निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

युएसएआइडीको पत्रको आडमा ८ करोड छोप्ने प्रयास? समुदायले माग्यो हिसाब

युएसएआइडीको पत्रको आडमा ८ करोड छोप्ने प्रयास? समुदायले माग्यो हिसाब

2.7k
SHARES

काठमाडौं — जुलाई २०२५ को मिति उल्लेख गरिएको अमेरिकी सहयोग नियोग (युएसएआइडी) को पत्र ब्लु डायमन्ड सोसाइटीले सार्वजनिक गरेको छ। “तपाईँको साझेदारी र सहकार्यका लागि धन्यवाद“ भनिएको उक्त पत्रमा सोसाइटीका एचआइभी परियोजना प्रमुख प्रकाश निरौला र युएसएआइडी सामुदायिक एचआइभी सेवा टोलीलाई सम्बोधन गरिएको छ।

युएसएआइडी नेपालका मिसन प्रमुख केटी डोनोहो (Katie Donohoe) को हस्ताक्षरयुक्त सो पत्र यस्तो बेला सार्वजनिक गरिएको हो, जब एचआइभी परियोजनाका लागि युएसएआइडीले सोसाइटीलाई नै दिएको ८ करोड रुपैयाँको हिसाब सार्वजनिक गर्नुपर्ने माग चुलिएको थियो।

८ करोड रुपैयाँ ‘गायब’ भएको समाचार बाहिरिएपछि कुनै प्रसङ्ग वा सन्दर्भ नदिई सोसाइटीले युएसएआइडीको पत्र सार्वजनिक गर्‍यो। र लेख्यो,“सामुदायिक एचआइभी सेवामा हाम्रो साझेदारीप्रति कृतज्ञता व्यक्त गर्दै युएसएआइडीबाट प्रशंसा पत्र पाउँदा हामी सम्मानित महसुस गरेका छौँ।”

एमएसएम (पुरुष–पुरुष यौन सम्बन्ध) र टिजी (ट्रान्सजेन्डर) समुदायका लागि एचआइभी रोकथाम तथा उपचार सेवामा काम गर्दै आएको दाबी गर्ने सोसाइटीले भने समुदायभित्रबाटै उठेको प्रश्नको जवाफ दिएन। पत्र कुन तारिखमा प्राप्त भएको थियो भन्ने कुरा पनि खुलाइएको छैन।

बरु, सो पत्रलाई युएसएआइडीको ८ करोडको हिसाब माग्नेहरूको आवाज दबाउने हतियार बनाइएको देखिन्छ। संस्थाका कर्मचारीमार्फत सामाजिक सञ्जालमा बधाई दिन लगाइएको छ। तर जब प्रश्न उठ्यो, जवाफ दिनुपर्ने नैतिक जिम्मेवारीबाट संस्था यो पटक पनि पछि हटेको छ।

पत्र सार्वजनिक गरेसँगै, नेपालमा पहिलो पटक आयोजित ‘मिस्टर गे हेण्डसम’ प्रतियोगिताका विजेता विश्वराज अधिकारीले सामाजिक सञ्जालमा लेखे, “अभियान चलाउने होइन, अभियान सखाप बनाउने तक्मा। प्रमाणपत्र र सम्मान कार्यक्रम अझै व्यापक रूपमा सञ्चालन गर्न दातृ निकायहरूलाई विनम्र अनुरोध छ।”

युएसएआइडीको पत्रलाई अनियमितता ढाकछोप गर्न प्रयोग गरिएको भन्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायभित्र आक्रोशित प्रतिक्रिया देखिएको छ। धेरैले यो पत्र सार्वजनिक हुनु नै अनियमितताको पुष्टि भएको दाबी गरेका छन्। यसले ब्लु डायमन्ड मात्र नभई युएसएआइडीलाई समेत विवादमा तानेको छ।

समुदायभित्रका अभियन्ताहरूले एचआइभी सङ्क्रमित सदस्यहरूलाई हरिबिजोग अवस्थामा राखेर उनीहरूकै नाममा आएको करोडौँ रुपैयाँको हिसाब नदिई केवल ‘धन्यवादको पत्र’ देखाएर सोसाइटी उम्किन खोजेको आरोप लगाएका छन्।

सञ्जीव गुरुङ (पिंकी), सुवेन ढकाल (मनिषा), सञ्जय शर्मा, पदमकान्त निरौला (प्रकाश) जस्ता व्यक्तिहरूको नाम उल्लेख गर्दै, “नेपाल सरकार र दातृ निकायसँगको मिलेमतोमा अनियमितता हुँदै आएको त होइन?” भन्ने प्रश्न समुदायका व्यक्तिहरूले गरेका छन्।

एचआइभी परियोजनाको ८ करोड गायब, चञ्चलाले खोजिन् पारदर्शिता

मायाको पहिचान नेपालमार्फत काठमाडौँमा बसेर समुदायसँग काम गर्दै आएकी अधिकारकर्मी नुमा लिम्बु (चञ्चला) ले सोसाइटीको नेतृत्वमा रहेका केही व्यक्तिहरूले व्यक्तिगत स्वार्थ पूर्तिका लागि समुदायको नाममा प्रपञ्च रचेको र ८ करोड पचाउने प्रयास गरिरहेको आरोप लगाएकी छन्।

