काठमाडौं – प्रा. डा. पराशर कोइरालाद्वारा लिखित पुस्तक ‘उद्यमी’ को बुधवार काठमाडौँमा लोकार्पण गरिएको छ। आवरण प्रकाशनको आयोजनामा सम्पन्न उक्त समारोहमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति तथा पूर्वराजदूत केदारभक्त माथेमा प्रमुख अतिथि रहेका थिए।
प्रमुख अतिथि माथेमाले देशका सामयिक समस्याबारे पुस्तक लेखेर प्रा. कोइरालाले समाधानको बाटोसमेत देखाएको विचार व्यक्त गरे।
पुस्तकको समीक्षा गर्दै प्रा. डा. पुष्कर बज्राचार्यले पुस्तकमा उठाइएका विषयहरूलाई अझ विस्तारित रूपमा प्रस्तुत गर्न सके अझ प्रभावकारी हुने तर्क प्रस्तुत गरे। सिटिइभिटीका पूर्व निर्देशक दीपक पौडेलले ‘उद्यमी’मा समेटिएका उद्यमीका कथाहरूले नयाँ पुस्तालाई दृढ आत्मबल र सकारात्मक सोच दिन सक्ने बताए।
कृतिकार प्रा. कोइरालाले लेखकीय मन्तव्य दिँदै हरेक व्यक्तिमा केही गर्ने उद्देश्य हुने हो भने ऊ सफल उद्यमी बन्न सक्ने धारणा राखे।
आयोजक संस्था आवरण प्रकाशनका प्रबन्ध निर्देशक रमेश पौडेलले अहिले ‘उधुमी’हरूको जगजगी चलिरहेको बेला प्रा. कोइरालाले ‘उद्यमी’ लेखेर सराहनीय काम गरेको बताए।
समारोहका सभाध्यक्ष तथा पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. पुरुषोत्तम बाँस्कोटाले पुस्तकलाई उद्यमशीलता प्रवर्द्धन गर्ने महत्त्वपूर्ण दस्ताबेजका रूपमा उल्लेख गरे।
पाँच अध्यायमा विभाजित उक्त पुस्तकमा हामी र हाम्रो बसाइ, प्रतिभा, सक्छु, बिक्री वितरण र युवा सोचाइ शीर्षक छन्। पुस्तकले वैदेशिक रोजगारीलाई निरुत्साहित गर्दै देशमै उद्यम गरेर आत्मनिर्भर बन्न प्रेरणा दिएको सन्देश दिन्छ।
पुस्तकमा समावेश पात्र सफल उद्यमी नरेन्द्रराज गिरीलाई सम्मानसमेत गरिएको उक्त समारोहमा प्राध्यापन र पत्रकारिता क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.