"/>
निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

ब्लु डायमन्डभित्र आन्तरिक विस्फोट : समुदायबाटै शोषण अन्त्यको माग

ब्लु डायमन्डभित्र आन्तरिक विस्फोट : समुदायबाटै शोषण अन्त्यको माग

पहिचान मिडियामाथि आक्रोश

2.6k
SHARES

काठमाडौं — लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायभित्र चर्काचर्की सुरु भएको छ। ब्लु डायमन्ड सोसाइटीको नेतृत्वले पटक–पटकको आग्रह अस्वीकार गरेपछि प्रहरी र सञ्चारकर्मीको रोहबरमा भएको छलफलमा तनाव भएको छ।

धुम्बाराहीस्थित ब्लु डायमन्ड सोसाइटीको कार्यालयमा प्लेकार्डसहित पुगेका समुदायका व्यक्तिहरूले समुदायबाटै समुदायमाथि हुँदै आएको शोषणको विरोध गरे। सोसाइटीको नेतृत्वले बचाउ गर्‍यो।

सोसाइटी स्थापनाअघि पहिचान र अधिकारका लागि सङ्घर्ष गर्दा आफूहरू कुटिएको फोटो देखाउँदै पुराना घाउ कोट्याएर समुदायका व्यक्तिहरू प्लेकार्ड बोकेर सोसाइटीको कार्यालय बाहिर उभिएका थिए।

संस्थापक अध्यक्ष सुनिल बाबु पन्तको नेतृत्वमा पटक–पटक छलफलको आग्रह गर्दा बेवास्ता भएपछि महानगरीय प्रहरी वृत्त महाराजगन्ज र सञ्चारमाध्यमहरूलाई खबर गरी उनी सोसाइटीकै कार्यालयमा पुगेका थिए।

सोसाइटीभित्रको अनियमितताबारे जिल्ला प्रशासन कार्यालय काठमाडौँमा परेको उजुरीमा छानबिन नगर्न दबाब दिएको सुइँको पाए पछि नेतृत्वसँग छलफल गर्न पुगेको समुदायका सदस्यहरूले बताए। “समलिङ्गी, तेस्रोलिंगी, दुईलिंगी र अन्तरलिंगीको नाममा संस्थामार्फत विकृति र भ्रष्टाचार फैलाइएको छ, नक्कलीलाई अगाडि राखेर सक्कली समुदायलाई पछाडि पारिएको छ।“ विरोधमा उत्रिएका समुदायले आरोप लगाए।

“भ्रष्टाचार अन्त्य गर“ “समुदायबाट समुदायमाथि शोषण बन्द गर“ “विदेश पठाउने बहानामा पैसा उठाउन बन्द गर“ “मानव तस्करी बन्द गर“ “नक्कली समुदाय हटाऊ“ “नयाँ सदस्यता खुलाएर साधारण सभा बोलाऊ, नयाँ कार्यसमिति चयन गर“ लगायतका नारा लेखिएको थियो प्ले कार्डमा।

सन् २००१ मा पन्तले स्थापना गरेको सोसाइटीले समलिङ्गी, तेस्रोलिंगी अधिकारका लागि एउटै छाता संस्था भनेर पहिचान बनाएको थियो। तर सन २०१३ मा पन्तको बहिर्गमनपछि लैङ्गिक पहिचानको विषयमा विवाद चुलिँदै गयो र अहिले विस्फोट भएको छ।

संस्थापक अध्यक्ष पन्तदेखि सिङ्गो समुदाय तहसम्म सोसाइटीको वर्तमान नेतृत्वको पारदर्शिता, जबाफदेहिता र समावेशीकरणको माग गर्दै आएका छन्।

