निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

“सेक्स के हो? जेण्डर के हो?” साझा धारणा बनाउन बृहत् नागरिक छलफल

“सेक्स के हो? जेण्डर के हो?” साझा धारणा बनाउन बृहत् नागरिक छलफल

764
SHARES

काठमाडौं — यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायसँग सम्बन्धित जटिल विषयमा स्पष्ट धारणा बनाउन बृहत् नागरिक आन्दोलनले साझा छलफलको पहल थालेको छ।

छलफलको सुरुवातमा नागरिक अभियन्ता दिनेश सापकोटाले सहभागीहरूलाई विषयबारे जानकारी गराउँदै भने, “यो कुरा बुझ्न पनि बाँकी छ। अनुभव छैन, अध्ययन पनि पुग्दैन। तपाईँहरूसँग छलफल गरेर हामी पनि केही कुरा सिकौँला, अरूलाई पनि भन्दै हिडौंला। लेख्दै जाउला।”

मार्टिन चौतारीमा भएको छलफलमा उनले यसलाई यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको प्रगतिशील आन्दोलनसँग जोडेर हेर्नुपर्ने धारणा व्यक्त गरे। “यसमा योगदान गर्न सकौँ भन्ने बृहत् नागरिक आन्दोलनको मनसाय यहाँनेर छ,” सापकोटाले भने।

आफूहरू सिसजेण्डर (जसको जन्मको लिङ्ग पहिचान र आत्मपहिचान एउटै हुन्छ) भएको उल्लेख गर्दै उनले सहभागीहरूलाई सम्बोधन गरे, “तपाईँहरू भुक्तभोगी हुनुहुन्छ। धेरै विवादित विषयहरू आउने वाला छन्। सिसजेण्डरको मान्छेले कार्यक्रम चलाइरहेका छौँ, तपाईँहरूले कन्सिडर गरिदिनुहोला।”

उनले अहिले भइरहेका बहसहरू कतिपय किताबी परिभाषाको आधारमा भए पनि व्यवहारिक रूपमा फरक हुन सक्ने जनाउँदै साझा सिकाइको प्रक्रिया आवश्यक रहेको बताए। “पहिचान (आइडेन्टीटी) किताबी परिभाषा अनुसार नहुन सक्छ। फरक हुन सक्छ। एकअर्कामा साझा गरेर, सिकेर, सिकाएर अगाडि बढ्ने, यो विषयमा साझा धारणा बनाउने बृहत् नागरिक आन्दोलनको मनसाय छ,” उनले भने।

सापकोटाका अनुसार संविधान संशोधनको सम्भावित प्रक्रियामा नीति निर्मातालाई प्रभाव पार्ने किसिमको सुझाव तयार पार्न बृहत् नागरिक आन्दोलनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायसँग निरन्तर संवाद आवश्यक देखेको छ।

“शल्यक्रिया (सर्जरी) को कुरा होस् वा नागरिकताको कुरा होस्, ट्रान्स वुमनले महिलाको नागरिकता लिने विषय होस्, यी जटिल मुद्दामा आजै साझा धारणा बन्दैन,” उनले स्पष्ट पारे।

उनले थपे, “तपाईँहरूबाट सुझाव (इन्पुट) लिन्छौँ। आवश्यक परे फेरि यस्तै छलफलहरू आयोजना गर्नेछौँ।”

छलफल सुरु गर्दै नागरिक अभियन्ता सापकोटाले भने, “यो विषयमा सामान्य पनि जानकारी नभएका मान्छेहरू यहाँ छौँ। सेक्स भनेको के हो? जेण्डर भनेको के हो? ट्रान्सजेण्डर कहिले हुन्छ? होमोसेक्सुएलिटी (समलैंगिकता) भन्या के हो? कतिपयले त ट्रान्ससेक्सुअलिटी शब्द पनि प्रयोग गर्छन्।”