सामाजिक सञ्जालमा उनले यसअघि लेखेकी थिइन्, “युएसएआइडीको पेफार कार्यक्रम बन्द भएपछि एमएसएम–टिजी लक्षित एचआइभी परियोजनाको बाँकी ८ करोड ब्लु डायमन्डलाई छोडिएको थियो, तर त्यसको खर्च विवरण अस्पष्ट छ। हामी सबैले माग गर्नुपर्छ, यो रकमको प्रयोगबारे पूर्ण पारदर्शिता होस्। यो सार्वजनिक स्वास्थ्य र कमजोर समुदायको हितका लागि छुट्टाइएको हो, व्यक्तिगत वा संस्थागत स्वार्थका लागि होइन।”

चञ्चलाले खर्च विवरण, कार्यक्रम कार्यान्वयन अवस्था, र संलग्न सङ्घ–संस्थाहरूको नाम सार्वजनिक गर्न माग गरेकी थिइन्। यद्यपि युएसएआइडीको पत्र सार्वजनिक गरे पनि न त ८ करोडको हिसाब सार्वजनिक गरिएको छ, न त हालै प्राप्त ११ करोड अनुदानको विवरण नै।

त्यसैले, उनले आरोप लगाएकी छन्, “यो पत्र अनियमितता ढाकछोप गर्न प्रयोग गरिएको हतियार हो।”

ब्लु डायमन्ड सोसाइटीले हाल अमेरिकी सहयोग बन्द भएको भन्दै जिल्ला-जिल्लामा कार्यरत कर्मचारीहरूलाई कामबाट निकालेको छ। त्यसमध्येकी एक हुन् चञ्चला, जसले झापाको दमकमा सोसाइटीको अभियानको नेतृत्व गरेकी थिइन्। उनलाई एचआइभी परियोजना बन्द भएको भन्दै नोटिस पठाएर निकाला गरिएको हो।

उनी हाल संस्थापक अध्यक्ष सुनिल बाबु पन्तसँगै काठमाडौँमा बसेर समुदायको अधिकार प्राप्तिको अभियानमा क्रियाशील छिन्।

उनले फेसबुकमा लेखेकी छन्, “साना–तिना कार्यक्रममा भाग लिन पाउने आशामा, भइरहेका अनियमितता र अपारदर्शिता थाहा हुँदाहुँदै पनि यस्ता व्यक्तिहरूलाई समर्थन गर्नु समुदायप्रति गद्दारी हो। बेलैमा आँखा खोल्नुस्। तपाईँहरूको सहनशीलताले भ्रष्टाचारमा लिप्त व्यक्तिहरूलाई अझै बल र हौसला दिएको छ। यो व्यक्तिगत स्वार्थका लागि होइन, देशभर रहेका समुदायका सदस्यका लागि बोल्नै पर्ने अवस्था आएर हो।”

“कमसेकम सही र गलत त छुट्टाउनुस्, अन्धभक्त नहुनुस्। बेलैमा आँखा खोल्नुस्,”उनले भनेकी छन्।

समुदायकै अर्की अधिकारकर्मी सञ्जीवनी लामा (सन्ध्या) ले सामाजिक सञ्जालमार्फत भ्रष्टाचारविरुद्ध आवाज उठाउन आह्वान गरेकी छन्। उनले लेखेकी छन्, “चाँडोभन्दा चाँडो यसको छिनोफानो हुनुपर्छ। यसरी हातमा हात राखेर टुलुटुलु हेरेर केही हुनेवाला छैन। तसर्थ, एकजुट भएर भ्रष्टाचारविरुद्ध आवाज उठाऔँ।”

अर्का अधिकारकर्मी अमर तामाङ बलले यस्तै बेथिति रहेमा समुदायको पहिचानमै खतरा आउने चिन्ता व्यक्त गरेका छन्। उनले भनेका छन्,“सत्य के हो, त्यो सार्वजनिक हुनुपर्छ। यस्तै बेथिति रहेमा हाम्रो पहिचानको ढोका बन्द हुनेछ कि भन्ने चिन्ता छ।”

यसैबीच, जिल्ला प्रशासन कार्यालय, काठमाडौँले ब्लु डायमन्ड सोसाइटीभित्रको अनियमितता, संस्थापक अध्यक्ष र सदस्यहरूलाई पत्तै नदिई गरिएका साधारणसभा, र नेपाल सरकार तथा दातृ निकायहरूबाट प्राप्त सहयोगमा जोडिएको भौतिक सम्पत्तिको दुरुपयोग सम्बन्धी उजुरीमा छानबिन प्रक्रिया सुरु गरेको जनाएको छ।

प्रशासनले ७ दिने अल्टिमेटमसहित पत्र पठाइसकेको जानकारी दिएको छ। पत्रको मितिअनुसार सातौँ दिन शुक्रवार पर्छ। तर सोसाइटीले भने सोमबार मात्रै पत्र बुझेको थियो।

यो पनि : ब्लु डायमन्डभित्रको अनियमितता : प्रशासनले दियो ७ दिने अल्टिमेटम

समाचार शेयर गर्नुहोस्
2.7k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.