सोसाइटीको वर्तमान नेतृत्वसँग भएको छलफलमा संस्थापक अध्यक्ष पन्तले संस्थागत रूपमा आफूमाथि झुटो कपोलकल्पित आरोप लगाउने काम बन्द गर्न आग्रह गरे। उनले समुदायको अधिकार र संस्थालाई समर्थन गर्न अझै इच्छुक रहेको, तर पारदर्शिता आवश्यक भएको बताए।

पन्तले आफूसँग कुनै पदको लोभ नरहेको स्पष्ट पारे। “पाँच–सात पटक इमेल नै गरेको थिएँ,” उनले भने, “सन् २०१३ देखि छोडेको हो। फर्केर आएको चार वर्ष भयो। कमसेकम साधारण सभाको सूचना त दिनुपर्ने, अडिट रिपोर्ट त सबैले पाउने हो, लुकाएर राख्नु पर्ने कुरा होइन। बोलाउने गरेको भए हुन्थ्यो भनेको हो।”

उनका अनुसार अहिले उठेको विषय पद वा संस्थामा फर्कनु भन्ने होइन, पारदर्शिताको हो। “म अहिले बोर्डमा बस्न भनेर आएको होइन। बीडीएसमा जागिर चाहिन्छ भनेर पनि आएको होइन। मायाको पहिचानमा पनि स्वयंसेवक भएर काम गरिरहेको छु। एक पैसा ट्रान्सपोर्टेसन लिएको छैन,” उनले प्रस्ट पारे।

पन्तका अनुसार उनी समुदायको लागि छुटेका विषयमा काम गर्न चाहन्थे। “इमेल गर्दै थिएँ, जवाफ आएन। म मात्रै कति पछि लाग्ने? इच्छै छैन भने म मात्रै किन आइरहने? अहिलेको मुद्दा भनेको साधारण सभामा किन बोलाइएन भन्ने हो,” उनले भने। “सक्छौँ भने मिलेर गरौँ, पदको लोभले आएको होइन।”

सोसाइटीकी पिंकी गुरुङले पनि आफ्ना गुनासा सार्वजनिक गरिन्। उनले गाडी नचलाउनुको दोष समुदायलाई लगाउँदै भनिन्, “गाडी चल्दा चल्दै दुनियाँको आँखा लाग्ने, टायर पन्चर गरिदिने, सिसिटिभीको तार नै काटिदिने समुदाय हो। बरु होस् भनेर राखेको हो।”

त्यसपछि बोलिन लिड नेपालकी कार्यकारी निर्देशक नुमा लिम्बु चञ्चला। तेस्रोलिंगी महिला चञ्चलाले भनिन्,“पारदर्शिता होस्, जबाफदेही होस्। यो भवनमा मेरो र समुदायको पनि पैसा परेको छ। आजभन्दा अगाडि आउनु भनेको भए, यो कुरा सार्वजनिक हुँदैनथ्यो। अब सारा दुनियाँले थाहा पाएको छ। हामीले यही चाहेका थियौँ, पारदर्शिता र समावेशीकरण। बीडीएसको तल्लो तहदेखि माथिसम्मको संरचनामा सुधार आवश्यक छ।”

उनले थपिन,“अब नेताहरूले भ्रष्टाचार गरे, प्रणाली नै छैन भन्ने भनाइ आएको छ। बीडीएसमा समुदायद्वारा समुदाय शोषित भइरहेको अवस्था छ। म मर्न डराउँदिन, समुदायका लागि बुझेको छु, योगदान दिन्छु, त्यसैले यो कुरा बाहिर ल्याएको हुँ।”

बीडीएस नेतृत्वको दोहोरो चरित्रप्रति पनि उनले टिप्पणी गरिन। “स्यालरी बढाउने कुरा अर्कोतिर बोल्नुहुन्छ, अर्कोतिर गर्नुहुन्छ। लिडर भएपछि पारदर्शी हुनुपर्छ। सत्यतथ्य निकाल्नुपर्छ। सबैलाई एउटै जानकारी दिनुपर्छ, एउटालाई एउटा, अर्कोलाई अर्को सूचना दिनु हुँदैन।”

