निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

व्यक्तिगत लगानीमा निर्मित भवन अस्पताललाई दान

व्यक्तिगत लगानीमा निर्मित भवन अस्पताललाई दान

469
SHARES
जन्मदिनमा स्व. पिता ऐवान बमको सम्झनामा हस्तान्तरण गरिएको आवासीय भवन । तस्बिर : मानबहादुर/ पहिचान डटकम

कालीकाेट — कालीकोटको पलाँता गाउँपालिकाका प्रथम अध्यक्ष लक्षण बहादुर बमले आफ्ना स्वर्गीय पिताको सम्झनामा पलाँता अस्पताल व्यवस्थापन समितिलाई ‘बिरामी आवास भवन’ हस्तान्तरण गरेका छन्। उनले आफ्नो व्यक्तिगत लगानीमा निर्मित भवन अस्पताललाई दान गरेका हुन्।

बमले यो दान व्यक्तिगत मात्रै नभएको प्रस्ट्याए। समुदायप्रतिको माया र सामाजिक जिम्मेवारी अभिव्यक्ति भएको उनले बताए। “मलाई जिताउने १५ सय मात्रै थिए, तर मैले ८ हजार मतदाताको प्रतिनिधित्व गरेँ, र १९ हजार जनसङ्ख्याको पक्षमा काम गरेँ,” अध्यक्ष बमले सामाजिक सञ्जालमा दाबी प्रस्तुत गरेका छन्।

उनले समाजमा आलोचना र समर्थन दुवै हुने भए पनि आफू निरन्तर सेवामा समर्पित रहने दृढता दोहोर्‍याए। “फलेको हाँगामा ढुङ्गा लाग्ने चलन त छँदैछ, तर केही आलोचना र अपमानहरूले म थाक्दिनँ, झन् सशक्त बन्छु,” उनले भने।

बमले ४२ लाख रुपैयाँको लागतमा निर्माण गरिएको बिरामी आवास भवन अस्पतालकै स्वामित्वमा सुम्पिएको जनाए। भवन प्रयोग पारदर्शी तरिकाले सञ्चालन होस् भन्ने शुभकामनासमेत दिए।

स्व. पिता ऐवान बमको आत्माको चिरशान्तिको कामना गर्दै उनले यो समर्पण सम्पूर्ण पलाता बासीका लागि अर्पण गरिएको बताए ।

यो सहयोगप्रति हालका पलाँता गाउँपालिका अध्यक्ष विष्णुबहादुर रोकायाले पूर्व अध्यक्ष बमलाई धन्यवाद ज्ञापन गर्दै, समाजसेवामा यस्ता पहलहरू प्रेरणादायी हुने बताए। निजी लगानीबाट सार्वजनिक हितमा गरिएको यो योगदान सबैका लागि अनुकरणीय रहेको उनको भनाइ छ।

स्थानीयबासीहरूले पनि पूर्व अध्यक्ष बमको योगदानप्रति कृतज्ञता व्यक्त गरेका छन्। बमको यो योगदानले पूर्व जनप्रतिनिधिहरूको सामाजिक उत्तरदायित्व र जनप्रतिनिधित्वको भावनालाई नयाँ दृष्टिकोण दिएको स्थानीयको बुझाई छ ।

यतिबेला सामाजिक सञ्जालमा पूर्वअध्यक्षले गरेको समाजप्रतिको योगदानको प्रशंसा गर्दै अन्य नेताहरूले पनि उनको सिको गर्नुपर्ने बताइरहेका छन्।

बमले गरेको यो कार्य कालीकोटका लागि एक उदाहरणीय कदम भएको स्थानीय बासिन्दाहरूले बताएका छन्। बमका पिता ऐवानकाे दम रोगका कारण ८३ वर्षको उमेरमा निधन भएको थियो ।

पलाँता गाउँपालिका नेपालको कर्णाली प्रदेश अन्तर्गत कालिकोट जिल्लामा रहेको छ। जिल्लामा ३ नगरपालिका ६ वटा गाउँपालिका छन्।

नयाँ संरचना अनुसार साबिकका ३ गा.बि.स. खिन,थिर्पु र धौलागोह मिलाएर हालको पलाँता गाउँपालिकाको निर्माण गरिएको छ र यस गाउँपालिकालाई जम्मा ९ वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको कुल क्षेत्रफल ३१८.८४ वर्ग कि.मि. रहेको छ।

पलाँता गाउँपालिकाको कुल जनसङ्ख्या १७००० रहेको छ। पलाँता गाउँपालिकाको क्षेत्रसँग सिमाना जोडिएका ठाउँहरूमा पूर्वमा जुम्लाको हिमा गा.पा, सिँजा गा.पा र कनकसुन्दरी गा.पा, पश्चिममा पचालझरना गा.पा र बाजुराको स्वामिकार्तिक गा.पा., उत्तरमा मुगुको खत्याड गा.पा र दक्षिणमा पचालझरना गा.पा. र तिलागुफा नगरपालिका रहेका छन्।

समाचार शेयर गर्नुहोस्
469
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.