"/>
निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

बहुविवाहको वैधानिकीकरणविरुद्ध विद्रोह : विनु यादवको आमरण अनशन (भिडियो)

बहुविवाहको वैधानिकीकरणविरुद्ध विद्रोह : विनु यादवको आमरण अनशन (भिडियो)

2.2k
SHARES

काठमाडौं — मुलुकी देवानी संहितामा संशोधन गर्दै बहुविवाहलाई कानुनी मान्यता दिने तयारीविरुद्ध सामाजिक अभियन्ता विनु यादव कठायत चौथो दिनदेखि आमरण अनशनमा बसिरहेकी छन्।

उनले सरकारको प्रस्तावित संशोधनलाई महिलाविरुद्धको षड्यन्त्रको रूपमा व्याख्या गर्दै यसले नेपाली समाजमा भयावह स्थिति निम्त्याउने दाबी गरेकी छन्। बहुविवाहसम्बन्धी कानुन संशोधन प्रस्तावमाथि बहस चुलिँदै गएको छ।

उनको आरोप छ, ‘बच्चा पेटमा छ’ भन्ने निहुँमा बहुविवाहलाई वैधानिकता दिन खोजिँदैछ। ‘बच्चा बेवारिसे हुन्छ भनेर, दोस्रो महिलाको जीवन बर्बाद हुन्छ भनेर बहुविवाहलाई कानुनी जामा पहिराउने तयारी गरिएको छ,’ विनु भन्छिन्, ‘तर वर्तमान कानुनले बच्चाको हक अधिकार पहिल्यै सुनिश्चित गरिसकेको छ। अपराध गरेर जन्मिएको बच्चाको दोष हुँदैन भन्ने सबैलाई थाहा छ।’

विनुका अनुसार संशोधन प्रस्तावमा दफा २ बाट ‘बहुविवाह दण्डनीय अपराध हो’ भन्ने व्यवस्था हटाइएको छ, र उपदफा ५ मा ‘विवाह बदर नहुने’ भनेर उल्लेख गरिएको छ। उनका अनुसार, ‘विवाह बदर नहुने’ भन्नु नै कानुनतः बहुविवाहलाई स्वीकार गर्नु हो।

उनले दाबी गरिन्, “यो कानुन पारित भयो भने ६ महिनाभित्र २५ प्रतिशत महिलाले आत्महत्या गर्छन्। यस्तो विनाशकारी परिणाम आउने कुरा कसैले सोचिरहेको छैन।”

विनु यादव स्वयं पनि सम्बन्ध विच्छेद र नाता कायमको मुद्दा लडिरहेकी महिला हुन्। “हामीजस्ता महिलाहरूलाई सडकमा छोडियो। हामीलाई छक्क्याएर प्रयोग गरियो, तर न्याय दिन कोही तयार छैन,” उनले भनिन्।

विनुको ज्वलन्त प्रश्न छ, “१० हजार बच्चालाई हेरेर २ करोड नेपाली महिलाको अधिकार किन भुलिन्छ? कानुन बनाउनेहरूले १० प्रतिशत दोस्रो महिलाको लागि कानुन लेख्दै छन्, तर ९० प्रतिशत महिलाको पीडालाई बेवास्ता गर्दैछन्।”

“बहुविवाह गर्ने पुरुष–महिलालाई सजाय देऊ, वैधानिकता होइन”

विनुले स्पष्ट भनिन्, “कानुन उल्लङ्घन गरेर अनैतिक सम्बन्ध राख्ने, अर्काको श्रीमान् फसाउने, बच्चा जन्माएर सडकमा छोड्ने पुरुष र महिलालाई कारबाही गर्नुहोस्। अपराधलाई मान्यता दिने होइन, दण्ड दिने हो।”

उनले प्रश्न गरिन्, “अहिले पुरुषले रमाइलो गर्ने र महिलाले आत्महत्या गर्ने अवस्था निम्त्याउने कानुन बन्छ भने यसको जिम्मा को लिन्छ?”

बहुविवाहको कानुन: महिला अधिकारको नाममा महिलामाथि नै अन्याय!

कानुन मन्त्री अजय कुमार चौरसियालाई उनले स्पष्ट चुनौती दिइन्, “तपाईँले बनाएको कानुन आफ्नै छोरीमा लागू गरेर देखाउनुहोस्। खुसीपूर्वक जीवन बिताइन् भने हामी स्विकार्छौँ, होइन भने महिलाको जीवन प्रयोगशाला होइन।”

विनु थप्छिन्, “तपाईँले बच्चाको अधिकार सुनिश्चित गर्न बहुविवाहलाई वैधानिक बनाउने तर्क दिनुहुन्छ। तर त्यही तर्कअनुसार त पहिलेको श्रीमती, उसका सन्तानको अधिकारबारे तपाईँ किन चुप लाग्नु भएको?”

विनुले दुखेसो पोखिन्, “यसरी कानुन पारित भयो भने पुरुषहरू घरमा दुई–तीन श्रीमती राख्नेछन्। महिलामाथि मानसिक शोषण, हिंसा, आत्महत्या हुने क्रम बढ्नेछ। यसले समाजमा उथलपुथल ल्याउनेछ।”

उनले यो कानुन पुरुषप्रधान सोचको उपज भएको बताउँदै भनिन्, “यो रमाइलो गर्ने पुरुषको सुरक्षा हो, महिलाको होइन।”

विनुले विदेश कमाउन गएका पुरुषहरूका पीडालाई पनि जोडिन्, “विदेशमा दुःख गरेर पैसा कमाउने पुरुषलाई कानुनले सुरक्षा दिनुपर्ने हो। तर यो कानुन पारित भयो भने घरमा बसेकी श्रीमतीले अर्कोलाई भित्र्याएर बस्न पाउनेछ। त्यसपछि त्यो बिदेसिएका पुरुष के गरोस्? झुन्डिएर मर्नु पर्ने हो?”

विनुको माग छ, “कानुन पीडितका लागि बनोस्। पहिलो श्रीमती, उसका सन्तान, र न्याय खोजिरहेका महिलाका लागि बनोस्। अहिलेको संशोधनले अपराधीलाई कानुनी जामा दिन खोजेको छ। हामी त्यसलाई कुनै हालतमा स्वीकार गर्दैनौँ।”

विनु यादव अहिले चौथो दिनदेखि निराहार आमरण अनशनमा बसिरहेकी छन्। ‘मलाइ लास बनाएर बहुविवाहको कानुन पारित गर्नुहोस्, जीवित महिलाले त्यो मान्दैन,’ उनले भनिन्।

समाचार शेयर गर्नुहोस्
2.2k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.