उनले विगत स्मरण गर्दै भनिन्, “सुनिल दाइ हुँदा चन्दा हलमा एजीएम हुँदा स्यालरी कति हो भनिन्थ्यो। दाइले छोडेपछि त्यो व्यवस्था छैन। हामीलाई थाहा पाउन मन छैन? जे दिन्छ डोनरले, ल्याउनुहोस्, तर समुदायको लागि होस्। मैले व्यक्तिगत हैन, सामूहिक समुदायको लागि कुरा उठाएको हुँ।”

उनको गुनासो छ, संस्थापकलाई जानकारी नदिने, जबकि अन्य संस्थापकहरू बाहिर बसेर पनि सहयोग गरिरहेका हुन्छन्। “उहाँलाई बाहिर राखेर हुन्छ? उहाँले सुरु गर्नुभएको संस्था हो।”

उनले सामाजिक पृष्ठभूमिको पीडा पनि सुनाइन। “घरबाट खुलेको, समाजमा उकुसमुकुस भएर आएको, तपाईँहरूले देखाएको बाटो हिँडेको, तर यहाँ मनपरी अनेकथरी हुन्छ, त्यो त भएन नि।”

चञ्चलाले जोड दिइन, “त्यही भएर अडिट सबैले जान्न पाउनुपर्छ। एफएसजीएमएनमा अध्यक्ष बन्न ग्वाङग्वाङ, ब्लु डायमन्डमा भने एजीएम पारदर्शी हुनुपर्दैन? सुनिल दाइ भन्दा अगाडि नै म यसबारे बोलेको थिएँ। डोनरले चञ्चला बोर्डमा बस्नु भन्थे, हामीलाई नदिने? हामी बोल्यौँ भने नराम्रो?”

उनले सुनिल बाबु पन्तको सहभागिता सबै मिटिङमा आवश्यक रहेको बताउँदै थपिन, “कहिलेकाहीँ तपाईँहरूबाट पनि गल्ती हुन्छ होला, हामीबाट पनि, दाइबाट पनि। तर अब मिलेर जानुपर्छ। अभियान कता मोडियो, बुझाउँदा बुझाउँदा हैरान।”

उनका अनुसार, बीडीएसजस्तो पुरानो र चिनिएको संस्थामा निष्पक्ष छानबिन आवश्यक छ। “सेक्सचेन्ज गरेकी कुमारीलाई निकाल्दा मलाई कस्तो लागेको थियो! भ्रष्टाचारको जिम्मा कसले लिने?”

उनले विगतका प्रसङ्ग पनि उजागर गरिन, “सञ्जय सरलाई त्यतिबेलै भनेको थिएँ, जे हुन्छ पूर्वदेखि नै हुन्छ। तपाईँकै कारण हिसाबकिताब नखोजिएको हो? अहिले त्यसकै परिणाम देखिन्छ।”

“के गर्ने, कसरी गर्ने, सल्लाह गरेर बाहिर ल्याउने मन थियो। तर, अब त स्थिति यति बिग्रिएको छ कि कुरा रोकिएन। प्रकाश सरले मलाई धेरै चोटि रुवाउनु भएको छ। कर्मचारीको पक्षमा बोलेकोमा पनि मानसिक यातना पाइयो।”

“बोर्ड, भवन, एजीएम, नेतृत्व, यी सबैमा छानबिन होस्। उमेश ममीलाई राख्दा जिल्लामा थाहा नै थिएन। त्यस्तै–त्यस्तै कारणले मैले राजीनामा दिएको थिएँ,”उनले भनिन्।

“कति फोन गरेर बस् भने, सुनिल दाइसँग जान्छस् भनेर डर देखाए। सुनिल दाइ जसले हामीलाई ल्याउनुभयो, उहाँसँग डराएर हुन्छ? म त उहाँलाई पनि ल्याउने र तपाईँहरूसँग पनि मिलेर गर्न खोजिरहेको थिएँ,” उनले भनिन्।

