निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

लैङ्गिक पहिचानलाई एउटै धारमा ल्याउने पहल

लैङ्गिक पहिचानलाई एउटै धारमा ल्याउने पहल

1.9k
SHARES

काठमाडौं — “पुरुष जन्मिएँ, तर आफूभित्र सधैँ महिला अनुभव गर्थेँ,” सुनाइन् सन्ध्या लामाले। आफ्नै भित्रको त्यो पहिचानसँग मेल खाने शारीरिक रूपान्तरणका लागि उनले हर्मोन लिन थालिन्। हर्मोन थालिएको केही समयमै तौल बढ्न थाल्यो। सन् २०१२ मा उनले स्तन सर्जरी गरिन्। “सर्जरी गरेपछि १० किलो तौल बढ्यो, हर्मोन खानुअघि म ४५ किलो मात्र थिएँ,” उनले भनिन्।

तर सर्जरीपछिको जीवन सहज रहेन। “पिसाबको गम्भीर समस्या आयो। अनि थाहा पाएँ, अपरेसनपछि पनि हर्मोन खाइरहनै पर्ने रहेछ। यसको अन्त छैन,” उनी भन्छिन्, “पूर्ण महिला बन्नु नै मेरो लक्ष्य थियो, त्यसैले बैंकक गइयो। तर भोलि मन बदलियो भने के होला भन्ने डर पनि सँगै थियो।”

त्यस्तै भोगाइ छन् नुमा लिम्बु चञ्चलाको, जसले लामो समयदेखि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि अभियान चलाउँदै आएकी छन्। उनी विगत फर्किएर हेर्दा मिश्रित अनुभूति गर्छिन्।

“हामीले तेस्रोलिंगी भनेर सुरु गर्‍यौँ,” उनले भनिन्। “आफूलाई बुझ्दै जाँदा अरू महिला जस्तै बन्न मन लाग्यो। कपाल पाल्न थालेँ, सुन्दर देखिन चाहन्थेँ। तर स्कुलको प्रिन्सिपलले कपाल काटेर आउन भनेपछि साथीहरूसँग सल्लाह गरेर हर्मोन लिन थालेँ।”

नुमा भन्छिन्, “महिला बन्ने चाहना थियो, तर महिलासँगको सम्बन्ध चाहिँ कहिल्यै चाहिएकै थिएन। म त भित्रैदेखि महिला थिएँ, तर केटाहरूप्रति नै आकर्षित।”

त्यही अन्तर्द्वन्द्वकै क्रममा उनले ‘सेक्स चेन्ज’ गरिन्। “तर त्यो बेला पनि म आफूलाई तेस्रोलिंगी महिला नै भन्थेँ। म आज पनि त्यही ठान्छु,” उनले स्पष्ट पारिन्।

नागरिकताका लागि नाङ्गिनुपर्ने बाध्यता

बृहत् नागरिक आन्दोलनले हालै आयोजना गरेको छलफलमा चञ्चलाले नागरिकता प्रक्रियामा भोगेको अपमानजनक अनुभव सुनाइन्। “सर्जरी गरेर महिला भएको प्रमाण दिँदा पनि नाङ्गिनुपर्‍यो। प्रसूति गृहदेखि वीर अस्पतालसम्म घुमेँ,” उनले सुनाइन्। “आज यस्तो लफडा आउँछ भन्ने थाहा भएको भए, नाम परिवर्तन गर्न नपाए पनि अन्य लैङ्गिक पहिचानको नागरिकता लिन्थेँ।”

उनका अनुसार, अहिले काठमाडौं आएर बुझ्दा, केही लिङ्ग भएका व्यक्तिहरूले समेत महिलाको नागरिकता लिएको थाहा पाउँदा आफू झनै छक्क परिन्। “लिङ्ग भएका साथीहरूले महिला नागरिकता लिएका रहेछन्,” उनी भन्छिन्।

नुमा भन्छिन्, “यस विषयमा कुरा गर्न म पिंकी र मनिषा (ब्लु डायमन्ड सोसाइटी)लाई फोन, म्यासेज, इमेल गरिरहेँ। तर कुनै जवाफ आएन। नेताहरूको भ्रष्टाचारको विरुद्ध बोलेका हामी, आफ्नै अधिकारको लाइन बनाउन सकिरहेका छैनौँ।”

तर अब परिस्थिति परिवर्तन गर्ने समय आएको उनी बताउँछिन्। “अब त एकरूपता ल्याउन लिड गर्नै पर्छ भन्ने लाग्यो। ब्लु डायमन्डका संस्थापक अध्यक्ष सुनिल बाबु पन्तको साथ पाएकी छु, समुदायको समर्थन पनि छ। अब लैङ्गिक पहिचानमा देखिएको विवाद अन्त्य गरेर एकरूपता ल्याउनु पर्छ,” उनले भनिन्।

उनले नागरिकताको विषयमा एकरूपता ल्याउन सर्वोच्च अदालतमा रिट दायर गरिसकेको जानकारी पनि दिइन्। “छातीमा हात राखेर भन्छु, लिङ्ग भएको मान्छेले महिलाको नागरिकता लिँदा कस्तो होला? बिना सर्जरी, बिना चेकजाँच इच्छाएको नागरिकता लिन पाइन्छ भन्ने सुन्दा राम्रो लाग्यो। तर होइन रहेछ,” उनी भन्छिन्।

‘ट्रान्स महिला’ महिलानै हुन्?

छलफलको मूल विषय यही थियो,”ट्रान्स महिला महिलानै हुन्?” यति सान्दर्भिक र संवेदनशील छलफल आयोजना गरेकोमा पहिलो संविधानसभाका सदस्य तथा ‘मायाको पहिचान नेपाल’ का कार्यकारी निर्देशक सुनिल बाबु पन्तले बृहत् नागरिक आन्दोलनलाई धन्यवाद दिए।

“यो बहस निकै रोचक, केही हदसम्म तनावपूर्ण तर नियन्त्रणबाहिर नजाने गरी अगाडि बढ्यो,” उनले भने। “अहिलेसम्म नेपालका नागरिक समाजले यस विषयलाई टार्दै आएको थियो, तर अब खुला बहसको थालनी भएको देखेर आशावादी हुन सकिन्छ।”

उनले यो प्रक्रिया मात्र सुरुआत भएको बताए। “अब समय आएको छ,लैङ्गिक तथा यौनिक विविधता भएका समुदायका विविध आवाजहरूलाई सुन्ने, बहस गर्ने र समझदारी निर्माण गर्ने नयाँ सार्वजनिक मञ्चहरू सिर्जना गर्ने,” पन्तको भनाइ थियो।

“सेक्स के हो? जेण्डर के हो?” साझा धारणा बनाउन बृहत् नागरिक छलफल

(बृहत् नागरिक आन्दोलनले गरेको छलफलमा व्यक्त भनाइलाई सिलसिलेवार रूपमा प्रस्तुत गर्नेछौ।)

समाचार शेयर गर्नुहोस्
1.9k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.