछन्। यसलाई वैवाहिक सौभाग्य, समर्पण र सौन्दर्यको प्रतीक मानिन्छ। यही मौलिक परम्परालाई आत्मसात् गर्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय (समलिङ्गी, तेस्रोलिंगी, अन्तरलिंगी र दुईलिंगी व्यक्तिहरू) ले यस वर्ष साउन सुरु हुने अघिल्लो दिन मेहन्दी कार्यक्रम आयोजना गरी आफ्नो पहिचान र संस्कृतिलाई पुनः सम्झिए।

“मायाको पहिचान नेपाल” को केन्द्रीय कार्यालयमा आयोजना गरिएको उक्त कार्यक्रममा दर्जनौँ व्यक्तिहरूको उत्साहजनक सहभागिता थियो। संस्थाका प्रतिनिधिहरूका अनुसार, यो कार्यक्रमले परम्परा, संस्कृति र पहिचानलाई समेट्दै सबैको लागि संस्कारमा समान पहुँचको सन्देश दिएको छ।

संस्थाले जानकारी दिँदै भनेको छ: “साउन महिनाको सांस्कृतिक अभ्यास कुनै जात, वर्ग वा लिङ्ग विशेषको मात्रै होइन। यो सम्पूर्ण नेपाली समाजको साझा परम्परा हो, जसमा सबै व्यक्तिहरूले आत्मीयताका साथ भाग लिन पाउनुपर्छ।”

सांस्कृतिक सन्दर्भमा मेहन्दी केवल शारीरिक शृङ्गार होइन। आयुर्वेदिक दृष्टिले यसले मानसिक र शारीरिक स्वास्थ्यमा पनि सकारात्मक असर पार्छ। टाउको दुखाइ, ज्वरो र मानसिक तनाव कम गर्ने प्राकृतिक गुण भएको विश्वास गरिन्छ। साथै, यो आत्माभिव्यक्तिको एक माध्यम बनेको छ, खासगरी ती समुदायका लागि, जो विगतमा यस्तो परम्पराबाट टाढा राखिएका थिए।

कार्यक्रममा सहभागी एक तेस्रोलिंगी व्यक्तिले भनिन्: “सानो छँदा आमा र दिदीहरूलाई हरियो चुरा र मेहन्दी लगाएको हेर्थेँ, तर आफूलाई त्यस्तो परम्पराबाट टाढा राखिएको महसुस हुन्थ्यो। आज, आफैँले त्यो संस्कारमा भाग लिन पाउँदा आफ्नो पहिचानलाई पूर्ण रूपमा अँगालेको अनुभूति भएको छ।”

मायाको पहिचान नेपाल ले भनेको छ, यस्तो पहलले लैङ्गिक विविधता भएका व्यक्तिहरूले परम्परामा भाग लिने अधिकार सुनिश्चित गर्छ, र समाजमा गहिरो सन्देश दिन्छ, कि संस्कृति केवल बंसअनुसारको सम्पत्ति होइन, अभ्यास र आत्मस्वीकृतिको आधारमा बनिने साझा सम्पदा हो।

कार्यक्रमले सांस्कृतिक निरन्तरता र सामाजिक समावेशिताको पक्षमा शक्तिशाली सङ्केत दिएको छ। युवापुस्ताले यस्ता मौलिक परम्परालाई अँगाल्दै आफ्ना स्वरहरू सांस्कृतिक माध्यमबाट मुखर पार्नु सामाजिक रूपान्तरणकै सङ्केत हो।

मेहन्दी कार्यक्रम, केवल एक शृङ्गारिक क्रियाकलाप होइन, यो सांस्कृतिक प्रतिरोध, सामाजिक अपनत्व र आत्मपहिचानको उत्सव हो।

समाचार शेयर गर्नुहोस्
525
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.