बीडीएसभित्र लामो समयदेखि मौन रूपमा चल्दै आएको असन्तुष्टि अब खुल्ला रूपमा छलफल र टकराबमा परिणत भएको छ। संस्थाको पुरानो नेतृत्व, नयाँ पुस्ता र संस्थापक सदस्यबीचको मतभेद दिन प्रतिदिन चर्कँदै गएको छ।

पिंकी गुरुङले संस्थापक अध्यक्ष पन्तसँग मिलेर काम गर्न आफू तयार रहेको बताउँदै हालको युवा पुस्तासँग पन्तको विचार मिल्न नसकेको तर्क गरिन्।

सोसाइटीको अध्यक्ष बनेका उपाध्यक्ष उमेश श्रेष्ठले रुढीवादी परम्पराबाट बाँचेर आएको सुनाए। उनले आफूलाई टिका लगाएर अध्यक्ष बनाइएको नभई लामो समय उपाध्यक्ष भएर नेतृत्वमा आएको बताए।

“अध्यक्षले राजीनामा दिएपछि उपाध्यक्षले म लड्छु भने उसको नै हक हो,” भन्दै उनले आफ्नो अधिकारको कुरा उठाए। चञ्चलाले भने संस्थामा हाल मियो नभएको दाइ जस्तै अवस्था भएको टिप्पणी गरिन्।

चञ्चलाले समुदायको अभियान नै ‘आउट अफ ट्र्याक’ गएको महसुस आफूले काठमाडौं आएपछि गरेको बताइन्। उनले कानुनमा लेखिएका कुरा व्यवहारमा उतार्नुपर्ने र कानुनी दृष्टिकोणमा कार्यक्रम ल्याउने आवश्यकता रहेको बताइन्। “यत्रो जति उपलब्धि सुनिल दाइले नै ल्याउनुभएको हो,” भन्दै उनले संस्थापकको भूमिकाको प्रशंसा पनि गरिन्।

दक्षिण एसियामै पहिलो पटक समलिङ्गी विवाह कानुनी रूपमा विवाह दर्ता गरेका माया गुरुङ्गले सोसाइटीमा आबद्ध नभएका समुदायमाथि विभेद नगर्न आग्रह गरिन्।

तेस्रोलिंगी महिला अधिकारकर्मी सन्ध्या लामाले समुदायका व्यक्तिहरूलाई बाहिर राखेर के गर्न खोजेको? भनेर प्रश्न गरिन्। उनले समुदायलाई सधैँ सडकमा उभिन मात्रै पठाउने काम बन्द गर्न आग्रह गरिन्।

संस्थापक अध्यक्ष तथा सदस्यहरूलाई साधारण सभाबाट टाढा राखिएको, लेखा परीक्षण प्रतिवेदन लुकाइएको, र कार्यालयमा छलफल गर्न सकिने ठाउँ छँदा–छँदै होटलहरूमा खर्च गरिएकोबारे नेतृत्व मौन रहेको आरोप लागेको छ।

गाडी थन्क्याइएको र टौदहको जग्गा समुदायको हितमा प्रयोग नहुनु, पारदर्शिताको अभाव, र नेतृत्वले मिडियालाई दोष दिने रवैया समुदायभित्रै असन्तुष्टिको कारण बनेका छन्।

पहिचान मिडियामाथिको आक्रोश

पिंकी गुरुङ, कार्यकारी निर्देशक मनिषा ढकाल, भूमिका श्रेष्ठलगायत नेतृत्वकर्ताहरूले बहसको विषय मोड्दै पहिचान मिडियामाथि आरोप लगाए। ट्रान्स मेनलाई पुरुष र ट्रान्स वुमनलाई महिला भनेर नागरिकता नदिनु भन्ने समाचार लेखेको भन्दै कारबाहीको मागसमेत गरे।