उनका अनुसार यस्तो गन्जागोल अवस्थाबीच विषय स्पष्ट पार्न छलफल गरिएको हो। पारलैंगिकता वा पारलिंगी व्यक्तिको सन्दर्भमा उनले भने, “आम रूपमा बुझ्दा जसको लैङ्गिक पहिचानको चाहना एउटा हुन्छ तर शरीरको संरचना फरक हुन्छ, वा शरीरले मानसिक चाहनालाई समर्थन गर्दैन, त्यस्तो व्यक्ति पारलिंगी हो। शरीर र मस्तिष्कबीच विरोधाभास हुन्छ, जुन अवस्था गम्भीर क्लिनिकल चरणमा जान सक्छ। डाक्टरहरूले पनि त्यसलाई नै व्याख्या गरेका रहेछन्। समाधानका लागि शल्यक्रिया (सर्जरी) लगायतका उपायलाई मान्यता दिइएको रहेछ।”

उनले होमोसेक्सुएल (समलैंगिक) व्यक्तिहरू पारलिंगी समुदायभित्र नपर्ने स्पष्ट गरे। “तर एलजीबीटीआईक्यू++ (लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्सजेण्डर, इन्टरसेक्स, क्वियर र अन्य) समुदायभित्र भने सबै किसिमका व्यक्ति पर्दा रहेछन् भनेर मैले बुझेँ,” उनले भने।

सापकोटाका अनुसार ‘प्लसप्लस’ भन्नाले अन्य लैङ्गिक र यौनिक विविधता जनाउने वर्गहरू बुझिन्छ। “असेक्सुअल भनेको यौनको चाहना नहुने व्यक्ति, पानसेक्सुअल भनेको जुनसुकै लिङ्गप्रति यौन आकर्षण हुने व्यक्ति, अनि ननबाइनरी भनेको पुरुष वा महिला भनेर आफूलाई चिनाउन नचाहने व्यक्ति,” उनले सुनाए।

“त्यस्तै जेण्डर फ्लुड भन्ने श्रेणी पनि रहेछ, जसमा लैङ्गिक पहिचान परिवर्तनशील हुन्छ। एकै व्यक्तिमा लैङ्गिक पहिचान तरल रूपमा अनुभव हुने। एजेण्डर भनेको त्यो समुदाय हो, जसले आफूलाई कुनै पनि लैङ्गिक पहिचान दिन चाहँदैन,” सापकोटाले थपे।

उनले ननबाइनरीको परिभाषा अझ स्पष्ट पार्दै भने, “जो न पुरुष न महिला, दुवै पहिचान स्वीकार गर्दैनन्, अनि लैङ्गिक तरलताको अनुभव गर्छन्, उनीहरू ननबाइनरीमा पर्छन्।”

संविधान सम्बन्धी सन्दर्भमा उनले भने, “संविधानको धारा १२ ले लैङ्गिक पहिचानअनुसारको नागरिकता दिनुपर्ने भनेको छ। धारा ४२ मा समानुपातिक समावेशिताको सिद्धान्त छ, त्यसअनुसार यो समुदायलाई राज्यको मूलधारमा ल्याउनुपर्छ।”

उनले जनगणनामा यौनिक र लैङ्गिक अल्पसङ्ख्यक समुदायको तथ्याङ्क सङ्कलन नहुनु संविधानको उल्लङ्घन भएको बताए। “बेइमानी गरियो, संविधानको उल्लङ्घन गरियो। सरकार र दलहरूले यसलाई बेवास्ता गरेका छन्।”

उनले भने, “राजनीतिक अधिकारका लागि लड्नुपर्ने एक मुद्दा हो। तर समुदायभित्र पनि धेरै बहस र विवाद मिलाउनु पर्ने विषय छन्।”

(बृहत् नागरिक आन्दोलनले गरेको छलफलमा व्यक्त भनाइलाई सिलसिलेवार रूपमा प्रस्तुत गर्नेछौ।)

समाचार शेयर गर्नुहोस्
764
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.