भूमिकाले त छलफल अघि पहिला पहिचान मिडिया र पत्रकार माधव दुलालमाथि कारबाही गर्नुपर्ने सर्त नै राखिन्। “पहिला पहिचान मिडियालाई कारबाही गर्ने सहमति गरौँ,”भुमिकाले भनिन्। उनले खुल्लमखुल्ला आफूसँग तीन थरी नागरिकता रहेको बताइन।

पिंकीले पहिचान मिडियाकै कारण विवाद आएको बताइन। पन्तलाई नबोलाउनुको कारण पनि पहिचान मिडियाको समाचार नै भएको उनले सुनाइन।

कार्यकारी निर्देशक मनिषा ढकालले आफ्नो स्यालरी, पुरानो नाम लेखेकोमा आपत्ति जनाइन। उनले पहिचान मिडिया र पत्रकार माधव दुलालले पीत पत्रकारिता गरेको भन्दै कारबाही गर्नुपर्ने माग गरिन्।

छलफल चर्काचर्कीमा जाँदा प्रहरीले हस्तक्षेप गरी स्थिति नियन्त्रणमा लिने प्रयास गर्नु परेको थियो। युएसएआइडीले एचआइभी परियोजनाका लागि दिएको भनिएको ८ करोड रुपैयाँको पारदर्शिता सार्वजनिक नगरी धन्यवाद पत्र मात्र देखाइएको विषयमा नुमा लिम्बु चञ्चलाले प्रश्न उठाइन्। जसको जवाफ एचआइभी परियोजना प्रमुख प्रकाश निरौलाले दिएका थिए।

छलफलको अन्त्य गर्दै पिंकीले नयाँ सदस्यता खुलाउने र संस्थापक अध्यक्षलाई साधारण सभामा बोलाउने विषयमा मौखिक आश्वासन दिइन। तर, नेतृत्वले छलफलको विषयभन्दा सञ्चारमाध्यममाथि नै ध्यान केन्द्रित गर्दै पहिचान मिडियाका कारण विवाद चर्किएको आरोप लगायो। पिंकीले समेत पन्तसँगको सम्बन्ध बिग्रनुमा पहिचान मिडियाको भूमिका रहेको बताइन्।

पहिचान मिडियामाथि उनीहरू व्यक्तिगत र संस्थाभित्रको अनियमितता छरपस्ट गरेको भन्दै आक्रोशित बने। पहिचानमा प्रकाशित आफू विरुद्धका समाचार मात्रै उल्लेख गरे।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय सुधारका अभियन्ता मधु केसीले पहिचान मिडियाबाट आएका सकारात्मक समाचारलाई आफू अनुकूल भएन भनेर आरोपित गर्नु राम्रो नभएको बताए।

सन् २०१७ का मिस्टर गे हेण्डसम मनिन्द्र सिंह दनुवारले बीडीएसको फेसबुक पेजमा आएका सूचनालाई पहिचान मिडियाले समाचार बनाउन किन आपत्ति भनेर प्रश्न गरे। जसको जवाफ उनीहरूले दिएनन्। आफ्नै समुदायलाई विभेद र शोषण गरेको आरोपलाई अन्यत्र मोड्ने अनेक प्रयास गर्‍यो सोसाइटीको नेतृत्वले।

मेन्टल हेल्थका नाममा सुकुटे बिचमा मनोरञ्जन गरेको तस्बिर सोसाइटीले आफैँले आफ्नो फेसबुक पेजमा राखेपछि आलोचना भएको थियो। जसको समाचार पनि पहिचानले सम्प्रेषण गरेको थियो।

जुन कुरा सत्य नभएको पहिचान मिडिया स्पष्ट पार्दछ। उनीहरूसँगै गरिएका कुराकानी पहिचान मिडियाले युट्युब च्यानलमा समेत हेर्न सक्नु हुनेछ।

समाचार शेयर गर्नुहोस्
2.6k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.